+
+
ब्लग :

महिला खेलाडीलाई किन ‘चेली र लक्ष्मी ?’

प्रधानमन्त्री, नेतादेखि मिडियासम्मले महिला खेलाडीलाई चेली र लक्ष्मी पुकारेको देखियो । यो भाषामा पितृसत्ताकै गन्ध आउँछ । यसले समानताको पैरवी गर्दैन ।

लक्ष्मी क्षेत्री लक्ष्मी क्षेत्री
२०८१ कात्तिक १७ गते १६:२८

कात्तिक १४ गते बुधबार नेपालमा सम्पन्न साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई सेमिफाइनलमा हराउँदै उपाधिका लागि बंगलादेशसँग फाइनल खेल खेलेको नेपाली टीम २–१ ले पराजित भयो । सेमिफाइनल जितेदेखि फाइनलका लागि शुभकामना दिनेहहरू, विशेष गरेर पुरुषहरूले प्रयोग गरेको एउटा शब्द ‘चेली’ पछिल्लो समय बहसको बिषय जस्तै बन्न थालेको छ ।

नेपालमा हरेकपटक महिलाहरूले केही काममा सफलता हासिल गर्दैगर्दा विशेषतः पुरुष मित्रहरूले सम्बोधन गर्ने चेली शब्दले बहस निम्त्याएसँगै महिलाको सीप, क्षमता, योग्यता, योगदान र विषयप्रतिको महत्त्वभन्दा केवल सम्बोधनको आत्मीयताले कति फरक पर्दोरहेछ भन्ने केही सवाल उठान गर्न आवश्यक छ ।

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको नेपाली वृहत् शब्दकोश प्रथम संस्करण २०४० मा चेली शब्दका अर्थहरू छोरी, शिष्य, छात्रा, दिदी–बहिनी, अह्राउपह्राउ मान्ने आइमाई, फुपू वा फुपूकी छोरीलाई सम्बोधन गरिने शब्द भएको पाइयो । छोरी र छोरी समानका अरू स्त्री, छोरीचेली, दिदी–बहिनी र अरू त्यस्तै आइमाई, शिष्य र तिनै सरहका अरू नारी भनेर गरिएको सम्बोधनले विश्वमञ्चमा वा साफ खेलकुदमा राष्ट्रको पहिचानसहित राष्ट्रिय ध्वजा बोकेर उभिएको यो टीमको गरिमालाई उँचो बनाउँछ ?

नेपालमा परम्परादेखि बोलिंदै आएको ‘चेली’ सम्बन्धसूचक शब्द हो । नेपाली सामाजिक भाषामा माइतीको विपरीतार्थ शब्द दिदीबहिनी वा सोसरहका नारी नै हो । तर हाम्रो समाजमा उभिएको पितृसत्ताको जबर्जस्त आकृतिले औपचारिक कार्यक्रम, पद गरिमा सहितका व्यक्तित्व, निकायहरू सहितले गौरवसाथ चेली सम्बोधन गरिदिन्छन् विना हिचकिचाहट ।

नेपाली राष्ट्रिय टीमको रंगशालामा भएको उपस्थितिलाई पत्रिकाहरूमा “फाइनल खेल्न रंगशाला पुगे नेपाली चेली …’’, “भारतलाई पराजित गर्दै नेपाली चेली फाइनलमा … ’’, “नेपाली चेलीको उत्कृष्ट प्रदर्शन” जस्ता शीर्षकमा समाचार छापिए ।

यी मूलधारका केही सञ्चारमाध्यममा आएका समाचार प्रतिनिधिमूलक मात्रै हुन् । औपचारिक कार्यक्रममा उद्घोषणका समयमा होस् वा सामाजिक सञ्जालमा बधाइ ज्ञापन गर्दा आफ्नो क्षेत्रमा सफलता हासिल गरेका महिलाहरू सम्बन्धित पद वा जिम्मेवारीले भन्दा चेली शब्दले सम्बोधन हुने अवस्था छ ।

चेली सम्बोधन गरिएको विषय बहसमा आएपछि अब साहित्यिक कार्यक्रम, अरु कार्यक्रमहरूदेखि लिएर संसद भवनमा समेत एउटा मुद्दा वा बहसको विषय बन्न सक्छ ।

चेली आफैंमा नराम्रो शब्द होइन तर किन महिलाहरूलाई यो शब्दले आपत्ति मान्ने बनाइरहेको छ त ? सामान्य भाषामा चेलीको अर्थ छोरी, बहिनी वा महिला हो जुन आफैंमा अपमानजनक होइन तर यो शब्दको प्रयोग कहाँ र कस्तो समयमा गरिन्छ वा गरियो भन्ने सन्दर्भ महत्त्वपूर्ण हुन्छ ।

संस्थागत परिचय बोकेको समूह, टीम, संस्था आदिमा प्रतिनिधित्व गर्नेहरूलाई संस्थागत परिचयले नै सम्बोधन गरौं । नकि छोरी, चेली, लक्ष्मी, देवी !

