
२६ कात्तिक, गोरखा । गाला चाउरी परिसके । दुवै आँखाको दृष्टि गुमिसक्यो । खुट्टाले खासै धर पाउँदैनन् । ७९ वर्ष पार गरिसकेका गोरखा घ्याम्पेसालका लालबहादुर गन्धर्वको सारङ्गी मोह भने अझै उस्तै छ ।
९ वर्षको कलिलै उमेरदेखि सारङ्गी थामेका उनका हातहरु अझै थाकेका छैनन् । दिनको एक पटक सारङ्गी रेट्दै गुनगुनाउन नपाए उनको मन मान्दैन । सारङ्गीसँग उनको छुट्टै लगाव छ । नहोस् पनि किन ? त्यही सारङ्गी रेटेर उनले १० छोराछोरी हुर्काए ।
बाबुबाजेको पेशालाई उनले आफूबाट अलग राख्न सकेनन् । सारङ्गी बजाउन सिकाउने गुरु उनकै बुवा हुन् । गोरखामा उनी सारङ्गी बजाउँदै नपुगेको ठाउँ बिरलै होला । ‘सुरुमा बुवासँगै बजाउँदै हिड्थें’, लालबहादुर भन्छन्, ‘पछि एक्लै हिँड्न थालें ।’
रेडियो नेपालमा जागिर
सारङ्गी बजाउने कलाले उनलाई रेडियो नेपालमा जोडिने अवसर दिलायो । २०२२ सालमा रेडियो नेपालमा जागिरे भए । ‘त्यो बेला गन्धर्वहरुलाई राजा महेन्द्रले बोलाउनुभएको छ भन्दै घरमै पुलिस लिन आए’, उनी सम्झन्छन्, ‘राजाले किन बोलायो भन्दै अरु डराएर गएनन्, गोरखाबाट हामी पाँच जना मात्र गयौं ।’
अन्य जिल्लाबाट पनि गन्धर्व भेला गराएर भएको छनोटमा आफू परेको उनले बताए । लालबहादुरले भने, ‘करिब ३० जना थियौं हामी, तीन महिना तालिम पनि दियो । छनोटमा झलकमान गन्धर्व र म मात्र पर्यौं ।’
भूमिसुधार खुलाई पाम झट्ट ।
कोल्टे पाथी बेचेर चौपट्ट ।।
हजारमुरी धान हुने एउटा घोडा चढ्ने ।
गरिबले जग्गा मागे शरीर शरण पर्ने ।।
काठमाडौंलाई पचास रोपनी, पहाडलाई असी ।
गरिब जनता खुशी हुन्थे जमिन बाँडेपछि ।।
साहुले धन आसामी लाउँदैन ।
आफूखुशी ब्याज लाउन पाउँदैन ।।
घरबारीको छेउ, याक चुरोट तिमी खाऊ, गैंडा मलाई देऊ ।।
राजा महेन्द्रको अगाडि उनले भूमिसुधारको पक्षमा यही गीत गाएपछि रेडियो नेपालमा जागिर पाएका थिए । त्यतिवेला उनको तलब तीन सय रूपैयाँ थियो ।
पाँच वर्षसम्म रेडियो नेपालमा जागिर खाएपछि उनी नेपाली सेनामा जोडिए । दुई वर्षपछि सेनाको जागिर पनि छाडेर उनी आफ्नो जन्मथलो गोरखा फर्किए । ‘सुबेदार सापले सामाखुशीमा एक रोपनी जग्गा दिन्छु जागिर नछोड भन्नुभएको थियो तर मलाई मन लागेन । आफ्नै जन्मथलो फर्किन मन लागेर गोरखा आएँ’, उनले सुनाए ।
गोरखा फर्केर लालबहादुरले पुनः पुर्ख्यौली पेशालाई निरन्तरता दिए । पुर्ख्यौली थलो गोरखा बजार नजिकैको सतिपिपल भएपनि बुवाको पालादेखि हाल भीमसेनथापा गाउँपालिकामा पर्ने घ्याम्पेसाल बस्न थालेको उनी बताउँछन् । ‘त्यो बेला गाडी चल्दैनथ्यो, सारङ्गी बजाएर जम्मा भएको मकै, कोदो र धान बजार ल्याउन समस्या भयो भनेर बजारको जग्गा बेचेर बुवाहरु घ्याम्पेसाल आएर बस्नुभयो’, लालबहादुरले सतिपिपलबाट घ्याम्पेसाल सर्नुको कारणबारे भने ।
रेडियो नेपालमा हुँदा उनले नौ वटा गीत रेकर्ड गराएका थिए । ९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गाएका थिए । यही गीतहरुबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए ।
२०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारङ्गी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।
तर अहिले बुढ्यौलीपनले छोएसँगै उनलाई स्वरले पनि साथ दिन छाडेको छ । आँखाको दृष्टि गुमेका कारण हिँडडुल गर्न उनलाई सहारा चाहिन्छ । तर उनले बजाउने सारङ्गीको सूर–तालमा भने कुनै कमी छैन । आफू मरेपछि यो पेशा कसले धान्छ भन्ने चिन्ता पनि उनलाई छ । आफूहरु मणिराम गाइनेको नाती पुस्ता रहेको उनी बताउँछन् ।
उनका नौ छोराहरुमध्ये तीन जनाले बुवाकै पेशा अंगालेका छन् । बाँकी अन्य रोजगारीमा संलग्न छन् ।
छोरामध्येका एक ठाकुर गन्धर्व सारङ्गी बजाउन जानेपनि पुर्ख्यौली पेशालाई अंगाल्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘आफ्नै समुदायमा बसेको भए यही पेशातिर लागिन्थ्यो होला, तर यता आएपछि खासै मन गएन ।’
पछिल्लो समय गन्धर्वका पुराना गीतहरु गाउने मान्छे भेट्न मुस्किल रहेको उनी बताउँछन् । आफ्ना बुवा लालबहादुरसँग रहेको ज्ञान र सीप गन्धर्व इतिहासको एक दस्तावेज बन्न सक्ने उनी बताउँछन् ।
प्रतिक्रिया 4