+
+

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

रासस रासस
२०८१ पुष १५ गते १९:०२
फाइल तस्वीर

१५ पुस, मुगु । कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ ।

हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन्।

सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताए ।

‘पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन’, उनले भने, ‘चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन्।’

उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उनले फोनमार्फत बताए ।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताए ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?