+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १३:१२

२ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक उद्घाटनमा अर्थमन्त्री पौडेलले सीमित स्रोतबीच सामूहिक प्रयासका कारण विश्वव्यापी रूपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि ‘अदिस अबाबा एजेन्डा’ कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति भएको बताए ।

अल्पविकसित र विकासोन्मुख देशमा वित्तीय अन्तरविकास गतिको निरन्तरताका लागि महत्त्वपूर्ण मुद्दा भएको धारणा राखे । अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत विनियोजनमा कुशलता, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता विकास र दिगो खर्च व्यवस्थापन बढ्दो चुनौती रहेको बताए ।

अधिकांश अल्पविकसित र विकासोन्मुख देशले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले डिजिटल आर्थिक कारोबारका नयाँ मोडालिटीलाई करको दायरामा ल्याउने गरी कर प्रशासन क्षमता सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनले निश्चित लक्ष्यसहित स्पष्ट आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयनको आवश्यकता पनि औंल्याए ।

अर्थमन्त्री पौडेलले हाल विश्व्यापी देखापरेका आर्थिक तथा सामाजिक अनिश्चितता, भूराजनीतिक समस्या, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतालाई सामूहिक प्रयासबाट समाधान गर्नुपर्ने बताए ।

अर्थतन्त्रमा निजी क्षेत्रको लगानी सदैव प्रोत्साहित गरिनुपर्नेमा उनको जोड थियो । उनले सक्षम नियामकीय संयन्त्र, प्रभावकारी सार्वजनिक सेवा प्रवाह एवं अनुकूल व्यावसायिक वातावरण अभावमा धेरैजसो अल्पविकसित देशले उल्लेखनीय रूपमा वैदेशिक लगानी आप्रवाह विस्तार गर्न नसकेको पनि बताए ।

कम विकसित र विकासोन्मुख देशका लागि सार्वजनिक ऋण व्यवस्थापन अर्को महत्त्वपूर्ण मुद्दाका रूपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले आगामी दिनमा उत्पादनशील एवं प्रतिफलयुक्त क्षेत्रमा मात्रै सार्वजनिक ऋण उपयोग गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

जलवायु परिवर्तन प्रभावले नेपालजस्ता हिमाली भूभाग भएका देशमा बढी जोखिमयुक्त देखिएको भन्दै उनले जलवायु वित्तका लागि स्थापित कोष परिचालन जोखिम विश्लेषणका आधारमा न्यायोचित रूपमा हुनुपर्ने बताए ।

बैठकमा अर्थमन्त्री पौडेलले उच्च स्तरीय एसिया तथा प्रशान्त क्षेत्रमा विकासका लागि वित्तको भविष्य विषयक उच्च स्तरीय संवाद कार्यक्रमको अध्यक्षता गरेका थिए । संवाद कार्यक्रममा विभिन्न देशका मन्त्री, केन्द्रीय बैंकका गभर्नरले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?