हिमाली भेग विशेषतः पदमार्गका रूपमा चर्चा कमाएका क्षेत्र बारे अहिले सामाजिक सञ्जालमा जे देखिन्छ, ती सब आंशिक सत्य हुन् । हरिया बाटा र गोरेटाहरू, सेताम्मे हिमाल अनि टाढा–टाढासम्मका रमणीय दृश्य ? यी दृश्यहरू छन् । तर, यी मात्रै अहिलेका हिमाली पदमार्ग क्षेत्रका देखिने दृश्य होइनन् ।
अहिले त हिमाली पदमार्गमा ती सबै छन्, जो त्यहाँ नहुनुपथ्र्यो । ज्यानको बाजी लगाएर हिमाली भेगका पदमार्ग पुग्दा हर्षाशु झर्नुको साटो, मन कटक्क खान्छ । नाक र आँखा बन्द गर्दै भन्न मन लाग्छ– उफ् कति फोहोर हो !
घुम्न मनमोहक दृश्य हेर्न जाने पदयात्रीले नै नकुहिने र प्लास्टिक, सिसा, धातु (एनर्जी ड्रिंक) जस्ता सामान जहाँ खायो त्यहीं फाल्ने गर्छन् ।
पर्यटकको फोहोरी बानीले धेरै हिमाली क्षेत्रका पदमार्ग, आधारशिविर अहिले फोहोरको चपेटामा पर्दैछन् । प्रकृतिसँग रमाउन र त्यहाँका मनमोहक दृश्य हेर्न होइन, टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा पोस्ट गर्न जानेहरूलाई के थाहा ? सुन्दर ठाउँको सुन्दरताको पनि सम्मान गर्नुपर्छ भन्ने !
उनीहरूले फालेको प्लास्टिकजन्य वस्तुले वातावरणमा कति दीर्घकालीन असर पार्छ भन्ने कोही कसैलाई वास्तै छैन । वास्ता देखिन्छ त केवल सामाजिक सञ्जालमा पोस्ट गर्ने आकर्षक फोटो, फुटेज अनि लाइक, कमेन्ट ।
जाँदा ७०/८० ग्रामको चाउचाउ बोकेर खान सक्नेले फर्किंदा १/२ ग्रामको प्लास्टिक बोकेर फर्कन नसक्ने ? एनर्जी चाहिन्छ भनेर विभिन्न ब्रान्डेड र महँगा चकलेट लगेर जान सक्ने तर, त्यसैको खोल गोजीमा राखेर फर्किन नसक्ने ? प्रकृतिमाथि यो कहाँको न्याय हो ?
हिमाली क्षेत्र र पदमार्गहरू फोहोर भए, बिग्रिए भन्ने विषयमा सम्बन्धित सरकार, स्थानीय तह र संघ–संस्थासँग सुधार्न न कुनै चासो छ न त योजना नै । यसमा उनीहरूले सोचेर मात्रै पनि सम्भव छैन । जबसम्म व्यक्ति आफैं अनुशासित हुँदैनन्, तबसम्म सरोकारवाला निकायले जति नै बलवान नीति ल्याए पनि फरक पर्नेवाला छैन ।
पदयात्री आफैंले लगेका प्लास्टिक, सिसाजन्य, नकुहिने चिज आफैं बोकेर फर्किनुपर्छ भन्ने चेतना नहुँदासम्म हाम्रा हिमाली पदमार्ग, आधारशिविर सफा हुने र सफा रहने छैनन् । म आफैं पनि प्रकृतिप्रेमी र यात्रा गरिरहन रुचाउने भएरै पहिलेदेखि धेरै ठाउँ पुगेको छु । केही समय अगाडिसम्म ती क्षेत्र यति फोहोर भइसकेका थिएनन्, त्यतिबेला सामाजिक सञ्जालले यस्तो व्यापक रूप पनि लिइसकेको थिएन । मान्छेहरू घुम्न जान्थे, देखाउन जाँदैनथे ।
म पनि देशका थुप्रै ठाउँ घुमेको छु । त्यसको आधारमा भन्न सक्छु, ‘जो व्यक्ति जुन ठाउँ अवलोकन गर्न गएको छ र त्यस ठाउँको प्राकृतिक सुन्दरतामा रमाउन चाहन्छ र त्यसको महत्व बुझेको हुन्छ त्यस व्यक्तिले कहिल्यै पनि आफू हिंडेको ठाउँमा फोहोर गर्र्दैन ।’
