२७ मंसिर, काठमाडौं। सवा दुई वर्षपछि मुलुकको निर्यात व्यापारमा सीमान्त वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ६७ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो ।
आर्थिक वर्ष ०७८÷७९ मा निर्यात व्यापारमा ४१ दशमलव ७ प्रतिशतले बढेयता हरेक महिना निर्यात व्यापारमा ह्रास आइरहेको थियो । तर, यो वर्ष भारतको नीतिगत व्यवस्थाका कारण नेपालबाट पुनः सोयाबिनलगायत तेल भारत निर्यात हुन थालेपछि निर्यात व्यापारमा सामान्य रुपमा भए पनि बढेको हो ।
वस्तुगत आधारमा सबैभन्दा बढी निर्यात सोयाविन तेल भएको राष्ट्रबैंकले जनाएको छ । यो चार महिनामा सोयाबिन तेलको निर्यात करिब २३ सय प्रतिशतले बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको राष्ट्रबैंकको तथ्यांक छ । त्यसपछि चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायतका वस्तुको निर्यात बढेको र पाम तेल, जिंक शिट, तयारी पोशाक, जुस, अदुवा लगायतका वस्तुको निर्यात घटेको राष्ट्रबैंकको तथ्यांक छ । त्यस्तै, पोलिस्टर यार्न तथा थ्रेडको निर्यात १३ प्रतिशतले बढेर ४ अर्ब ८ करोड पुगेको छ । चियाको निर्यात ५९ प्रतिशतले बढेर २ अर्ब ३७ करोड पुगेको छ ।
आर्थिक वर्ष ०७९÷८० मा निर्यात व्यापार २१.४ प्रतिशतले खुम्चिएको थियो भने ०८०÷८१ मा ३ प्रतिशतले घटेको थियो । चालू आर्थिक वर्षका पहिला तीन महिनामा पनि निर्यात निरन्तर खुम्चँदो नै थियो । तर, चौथो महिनामा आएर निर्यातमा केही सुधार देखिएको हो ।
यो चार महिनामा भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
आयात व्यापारमा भने अझै सुधार हुन सकेको छैन । यो चार महिनामा आयात ० दशमलव २ प्रतिशतले घटेर ५ खर्ब १३ अर्ब भएको छ । पेट्रोलियम पदार्थको आयात १० प्रतिशतले घट्दा त्यसले समग्र आयातलाई नै प्रभावित गरेको हो । कात्तिक मसान्तसम्म ८० अर्बको पेट्रोलियम आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८९ अर्बको आयात भएको थियो ।
सवारीसाधनको आयात भने उत्साहजनक रुपमा बढेको छ । चालू आवको चार महिनामा यातायात उपकरण, सवारी साधान र तिनको पार्टसको आयात २७ प्रतिशतले बढेर ३० अर्ब १२ करोड पुगेको छ।
प्रतिक्रिया 4