‘चेली’ शब्द तपाईंहरूले भने जस्तो सम्मान, आत्मीयता र नम्रताको भावसहित सम्बोधन भएको सधैं नहुन सक्छ । यो शब्दले उनीहरूको व्यक्तित्वको पहिचान लुकाइरहेको छ वा उसको व्यक्तित्वको सम्मान भैइरहेको छैन अझ जुन भेदभावपूर्ण छ ।

टी २० खेलेका नेपाली क्रिकेट टीम हुन् वा साफ महिला च्याम्पियनसीप खेलेका नेपाली फुटबल टीम हुन् उनीहरू कोही माइतीका लागि खेलिरहेका व्यक्ति होइनन्, थिएनन् । न उनीहरू कसैले भनेको मान्ने आइमाई वा स्त्री जाति मात्रै थिए ।

भाषा विज्ञानका प्राध्यापक माधव पोखरेल भन्छन्, ‘आइमाई र चेली जस्ता शब्दको आन्तरिक रूपमा नकारात्मक अर्थ नहुने तर तिनको सार्वजनिक, संस्थागत रूपमा हुने प्रयोगले महिलाहरूलाई अपमान गर्न र तिनीहरू कमजोर छन् भनेर देखाउन सहयोग गर्छ । यस्तो सम्बोधन धेरै मानिसहरूले अनुपयुक्त ठान्छन् ।’

देशको राष्ट्रिय सञ्चारमाध्यमहरू, औपचारिक जिम्मेवारीमा भएका राजनीतिक दलका नेताहरू, सार्वजनिक सरोकारका क्षेत्रमा प्रवुद्ध व्यक्तित्व मानिनेहरूले नै “चेलीहरूको खेल” भन्दै शीर्षक नै राखेर समाचार बनाएको अज्ञानताभन्दा नियतवश र महिला समानता विरुद्धको भावयुक्त भएको देखिन्छ । यतिबेला प्रश्न उठ्छ के नेपाली मिडियाले पुरुष खेलाडीहरूले खेलेको खेलको हकमा चेला वा चेलो, भाइहरू वा केटाहरू भनेर शिर्षक राख्न सक्छन् ? उपयुक्त ठान्छन् ? कहिल्यै उनीहरूको पहिचानमाथि लेख्न सकेको छ त ?

यसको मतलब महिलालाई चेली भनेको आधारमा पुरुषलाई चेला/चेलो/केटो भन्नुपर्छ भन्ने प्रतिशोधजन्य विचार वा तर्क गर्न खोजेको विलकुल हुँदै होइन । यहाँ प्रष्ट ढंगले बहस उठाउन खोजिएको विषय सार्वजनिक महत्वको भूमिकामा रहेका व्यक्तिहरूले सार्वजनिक रूपमा दिने अभिव्यक्ति, सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने सन्देश वा भावना अझ सञ्चारमाध्यमहरूले विचार सम्प्रेषण गर्दा गरिने शब्दप्रयोगप्रति ध्यानाकर्षण हो ।

विचार निर्माण प्रक्रियालाई प्रभाव पार्ने काममा प्रमुख भुमिका खेल्ने हुँदा मिडियाले यस्ता शब्दहरूको प्रयोग गर्दा ध्यान दिनैपर्ने हुन्छ । आफ्ना गल्तीहरूको अनुभूति गर्दै सच्चिनु अझ श्रेयष्कर हुन्छ ।

चेली शब्दको बहसकै सिलसिलामा बबिता राई लेख्नुहुन्छ, ‘चेली शब्दले महिलाहरूलाई सधैं आफ्नो परिवार, समाजसँग जोडिनुपर्छ भन्ने हुन्छ त्यसैले यो शब्द औपचारिक कार्यक्रमहरूमा प्रयोग गरिनुहुँदैन । यसले महिलाको व्यक्तित्व त हटाउँछ । महिलालाई यो शब्दले सम्बोधन गर्न मन पर्दैन भने समाजले उनीहरूको दृष्टिकोण बुझ्न आवश्यक छ ।’

पछिल्लो समय संसद भवनमा सांसद सुमना श्रेष्ठले सबैको हैसियत समान हो, सबैजना हामी यहाँ माननीय हो नकि कोही चेली कोही माइती भनेर सशक्त ध्यानाकर्षण गर्नुभएको छ ।

