+
+

दुर्गा प्रसाईंको समूहले राष्ट्र बैंकका उच्च अधिकारीलाई पनि धम्क्याएको भेटियो

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतका अनुसार, राष्ट्र बैंकका उच्च अधिकारीलाई पटकपटक फोन गर्दा सुरुमा उठेको थिएन । त्यसपछि सहयोगीहरुलाई समेत फोन गरेर धम्की दिइएको भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १९:२९

१४ मंसिर, काठमाडौं । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याएर दुर्गा प्रसाईंका लागि चन्दा माग्ने गिरोहले नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई समेत पटकपटक फोन गरेको फेला परेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अनुसन्धान अधिकृतका अनुसार, राष्ट्र बैंकका उच्च अधिकारीलाई पटकपटक फोन गर्दा सुरुमा उठेको थिएन । त्यसपछि सहयोगीहरुलाई समेत फोन गरेर धम्की दिइएको भेटिएको छ ।

‘पछि ती अधिकारीसँग समेत कुराकानी गरेको देखिएको छ, उहाँहरूबाट समेत सूचना लिएर अनुसन्धान गरिरहेका छौं’, सीआईबीका एक अधिकृतले भने । फोनमा राष्ट्र बैंकका अधिकारीहरूलाई प्रसाईंलाई सहयोग गर्न र कतिपयको ऋण मिनाहा गरिदिन दबाब दिइने गरेको अधिकृतहरुको भनाइ छ ।

स्रोतका अनुसार, यसरी ती अधिकारीलाई दुई भारतीय नम्बरबाट फोन आउने गरेको थियो । त्यसरी फोन गर्ने झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले हालै भारतको आसामबाट पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरेर ल्याएपछि प्रधानले प्रारम्भिक सोधपुछमा प्रसाईंको निर्देशन अनुसार, बैंकका कर्मचारी, व्यवसायी लगायतलाई फोन गरेको बताएका छन् । फुयाँलले प्रसाईंको संलग्नता खुलाएसँगै सीआईबीले उनीमाथि मुलुकी अपराध संहिता अन्तरगतको आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालेको छ ।

जिल्ला अदालत, काठमाडौंले फुयाँललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

फुयाँलले भारतीय सिमकार्डबाट नेपालमा विभिन्न व्यवसायी र पेशाकर्मीलाई ११३ पटक फोन गरेको प्रारम्भिक जाँचमा देखिएको छ भने उनको प्रसाईंसँग सम्पर्क र ह्वाट्स एपमार्फत कुराकानी भएको विवरण पनि प्रहरीले फेला पारिसकेको छ ।

‘व्यवसायीलाई धम्की दिएका फुयाँलसँग जोडिने पर्याप्त आधारहरु फेला पारेरै प्रसाईंविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालेका हौं’, सीआईबीका ती अधिकृतले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।

हाल प्रसाईं सर्वोच्च अदालतको आदेशपछि ललितपुरस्थित हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?