+
+

‘चिनियाँ ठेकेदार स्थानीय एजेन्टको चंगुलमा फसिरहेका छन्’

चिनियाँ निर्माण कम्पनीहरू कोही न कोही एजेन्ट मार्फत नेपाल आउँछन् । आफ्नो कमिसन पकाउने एक मात्र स्वार्थ भएका ती एजेन्टले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा समस्या भइरहेको छ । चिनियाँ ठेकेदारहरू जानी–नजानी यो चंगुलमा फसिरहेका छन् ।

कमल पाण्डे, सार्वजनिक खरीद विज्ञ कमल पाण्डे, सार्वजनिक खरीद विज्ञ
२०८१ मंसिर १४ गते १७:५०

चिनियाँ निर्माण कम्पनी नेपालमा सिधै आउँदैनन् । उनीहरू नेपालमा कोही न कोही एजेन्ट मार्फत आउँछन् । उनीहरूलाई नेपालको खरीद कानुन र नियमबारे राम्रो जानकारी हुँदैन । सोही कारण उनीहरू एजेन्टमा बढी भर पर्छन् । जस्तो कि टेन्डर कम मूल्यमा हाल्दा पर्छ भन्ने उनीहरूलाई थाहा छ, तर त्यसको जोखिम के छ भन्ने उनीहरूले विश्लेषण गरेको देखिंदैन ।

सुरु–सुरुमा डलरको लोभले पनि चिनियाँ कम्पनीहरूले नेपालमा कम मूल्यमा बोलपत्र हालेर ठेक्का लिन्छन् भनिन्थ्यो । आज त त्यो अवस्था पनि छैन । त्यसकारण एजेन्टले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न नसक्दा समस्या भइरहेको देखिन्छ । यसमा एजेन्टको एक मात्र स्वार्थ हुन्छ, आफ्नो कमिसन पकाउने । त्यसकारण चिनियाँ ठेकेदारहरू जानी–नजानी यो चंगुलमा फसिरहेको देखिन्छ ।

अर्कोतर्फ नेपालमा खरीद कानुन र प्रणाली परम्परागत खालको छ । संसारभर खरीद र निर्माण प्रणालीहरू धेरै ‘एड्भान्स’ भइसके । हाम्रोमा पुरानै शैलीको प्रणाली छ । त्यसकारण नेपालमा जुन रफ्तारमा काम हुन्छ, त्यस रफ्तारमा बिल बन्न र पास हुन समय लाग्छ । यसको मारमा चिनियाँ ठेकेदार पनि परिरहेको देखिन्छ ।

उदाहरणका लागि सडक निर्माणका क्रममा दुई हजार भन्दा बढी मेजरमेन्टहरू हेरेर बिल बनाउनुपर्ने हुन्छ । काम सकिएको एक महिनासम्म पनि बिल नबन्ने र भुक्तानी नपाउने समस्याले उनीहरू समस्यामा परेको देखिन्छ । अन्य मुलुकमा भने जति प्रतिशत काम सम्पन्न भयो, त्यति नै भुक्तानी पाउने गरी विकसित खरीद मोडलमा काम हुने गरेको छ ।

कतिपय चिनियाँ निर्माण कम्पनीहरूले जब ठेक्काको एड्भान्स पाउँछन्, त्यो सुरुमै चीन लैजान्छन् । काम सकिएसँगै तत्काल बिल बनेर नयाँ भुक्तानी नपाउने अवस्थामा उनीहरूलाई ‘क्यासफ्लो’को समस्या हुन्छ । त्यसपछि उसले आफूले तिर्नुपर्ने भुक्तानी दिन सक्दैन । स्थानीय स्तरमा असहयोग हुन्छ र अन्ततः समग्र आयोजना नै समस्यामा पर्ने अवस्था आउँछ । यो पनि चिनियाँ कम्पनीहरूमा देखिएको समस्या हो ।

हामीले गरेको डिजाइनले जोखिमको अभिभारा आफैंले लिएर काम लगाइरहेका छौं । यो ठेकेदारमा सार्न सकियो भने धेरै हदसम्म समस्या समाधान हुन्छ ।

खासगरी आधुनिक खरीद प्रणालीमा निर्माण कम्पनी आफैंले डिजाइन गरेर आयोजना अगाडि बढाउँछन् । यसो हुँदा काम समयमा नगर्दा हुने जोखिम निर्माण कम्पनीकै जिम्मेवारीमा रहने हुँदा कामले गति लिन्छ । हाम्रो परिपाटीमा डिजाइन आफूले बनाएर निर्माण कम्पनीलाई कामको मात्र जिम्मेवारी दिन्छौं । यसको मतलब हामीले आफ्नो जोखिम आफ्नै थाप्लोमा उठाइरहेका छौं ।

त्यसकारण आयोजना अगाडि बढिसकेपछि डिजाइन परिवर्तन गर्नेदेखि अनेक काम यहाँ हुन्छन् । यसले निर्माण कम्पनीलाई अप्ठ्यारोमा पार्छ नै उसलाई काममा ढिलासुस्ती गर्ने बहाना मिल्छ । विगतमा पनि ठेक्का लगाइसकेपछि डिजाइन परिवर्तन भएका धेरै उदाहरण छन् । अहिले बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा पनि डिजाइन परिवर्तनको विषय छ ।

यसको मतलब हामीले गरेको डिजाइनले जोखिमको अभिभारा आफैंले लिएर काम लगाइरहेका छौं । यो ठेकेदारमा सार्न सकियो भने धेरै हदसम्म समस्या समाधान हुन्छ । खरीद प्रक्रियामा रहेका त्रुटि–कमजोरीका कारण काम हुन नसक्ने अवस्था चिनियाँ निर्माण कम्पनीमा मात्रै सीमित हुँदैन, यो सबैले भोग्नुपर्ने समस्या भएका कारण यसमा सुधार गर्नुपर्ने हुन्छ ।

(सार्वजनिक खरीद विज्ञ पाण्डेसँग अनलाइनखबरका लागि अच्युत पुरीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?