पर्वतीय पदयात्रा गर्ने क्रममा म लगायत अरू चार जना साथी दीपक पौडेल, सुदीप ओझा, रवि खत्री र प्रितम सेन तिहार लगत्तै नर्थ अन्नपूर्ण बेसक्याम्प जाने सोच बनायौं । जुन अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ्ग, म्याग्दीमा पर्ने आधारशिविर हो ।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको मुख्य आधारशिविरबाट हिमाल आरोहण गर्ने क्षेत्र ४५८२ मिटर, आधारशिविर ४१९० मिटर तथा पञ्चकुण्ड ताल ४०५० मिटर सहित पदमार्गमा रहेको फुतफुते झरना मिश्री खोलाको किनारैकिनार निर्माण गरिएको पदमार्गका यात्रामा मनोरम प्राकृतिक सुन्दरताको अवलोकनका साथै हिमनदी र झरनाले सबैलाई आकर्षित गर्छ ।
नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै दुई दिनमा सहजै अन्नपूर्ण आधारशिविरसम्म पुग्न सकिन्छ ।
यो पदमार्गमा पनि धेरै आन्तरिक र बाह्य पर्यटकलाई फोहोर व्यवस्थापनमै समस्या भएको पायौं । पदयात्री आफैं अनुशासित नभएको खण्डमा सुरुमै सम्झाइ–बुझाइ गर्न प्रवेश ठाउँमै सूचना डेस्क खडा गरेर पदयात्रीलाई सुसूचित गर्न जरूरी देख्यौं ।
ठाउँठाउँमा कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था हुनुपर्छ । पदयात्रीलाई संयमित र अनुशासित बनाउन झोलामा आफूले बोकेर गएका कुहिने र नकुहिने वस्तु टिपाएर जानुपर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
उनीहरूले फर्किंदा बोकेको झोलामा नकुहिने फोहोरजन्य वस्तुहरू (जस्तैः चाउचाउ, चकलेट, एनर्जी ड्रिंक) छन् कि छैनन्, त्यो पनि जाँच गरिनुपर्छ । उनीहरूले आफूसँगै लगेको फोहोर फर्किंदा नल्याएमा कारबाही, जरिवाना गर्ने व्यवस्था पनि गरिनुपर्छ । यसले पर्वतीय पदमार्गलाई जीवन्त बनाइराख्न मद्दत गर्छ भन्ने लाग्छ ।
सम्बन्धित निकायलाई सानो आग्रह छः
– सडक मार्ग हँुदै जाने बेलामा सवारी साधनको आआफ्नो महँगो भाडादर भएको निश्चित भाडादर कायम होस् ।
– ठाउँठाउँमा स्पष्ट सूचना बोर्ड र बाटो, लाग्ने समयबारे नक्सा बोर्डको व्यवस्था ।
– ठाउँठाउँमा फोहोर फाल्न डस्टबिनहरू ।
– सूचना डेस्क, पर्यटक प्रवेश डेस्कको व्यवस्था ।
नेपालीमा पछिल्लो ५/७ वर्षबाट अलि बढी पदमार्ग हिमाली क्षेत्रहरूको यात्रा गर्ने चलन आयो जुन सोसियल मिडियाकै कारण हो जस्तो लाग्छ । स्वाभाविक हो, धेरै चहलपहल हुने ठाउँमा फोहोर जम्मा हुन्छन् । तर, ती फोहोर पनि हामीले चाह्यौं भने कम गर्न सक्छौं ।
हिमाली क्षेत्रमा समथर ठाउँमा जस्तो फोहोर व्यवस्थापन गर्न चुनौती हुन्छ, यो हामीले बुझ्नुपर्छ । पदयात्री आफैं जिम्मेवारी नहुने हो भने, प्रकृतिमाथि गम्भीर खेलवाड हुने देखिन्छ ।
पदयात्रामा जाने भनेकै प्रकृतिसँग नजिक हुन जाने हो । त्यसकारण पनि त्यस्ता ठाउँमा जाँदा प्रकृतिकै नियममा जानुपर्छ, प्रकृतिको प्राकृतिक स्वरूपै रमाउन सक्नुपर्छ । हामीले प्रकृतिलाई माया गरे न प्रकृतिले पनि हामीलाई माया गर्ने हो !
