१७ कात्तिक, काठमाडौं । कोडी गाक्पो र मोहमद सालाहले दोस्रो हाफमा गोल गरेपछि ब्राइटन विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै लिभरपुलल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
सालाहले ७२औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुलको जित पक्का गरेका थिए ।
त्यसअघि खेलको १४औं मिनेटमै फर्डी काडिओग्लुको गोलमा ब्राइटनले अग्रता लिएको थियो ।
तर गाक्पोले ६९औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि नै सालाहलको गोलमा लिभरपुलले २-१ को अग्रता बनायो । त्यसपछि खेलमा कुनै गोल नहुँदा लिभरपुलले ३ अंक जोड्यो ।
अर्को खेलमा म्यानचेष्टर सिटी बर्नमाउथसँग पराजित भएपछि लिभरपुल त्यसको फाइदा उठाउन सफल भयो । १० खेलबाट २५ अंक जोडेर लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । सिटी समान खेलबाट २३ अंकसहित दोस्रोमा छ ।
१० खेलबाट १६ अंक रहेको ब्राइटन सातौं स्थानमा छ ।
लिगकै अन्य खेलमा आर्सनल न्युकासल युनाइटेडसँग १-० ले पराजित भयो । न्युकासलका लागि अलेक्जान्डर आइज्याकले निर्णायक गोल गरे । जितपछि १० खेलबा६ १५ अंक जोडेर न्युकासल नवौँ स्थानमा उक्लेको छ । समान खेलबाट १८ अंक रहेको आर्सनल चौथो स्थानमा झरेको छ । अर्को खेलमा वेष्टहम युनाइटेडलाई ३-० ले हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा उक्लेको छ । फरेस्टले १० खेलबाट १९ अंक जोडेको छ ।
यस्तै साउथह्याम्पटनले एभरटनलाई १-० ले हराउँदा लेस्टर सिटी र इप्स्विच टाउनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया 4