+
+

पीएचडी नसकिंदै डिल्लीरामले लेखे डाक्टर, बने सह-परीक्षा नियन्त्रक

प्रसाईं भन्छन् : भाइबा सकिएपछि साथीहरूले बधाइ दिएर अब  डा. लेख्नुहोस् भन्नुभयो, त्यसपछि लेखेको हुँ

‘उहाँ (प्रसाईं)ले अहिले पीएचडीको परीक्षा मात्र दिएको हो । उत्तीर्ण हुन बाँकी नै छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार अवार्ड नभई डा. लेख्न मिल्दैन । यो छानबिन हुनुपर्छ,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८१ मंसिर २१ गते १९:१३

२१ मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको खुलेको छ ।

सहप्राध्यापक प्रसाईंले बुधबार सह-परीक्षा नियन्त्रकमा नियुक्ति लिएका थिए । उनले आफ्नो पीएचडी पूरा नहुँदै नाममा डाक्टर थपेर सो पदका लागि उनले आवेदन दिएको खुलेको हो । आवेदन दिएको छैटौं नम्बरमा उनको नाम छ, त्यसमा डा. उल्लेख छ ।

योग्यता (मेरिट)का आधारमा सह-परीक्षा नियन्त्रक पदमा नियुक्ति गर्न गठित छनोट तथा सिफारिस समितिले निकालेको ५ जनाको ‘सर्ट लिस्ट’को पहिलो नम्बरमा प्रसाईंको नाम छ । समितिले अध्ययन अनुसन्धान गरेर निकालेको सर्ट लिस्टमा पनि उनको नामको अगाडि डा. नै लेखिएको छ ।

जबकि उनी हाल मानविकी संकायबाट पीएचडी गरिरहेको खुलेको छ । भाइबा सकिए पनि उनले थेसिस बुझाएका छैनन् । भाइबा बुझाउँदैमा डा. उपाधि पाउने व्यवस्था छैन ।

मानविकी संकायको रिसर्च कमिटीका एक सदस्यका अनुसार उनको थेसिसमा त्रुटि देखिएपछि सच्याउन ६ महिनाको समय दिइएको छ । ‘उहाँको थेसिस राम्रो भएन । सच्याउन समय दिइएको छ,’ ती सदस्यले भने, ‘भाइबा मात्र दिंदा त अनुत्तीर्ण पनि हुन सक्छ ।’

मानविकी संकायको रिसर्च डिभिजनका पूर्वप्रमुख प्रा.डा. राजकुमार पोखरेल भाइबा सकिने बित्तिकै डा. लेख्नै नमिल्ने बताउँछन् । ‘पीएचडीको प्रमाणपत्र नपाई डा. लेख्न पाइँदैन । रिसर्च कमिटीले निर्णय गरेर अवार्ड गरेपछि मात्र डा. लेख्ने हो । भाइबा सकेर डा. लेख्न मिल्दैन,’ उनले भने ।

त्रिविले मेरिटको आधारमा उच्च अंक ल्याउनेलाई नियुक्ति गर्ने मापदण्ड बनाएको छ । तर, प्रसाईंलाई पीएचडीको ८  नम्बर पनि दिएर सह–परीक्षा नियन्त्रक बनाएको आरोप लागेपछि छनोट तथा सिफारिस समिति र त्रिवि पदाधिकारीको निर्णयमाथि प्रश्न उठेको छ ।

‘आवेदन दिंदा अवार्ड भएको भनेको छैन । थेसिस सकिएको भनेको छु । भाइबा सकेपछि डा. लेख्नु हुँदैन भनेचाहिं त्रुटि भयो । त्यसलाई सच्याउनुपर्ला । तर, नियुक्तिमा मेरो लागि पीएचडीको नम्बरको अर्थ राख्दैन ।’

तर, छनोट समतिका सदस्य प्राडा मोतिलाल शर्मा मापदण्ड अनुसार नम्बर दिइएको बताउँछन् । ‘सबै हेरेर विधिविधान अनुसार नम्बर दिएको छ,’ शर्माले भने । प्रसाईंलाई पीएचडी गरेवापत पाउने नम्बर दिइएको हो कि होइन भन्ने प्रश्नमा समिति सदस्य शर्माले मापदण्ड अनुसार आफूहरूले काम गरेको जवाफ दिए । प्रसाईंलाई पीएचडीबापतको पूर्णाङ्क दिइएको हो वा होइन त्यसबारे भने खुलाइएको छैन ।