संसद जस्तो सम्मानित एवम् गरिमामय ठाँउमा चेली शब्दको प्रयोग गरिनुहुँदैन भन्ने बारेमा निकै चर्चाको विषय बनेको छ । यसलाई सुधार्न सबैको पहल जरुरी हुन्छ । ‘चेली’ मात्र हैन अन्य शब्द पनि तिनको भाव बुझेर प्रयोग गर्नुपर्छ ।

भाषिक विज्ञतालाई लिएरभन्दा पनि शब्दको भावलाई लिएर कुरा गरियो भने धेरै अघि बढ्न सकिने सांसद श्रेष्ठले बताउनुभएको थियो । राष्ट्रिय खेलाडीहरूलाई मजाक बनाउने गरी सामाजिक सञ्जाल र सञ्चारमाध्यमममा समाचारहरू नै आएपछि यो बहस फेरि ब्युँझिएको छ ।

कतिपय महिला खेलाडीहरूलाई चेली शब्दको प्रयोगले उनीहरूको पहिचान उनीहरूको नामले हुनुपर्छ भन्छन् । खेलाडी सन्तोषी श्रेष्ठ भन्नुहुन्छ, ‘पहिले खेलकुदमा महिलाहरू कम थिए त्यसैले महिला खेलाडीहरूलाई चेली भनेर सम्बोधन गरियो होला तर समय परिवर्तनसँगै हामी महिला खेलाडीहरू प्रतिस्पर्धामा भाग लिइरहेका छौं, हाम्रो आफ्नै नामसहितका टीमहरू छन् । हाम्रा खेलका विधाहरू अनुसारका टीम छन्, खेलाडीकै परिचयसहित सम्बोधन गर्न कुनै समस्या हुने अवस्था छैन । अझ हाम्रो राष्ट्रको गौरव बढाइरहेका छौं । हामी हाम्रो नामले चिनिनुपर्छ र हामी यसको योग्य छौं ।’

खेलाडीहरू, सामाजिक क्षेत्रका अगुवाहरू, भाषाविद्हरु तथा सचेत वर्गबाट शब्द चयनको विषयमा यस्ता बहसहरू चल्दै गर्दा तिहारको लक्ष्मीपूजाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला खेलकुद खेलेको नेपाली टीमलाई बालुवाटारमा स्वागत गरेर खेलाडीहरूका कुरा सुन्नुभयो । त्यही सन्दर्भलाई उल्लेख गर्दै उहाँको आधिकारिक फेसबुक पेजमा लेखियो–’लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग ।’

अब चेली शब्दको अर्थ खोजेजस्तै अर्थ खोज्दा लक्ष्मी भनेपछि नेपाली शब्दकोष वा हाम्रा बोलीचाली संस्कृति सभ्यता कतै पनि खेलाडीलाई बुझिन्न । यो औपचारिक जिम्मेवारीयुक्त पेजको लेखाइले पनि नेपाली खेलाडीलाई खेलाडी नभएर लक्ष्मीको रूपमा चित्रित गर्‍यो । प्रधानमन्त्रीले औपचारिक रूपमा गरेको भेटलाई लक्ष्मीपूजाका दिनमा लक्ष्मी भन्ने, दशैंमा भए देवी वा दुर्गा भन्ने शैलीको प्रवृत्तिले हुने भाषाप्रयोगले महिलाहरू अझ खेलाडीहरूको अपमान र मजाक गरेको छ ।

समग्रमा यो बहस महिला खेलाडीको मजाक वा अपमान भएको महसुस गरेर उठाइएको भएपनि हरेक क्षेत्रमा महिलालाई उनीहरूको नामबाट सम्बोधन गरौं भन्ने सवाल उठान गर्न खोजिएको हो । संस्थागत परिचय बोकेको समूह, टीम, संस्था आदिमा प्रतिनिधित्व गर्नेहरूलाई संस्थागत परिचयले नै सम्बोधन गरौं । नकि छोरी, चेली, लक्ष्मी, देवी !

यस्ता शब्दहरूले महिलाको स्वतन्त्रता, बृहत सोचाइ र स्वतन्त्र व्यक्तित्वको हैसियत खोस्छ । हाम्रो सभ्यता, संस्कृति, इतिहास, कानुन, संविधान, पहिचान, स्वाभिमान यी सबै पक्षको कदरका लागि महिला एक्लै लागेर मात्रै हुँदैन । सबैमा समानताको भाव हुनुपर्छ ।

क्षेत्री सेन्ट्रल चाइना नर्मल युनिभर्सिटी वुहानमा अध्ययनरत छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?