+
+

शिक्षामा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते ११:५१

१४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सरकारी र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्छ’ प्रचण्डले भनेका छन्, ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ ।’

दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुने उनले बताए ।

निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गरे पनि यो शहरी क्षेत्र र सम्पन्न वर्गको लागि मात्र पहुँचमा रहेको उल्लेख गर्दै उनले थपे, ‘निजी विद्यालयहरूमा महँगो शुल्क तिर्नुपर्ने बाध्यताका कारण विपन्न वर्गका वर्गका विद्यार्थीहरू त्यसबाट वञ्चित छन् ।’

निजी विद्यालयहरूले समेत आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीका लागि छात्रवृति कार्यक्रम सञ्चालन गर्नुपर्ने पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रह छ ।

बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले नेपालको शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य बनाएको उनले बताए ।

‘बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ’ प्रचण्डले भने ।

आफू नेतृत्वको सरकारले शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गरेको  भन्दै प्रचण्डले मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयमा नियुक्त भएका पदाधिकारीहरुको मानमर्दन गर्ने काम भइरहेको बताए  । यी घटनाक्रमलाई गम्भीरतापूर्वक हेरिरहेको उनले बताए ।

‘म यही मञ्चबाट भन्न चाहन्छु–देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन, उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?