+
+

भृकुटीमण्डपमा देखियो च्याउ पारखीको ‘क्रेज’, राष्ट्रिय दिवस मनाउन दबाब

च्याउ मेलामा च्याउका विभिन्न परिकारमा सहभागी झुम्मिएका थिए । च्याउको मःम, अचार, सुकुटी, छोइला, कचेला, सुपजस्ता परिकारमा सहभागीको आकर्षण थियो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष १५ गते १८:३४

१५ पुस, काठमाडौं। राजधानीको भृकुटीमण्डपमा सोमबार ‘च्याउ मेला तथा प्रदर्शनी’ भयो । मेलामा च्याउ पारखीको गज्जबको ‘क्रेज’ देखिएको छ ।

च्याउका परिकार मन पराउने, च्याउ खेती गर्ने, च्याउको अध्ययन गर्ने लगायत मेलामा सहभागी थिए । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ मेला तथा प्रदर्शनी आयोजना गरेको हो ।

‘आन्तरिक उत्पादन त्यो पनि मिठो खानेकुराको । यो मेलाले एकदम राम्रो गरेको छ । झन म त शाकाहारी हुँ, च्याउको सोच्दै नसोचेको परिकार पनि पाएँ, किनेर पनि ल्याएँ एकदम राम्रो लागेको छ,’ च्याउ मेलामा आएका रुपेश अधिकारी भन्छन् ।

मेलामा सहभागी सरिता शाह च्याउका यति धेरै परिकार बन्छ भन्ने थाहा नै नभएको बताउँछिन् । ‘सिस्नो र च्याउको मःम खाएँ, च्याउको अचार पनि दामी लाग्यो । प्रचार राम्रो भएन जस्तो लाग्यो, अझै मान्छे आउँथे कि,’ उनले भनिन् ।

च्याउ मेलामा च्याउका विभिन्न परिकारमा सहभागी झुम्मिएका थिए । च्याउको मःम, अचार, सुकुटी, छोइला, कचेला, सुपजस्ता परिकारमा सहभागीको आकर्षण थियो ।

भृकुटीमण्डपमा बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन भएको मेलामा ४० स्टलमा च्याउसम्बन्धी विभिन्न विषयका प्रदर्शनी रहेको संघ अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए ।

मेलामा च्याउका विभिन्न परिकारका स्टलमा प्रदर्शनी थियो । गोब्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनका व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा थियो ।

च्याउको आकर्षण र परिकारबारे आममानिसमा थप जानकारी होस् भन्दै संघले मेलामा प्रवेश निःशुल्क गरेको थियो । च्याउका परिकार निःशुल्क चाख्ने व्यवस्था पनि गरेको थियो । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिए पनि ७ हजारभन्दा धेरै दर्शक आएको संघले जनाएको छ ।

नेपालमा हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध रहेको संघले जनाएको छ ।

नेपालभरि विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ हाराहारीमा रहेको अध्यक्ष कार्कीले जानकारी दिए । साथै, नेपालमा अहिलेसम्म च्याउको बीउ उत्पादन गर्ने ल्याब संख्या ६७ मात्र रहेको उनले बताए ।

राष्ट्रिय दिवस बनाउन दबाब

प्रत्येक १५ पुसमा किसानले च्याउ दिवस मनाउँदै आए पनि सरकारले औपचारिक रूपमा च्याउ दिवसलाई ‘राष्ट्रिय दिवस’ को मान्यता दिएको छैन । यद्यपि, किसानले गरेको कार्यक्रममा सरकारको सहभागिता भने रहँदै आएको छ ।

१५ असारमा धान दिवस मनाए जस्तै १५ पुसलाई च्याउ दिवस मनाउन च्याउ उत्पादक संघले दबाब स्वरूप च्याउ मेला आयोजना गरेको हो ।

‘हामीले १५ पुसलाई च्याउ दिवस मनाउन थालिसक्यौं सरकारले पनि मनाउन सुरु गरोस् भन्ने हिसाबले पनि यो मेला आवश्यक रहेको छ,’ अध्यक्ष कार्कीले भने ।

आममानिसमा च्याउको उपयोगिता, यसको फाइदा र अर्थतन्त्रका विषयमा जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए ।

संघका अनुसार २०७६ सालदेखि किसानले च्याउ दिवस मनाउँदै आएका छन् । बागमती प्रदेशले भने १५ पुसलाई च्याउ दिवस मनाउन विधिवत घोषणा गरिसकेको छ, तर सरकारले राष्ट्रिय दिवस अहिलेसम्म घोषणा गरेको छैन ।

पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पुसको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने संघले जनाएको छ ।

च्याउको बीउलाई अरूको भर पर्नु पर्दैन : कृषिमन्त्री

च्याउ दिवसमा सहभागी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुने गरी सरकारले काम अघि बढाएको बताएका छन् ।

उनले काभ्रे खोपासीमा च्याउ स्रोत केन्द्र स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई कार्य अघि बढिसकेको बताए । उक्त केन्द्रको निर्माणपछि नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।

‘गुणस्तरीय बीउ कल्चर व्यवस्थापनका निमित्त कृषि मन्त्रालय मातहत कार्यालय तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका तन्तु प्रजनन प्रयोगशालाको सुदृढीकरण तथा पानको गुणस्तर निर्धारण र नियमनका लागि प्रभावकारी कदम चाल्न आवश्यक छ,’ कृषिमन्त्री अधिकारीले भने, ‘यसका लागि मन्त्रालयमा कार्य भइरहेका कुरा जानकारी गराउन चाहन्छु।’

 

 तस्वीरहरू :  चन्द्रबहादुर आले

   

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?