२६ कात्तिक, काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी) बागबजारमा ‘नेपाल–भारत फ्रेन्डसिप समिट’ भएको छ ।
विश्वव्यापीकरण र सामाजिक–आर्थिक विकास सम्बन्धमा समिट भएको हो । समिटमा सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले केएमसीले उत्कृष्ट कार्यक्रम आयोजना गरेको भन्दै नेपाल र भारतलाई इतिहास र संस्कृतिले एक बनाएको बताए ।
समिटमा प्राज्ञिक व्यक्तित्वहरूले पनि नेपाल–भारत सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । समिटमा पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्राडा बिजुकुमार थपलियाले नेपाल सहित संसारभरि भइरहेको विश्वव्यापीकरण, सामाजिक–आर्थिक विकास अवस्था, चुनौतीबारे मन्तव्य राखेका थिए ।
त्रिभुवन विश्वविद्यालयका अनसुन्धान प्रमुख प्राडा ईश्वर कोइराला, व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र मायादेवी विश्वविद्यालय देहारदुनका उपकूलपति डा. अनिश सेमवालले समिटमा पछिल्लो समयको विश्वव्यापीकरण र यसको प्रभावबारे बताए ।
यस्तै समिटमा आईएसईएफआईका उपकूलपति डा. विजय सिंहले नेपालको प्राज्ञिक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए ।
उनले भारत पछिल्लो समय अर्थतन्त्र र शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको भन्दै नेपालसँग पनि हातेमालो गर्न तयार रहेको बताए ।
समिटमा नेपाल र भारतका १५ भन्दा बढी प्राज्ञिक व्यक्तित्वलाई अवार्ड वितरण गरिएको थियो । यस्तै समिटमा नेपाल खुला विश्वविद्यालयका उपकूलपति शिलु मानन्धर बज्राचार्यले नेपालको विश्वव्यापीकरण, सामाजिक अवस्था र आर्थिक विकासबारे बोलिन् ।
केएमसी कलेजका विद्यार्थीले मानविकी, व्यापार तथा वाणिज्य, वातावरण तथा दिगोपना र प्रविधि तथा व्यवस्थापन गरी चार विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । ती सत्रको विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूले टिप्पणी गरेका थिए ।
कार्यक्रम अध्यक्षता ग्लोबल लिर्डस फाउन्डेसन अध्यक्ष रमेश त्रिपाठीले गरेका थिए । यस्तै कार्यक्रममा सहअध्यक्ष तथा ग्लोबल लिर्डस फाउन्डेसन–नेपाल च्याप्टर अध्यक्ष तथा केएमसीका प्रिन्सिपल सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समटिमा विभिन्न विश्वविद्यालयका उपकूलपति, डिन, प्राध्यापक सहित ५० भन्दा बढी प्राज्ञिक व्यक्तित्व, केएमसीका विद्यार्थी सहभागी थिए ।
समिटमा केएमसी सहित ग्लोबल लिडर्स फाउन्डेसन, रिटन्र्ड युनाइटेड नेसन्स भोलेन्टिएर एसोसिएसन अफ नेपाल, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी आयोजक थिए ।
तस्वीरहरू : आर्यन धिमाल
प्रतिक्रिया 4