+
+

छोटा राजनलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १५:३९

७ कात्तिक, काठमाडौं। बम्बई उच्च अदालतले अन्डरवर्ल्ड डन छोटा राजनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

सन् २००१ मा भएको जया सेट्टीको हत्यामा अदालतले राजनसहित उनका साथीहरुलाई आजिवन कारावासको सजाय सुनाएको थियो ।

भारतको अनलाइन पत्रिका लाइभ लका अनुसार, बुधबार न्यायाधीश रेवती मोहिते डेरे र पृथ्वीराज चाभनको इजलासले उनको दिइएको आजीवन कारावासको सजायलाई पनि निलम्बित गरिदिएको छ ।

यद्यपि, यो आदेशपछि पनि छोटा राजन कारागारमुक्त भने हुने छैनन् । मुम्बईका अन्डरवर्ल्ड रिपोर्टर ज्योतिमर्य डे (जे डे) को हत्यामा पनि उनलाई आजीवन काराबासको सजाय अदालतले सुनाइसकेको छ ।

सन् २०११ जुन ११ मा जे डेलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले पवई क्षेत्रमा गोली हानी हत्या गरेका थिए । पछि यो मुद्दामा अर्की अपराध संवाददाता जिग्ना बोहरा पनि प्रतिवादी बनाइएकी थिइन् । यद्यपि, पछि उनले अदालतबाट सफाइ पाएकी थिइन् ।

उनलाई प्रहरीले कसरी यो मुद्दामा फसायो र त्योबीचमा उनले के के भोग्नुपर्यो भन्ने विषयमा बोहराले पुस्तक समेत लेखेकी छन् । यसबारे अनलाइन भिडियो स्ट्रीमिङ साइट नेटफिल्क्समा वेब सिरिज पनि बनेको छ ।

छोटा राजन नेपालमा भएका केही हाई–प्रोफाइल हत्यामा पनि जोडिएका छन् । भारतविरुद्ध गतिविधि गरेको आरोपमा मारिएका कतिपय व्यक्तिहरुको हत्यामा उनकै समूह प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

२०६६ माघ २६ मा काठमाडौंमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाह मारिँदा पनि छोटा राजन समूहका सदस्य भरत नेपालीले जिम्मेवारी दिएका थिए । च्यानल नेपालमा फोन गरेर उनले शाह दाउद इब्राहिमसँग नजिक भएकाले हत्या गरिएको दाबी गरेका थिए ।

पूर्वन्यान्याधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको भनिएको छ । उनी राप्रपाका पूर्वसांसाद् मिर्जा दिलसाद वेगको हत्यामा पनि जोडिन्छन् ।

पहिले छोटा राजन पनि दाउद इब्राहिमकै समूहमा रहेर काम गर्थे । तर, सन् १९९३ को श्रृंखलाबद्ध विष्फोटनपछि उनले दाउदसँग छुट्टिएर छुट्टै समूह खडा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?