धेरै पदयात्रा गर्ने क्रममा विदेशी धेरै जाने पदमार्गहरू पुगेको छु । विदेशीहरू लामो रुटको पदयात्रा मन पराउँछन् भने नेपाली छोटो दूरीको पदयात्रा । नेपाली पदयात्री र विदेशी पदयात्रीमा स्वभावका हिसाबले पनि धेरै फरक देखिन्छ । विदेशीहरू प्रकृतिको विषयमा संवेदनशील हुन्छन् ।
धेरै दिन लागेर सकिने क्षेत्र जस्तै गोरिला ट्रेक, अपर डोल्पा, मनास्लु, थोरोङला, शे–फोक्सुण्डो, लार्के पास जस्ता क्षेत्र यात्रा गर्दा मैले त्यस्तो फोहोरको समस्या देखिनँ । तर, अहिले धेरै चलेका छोटा ट्रेक मर्दी, क्हपुचे, खुमै, नर्थ एबीसी, पञ्चासे जस्ता क्षेत्र पुग्दा ननिको दृश्य देख्नुप¥यो ।
हिंडाइपछि लामो सास फेरेर थकाइ मार्नुभन्दा अगाडि नै भुइँँमा फालिएका चाउचाउ, चकलेट, पानीका बोत्तल आँखामा पुग्यो । हामी यति सुन्दर दृश्यले भरिभराउ क्षेत्रका मानिस व्यवहारमा किन यति फोहोरी ? विदेशी पर्यटकको नजरमा हामी कस्तो छाप छोड्दै छौं ? देखेका फोहोर टिपेर पोको पार्न मन लाग्छ तर आफ्नै गन्तव्यको नै टुंगो हुँदैन । के गर्नु ?
प्रकृतिसँग घुम्न, रम्न जाने अनि प्रकृतिलाई नै फोहोर गरेर आउने ! यहाँ फोहोरको मात्र कुरा होइन, ‘डिजेवाला बाबु’ गीत स्पिकरमा ठूलो भोलुममा लगाएर जाने व्यक्ति के त्यहाँ घुम्न रमाउन गएको हो त ? प्रकृतिसँग आफ्नै संगीत छ । सुसाइरहेका खोलानाला, चराचुरुंगीका गीत पो सुन्ने हो !
पछिल्लो समय एक्यापले आफ्नो क्षेत्रलाई नो स्पिकर जोन घोषणा गरेको छ । यो निर्णय एकदमै स्वागतयोग्य छ । शान्त ठाउँमा चर्को होहल्लाले वातावरण त बिथोलिन्छ नै सँगै हिंडेका अन्य पदयात्रीलाई समेत असहज बनाउँछ ।
पर्वतीय पदमार्ग, आधारशिविर, हिमाल, खोला, तालतलैया जहाँ जसरी हुन्छ, त्यसरी नै रमाउन जान्नुपर्छ । अब हरेक पदयात्री जिम्मेवार पदयात्री भएर आफू पनि अभूतपूर्व आनन्द लिने र सँगसँगै वातावरण पनि जोगाउने कि ?
प्रतिक्रिया 4