+
+

महानगरका होटल व्यवसायीदेखि मासु पसलेसम्मलाई ‘फुड सेफ्टी क्लास’

४ संस्करणमा ११ सय ५० लाई तालिम

महानगरका अनुसार पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय सञ्चालकलाई तालिम दिइसकेको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष १५ गते २०:३७

१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यवसायीलाई ‘फुड सेफ्टी क्लास’ चलाइरहेको छ ।

महानगरले विभिन्न चरणमा फरक–फरक खालका खाद्यान्न बिक्री वितरण र त्यसको सेवासम्बन्धी व्यवसाय गर्ने व्यवसायीलाई खाद्य सुरक्षा र स्वच्छ भान्सा सम्बन्धी तालिम दिइरहेको हो ।

महानगरले हालसम्म चार संस्करण गरेर १ हजार १ सय ५० भन्दा बढी व्यवसायीलाई तालिम दिइसकेको छ ।

महानगरका अनुसार पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय सञ्चालकलाई तालिम दिइसकेको छ । यस्तै दोस्रो संस्करणमा दशैं लक्षित मासुजन्य खाद्यवस्तु उत्पादक तथा विक्रेतालाई तालिम दिएको थियो । मासुको स्वच्छता, सरसफाइ, भण्डारण र बिक्री वितरणबारे ३ सय २१ व्यवसायीलाई तालिम दिएको थियो ।

यस्तै दशैं लगत्तै तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि मिठाई पसले, स्विट्स हाउस सञ्चालकलाई तालिम दिइएको थियो । मिठाईमा प्रयोग हुने रङ, मिठाईको म्याद, प्याकेजिङ, उत्पादन तथा भण्डारण स्वच्छता सम्बन्धी १ सय ६२ तालिम दिएको महानगरले जनाएको छ । आज दरबार हाइस्कुलमा होटल, क्याटरिङ र ब्यांक्वेट सेवाका ३ सय ६६ व्यवसायीलाई फुड सेफ्टी क्लास चलाएको हो ।

होटल, क्याटरिङ, ब्यांक्वेटबाट प्रदान गरिने खाद्य सेवा विषयमा आउने गुनासामध्ये धेरैजसो स्वच्छतासँग सम्बन्धित रहेको महानगरका अधिकारीहरू बताउँछन् ।

‘खानेकुरामा झिँगा भेटियो, साङ्लो भेटियो, भुसुना भेटिए जस्ता गुनासा आउने गरेका छन्,’ महानगर खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रम विज्ञ सल्लाहकार जीवनप्रभा लामाले भने ।

उनले होटल तथा क्याटरिङमा स्वच्छतासँगै कीटपतङ्ग व्यवस्थापन विषयलाई प्राथमिकतामा राखेर व्यवसायीलाई क्लास लिइएको बताए ।

तालिम महानगरको ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना अन्तर्गतको ‘खाद्य स्वच्छता प्रवद्र्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता प्रवद्र्धन शिविर’ कार्यक्रम हो ।

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ नारासहित महानगरले तालिम चलाइरहेको उनले जानकारी दिए । महानगरले खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरेको छ ।

के सिकाइन्छ फुड सेफ्टी क्लासमा ?

विज्ञ सल्लाहकार लामा अनुसार खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्यवस्तु उत्पादन, पकाइएको खानेकुरा भण्डारण, भण्डारण अवधि र विधिबारे व्यवसायीलाई सिकाउने गरिएको छ ।

यस्तै व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषण रोकथाम, स्वच्छता र सरसफाइ जस्ता व्यवसायीले पालना गर्नैपर्ने दायित्वका विषयमा कक्षा सञ्चालन भएको उनले बताए । महानगरको स्वच्छता मूल्यांकन योजना समेटेर कक्षा सञ्चालन गरिएको थियो ।

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्यूनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसन रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश थिए ।

प्रचलित कानुनी व्यवस्था, मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिबाना जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा रहेको महानगरले जनाएको छ ।

सरसफाइ र स्वच्छतासँगै सत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चापदार्थ, वातावरण, कच्चापदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डबारे व्यवसायीलाई तालिम दिइएको हो ।

अनुगमन टोलीको खबरले सटर बन्द नहोस् भनेर तालिम : डंगोल

बजारमा अनुगमन टोली आएको खबर सुनेर सटर बन्द गर्ने अवस्था अन्त्य गर्न व्यवसायीलाई तालिम दिइएको उपप्रमुख एवं अनुगमन समिति संयोजक सुनिता डंगोलले बताइन् ।

‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौं । जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीबीचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो,’ तालिमबारे उनले भनिन्, ‘खाद्य स्वच्छता प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्ड बमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौं । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ ।’

व्यवसायी भन्छन्– तालिमले आत्मविश्वास बढायो

तालिममा सहभागी व्यवसायीले तालिमबाट व्यवसायको स्वच्छताका लागि नयाँ सिप विकास भएको, उपभोक्ता र नियामक निकायप्रति थप जिम्मेवार भएको धारणा व्यक्त गरेका छन् ।

‘हामीलाई पेसा वृद्धि हुनेमा आत्मविश्वास बढेको छ । यसमा हामी पेसाकर्मीका दायित्वप्रति प्रतिबद्धता बलियो हुन्छ,’ जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले भने, ‘हामीलाई सरकारले बोलाएर यसो गर्नुपर्छ भनेको यो नै पहिलो पटक हो । महानगरको यो तालिमले हामीलाई थप जिम्मेवारी बोध भएको छ ।’

महानगरले तालिमका अन्य संस्करण पनि हुने र खाद्यसँग जोडिएका व्यवसायीलाई फुड सेफ्टी क्लास दिने जनाएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?