यद्यपि, पीएचडीको नम्बर नजोडेपनि आफू सह–परीक्षा नियन्त्रकका लागि योग्य भएको दाबी गर्छन्, प्रसाईं । ‘२५ वर्ष सेवा अवधि पुगेको छ । सिनियर सह–प्राध्यापक हुँ । पीएचडीको नम्बर नजोडेपनि पुग्छ,’ उनी भन्छन् ।

मापदण्डमा सह-परीक्षा नियन्त्रक हुन सह-प्राध्यापक वा उपप्राध्यापकमा नियुक्ति भएको हुनुपर्ने भनिएको छ । यो मापदण्डभित्र प्रसाईं पर्छन् । तर, १०० नम्बरको पूर्णाङ्कमा पीएचडीको ८ नम्बर घटाउने हो भने प्रसाईंको ९२ मात्र हुन्छ । तर उनीसँगै सर्ट लिस्टमा परेका अन्य चार जनाले पीएचडी गरेका छन् । पीएचडी गरेकालाई उछिनेर उनी सह-परीक्षा नियन्त्रक बन्न सफल भए ।

भाइबा बुझाएपछि साथीभाइले डा लेख्नुहोस् भने, लेखें : प्रसाईं

यतिसम्म कि प्रसाईंले कार्यकक्षमा समेत डा. भनेर ‘नेम प्लेट’ झुन्डाएका छन् । आफूले हस्ताक्षर गरेको पत्रमा पनि प्रसाईंले डा. लेखेका छन् ।

प्रसाईं आफैं पनि पीएचडीका लागि थेसिस बुझाउन बाँकी रहेको स्वीकार्छन् । ‘भाइबा सकिएको हो । थेसिस ६ महिनाभित्र बुझाउन भनिएको छ । भाइबा सकिएपछि डा. लेख्ने चलन छ,’ उनले भने, ‘भाइबा सकिएपछि साथीहरूले बधाइ दिएर अब  डा. लेख्नुहोस् भन्नुभयो, त्यसपछि लेखेको हुँ ।’

थेसिस नबुझाउँदै डा.लेख्न नमिल्ने भएमा आफूबाट त्रुटि हुन पुगेको प्रसाईं बताउँछन् । ‘आवेदन दिँदा अवार्ड भएको भनेको छैन । थेसिस सकिएको भनेको छु । भाइबा सकेपछि डा. लेख्नु हुँदैन भनेचाहिँ त्रुटि भयो’, उनले भने, ‘त्यसलाई सच्याउनुपर्ला । तर, नियुक्तिमा मेरो लागि पीएचडीको नम्बरको अर्थ राख्दैन ।’

त्रिविले के गर्छ अब ?

पीएचडीको नम्बर दिएर नियुक्ति गरियो वा नदिई बनाइयो, त्यो छानबिनको विषय बनेको त्रिविका प्राध्यापकहरू बताउँछन् । ‘उहाँ (प्रसाईं)ले अहिले पीएचडीको परीक्षा मात्र दिएको हो । उत्तीर्ण हुन बाँकी नै छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार अवार्ड नभइ डा. लेख्न मिल्दैन । यो छानबिन हुनुपर्छ,’ त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भने ।

प्रसाईंले डा. लेखेको विषय त्रिवि प्रदाधिकारीकोमा पनि पुगेको छ । छनोट सिफारिस समितिले अध्ययन गरेर नाम दिएको आधारमा नियुक्ति गरिएको त्रिविको पदाधिकारीको भनाइ छ । प्रसाईंको विषयमा उजुरी पर्‍यो भने आफूहरूले छानबिन गर्ने त्रिविका उपकुलपति प्राडा केसरजंग बराल बताउँछन् ।

‘मलाई राम्ररी थाहा छैन । उजुरी पर्‍यो भने के भएको रहेछ हेर्छौं,’ उपकुलपति बरालले भने । त्रिविले बुधबार ६ जना सह–परीक्षा नियन्त्रक नियुक्ति गरेको थियो । विराटनगर, जनकपुर पोखरा, नेपालगन्जमा एक/एक जना र काठमाडौंको लागि दुई जना सह–परीक्षा नियन्त्रक नियुक्ति गरिएको थियो ।

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?