वर्तमान समयमा मानिसहरू डिजिटल लतमा फसेका छन् । स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँस्सिइरहने बानीमा मानिसमा विभिन्न समस्याहरु पनि निम्त्याइरहेको छ । यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ । दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ ।
९० मिनेटसम्म आफैंसँग समय बिताउने
उक्त प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले ९० मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिंडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन् । उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ ।
स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनोट गरिन्छ । मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै विजेता बन्दछ । सो प्रतियोगिताको उद्देश्य मानिसहरुलाई तनावमुक्त बनाउनु तथा डिजिटल दुनियाँबाट केही राहत दिनु हो ।
आजको भागदौडपूर्ण जीवनमा मानिसहरुले मोबाइल फोनबाट कत्तिपनि छुटकारा पाउन सकिरहेका छैनन् । यस्तो अवस्थामा मानिसहरूलाई ध्यान तथा शान्तिको शक्ति सिकाउने प्रयास यो प्रतियोगिताले गर्नेछ । उक्त अनौठो प्रतियोगिताका तस्वीर तथा भिडियोहरु सोसल मिडियामा निकै भाइरल बनिरहेका छन् ।
कोरियामा यस्तो प्रतियोगिता किन आवश्यक ?
दक्षिण कोरिया आफ्ना कठोर कार्य संस्कृतिका लागि विश्वमै परिचित छ, जहाँ विकशित देशहरुमध्येमा सबैभन्दा लामो कार्यघण्टा रहेको छ ।
सन् २०२३ मा सरकारले साप्ताहिक कार्य समयको सीमा बढाएर ६९ घण्टा पूराउने प्रस्ताव राखेको थियो, जसको तिव्र विरोध भयो र अन्ततः सरकार पछि हट्नु परेको थियो ।
यस्तो अवस्थामा स्थानीय कालाकार ऊ सूपले जीवनलाई फरक दृष्टिबाट हेर्नका लागि उक्त कार्यक्रमको आवश्यकता महसुस गरे । सन् २०१४ मा उक्त प्रतियोगिताको सुरुवात भएको हो । त्यसयता हरेक वर्ष व्यापक स्तरमा सो कार्यक्रम आयोजना हुन्छ ।
कोरियाको सरकारी सर्भे अनुसार त्यहाँका १९ देखि ३४ वर्ष उमेरका एक तिहाई युवाहरुले आफ्नो कार्यस्थलमा शारीरिक, मानसिक तथा संवेगात्मक थकान अर्थात् बर्नआउटको महसुस गर्ने गरेका छन् । त्यस्तो अनुभूतिको कारणमा चिन्ता, कामको अत्यधिक दबाब, कामप्रतिको निरासा तथा काम र व्यक्तिगत जीवन बीचको असन्तुलन लगायतका रहेका छन् ।
प्रतिक्रिया 4