+
+

टुँडिखेलमा थारू समुदायले मनाए माघी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ माघ १ गते १८:४५

१ माघ, काठमाडौं। काठमाडौंको टुँडिखेलमा थारू समुदायले धुमधामसँग राष्ट्रिय माघी महोत्सव २०८१ ‍मनाएका छन्।

काठमाडौंको टुँडिखेलमा थारू कल्‍याण कारिणीसभा (थाकस)को अगुवाइमा थारू समुदायले माघी महोत्सव मनाएका हुन् ।

महोत्सवको उद्‌घाटन प्रमुख अतिथिसमेत पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस पुर्वउपाध्यक्ष विजयकुमार गच्छारले गरेका थिए । प्रमुख अतिथि गच्छदारले थारू दिदीबहिनीलाई निसराउ दिएर सुरुवात गरेका थिए । उनलाई विशिष्ट अतिथि पर्यटन राज्‍यमन्त्री अरूण चौधरीलागतयले पगरी लगाइदिएका थिए ।

महोत्सवको उद्‌घाटन अगाडि थारू संस्कृति, भेषभूषा, बाजागाजा, संघसंस्थाको तुल ब्यानरसहित वसन्तपुरबाट झाँकी र्‍याली निकालिएको थियो । झाँकी र्‍याली वसन्तपुरबाट सुरू भएर रत्नपार्क, भृकुटीमण्डपसहित मूल समारोहमा सरिक भएका थिए ।

महोत्‍सवमा थारु फुड फेस्टिबल, थारुहरुको मौलिक पोशाक(लेहेंगा, चोलिया, अंगिया र धोती) विभिन्‍न परिकार (ढिक्री, अण्‍डी चामलको भात, तिलको लड्डु, भुजाको डल्‍ला, घोंघी, बगिया, खिचरी, गंगटा, सुँगुरको मासु, मुसाको अचार, सिंकी, सिध्रा, खुम्रा) गरी करीब १२० वटा स्टल राखिएको थियो ।

यसका साथै थारुको बारेमा जानकारी दिन मिडिया सेन्टर राखिनेछ जहाँ थारुको इतिहास झल्‍किने ऐतिहासिक पुस्‍तक, क्‍यालेन्‍डर राखिएको छ।

नेपालका आदिवासी भूमिपुत्र थारू समुदायले मनाउँदै आएका विभिन्न चाडपर्वहरु (शिरुवा/जुरशीतल पावैन, अखारही, गुरीया, रैब/अट्वारी, जितिया, डश्या, सुकराइत/देवारी, अष्टिम्की, समाचकेवा, होरी/फगुई)मध्ये महान एवं राष्ट्रिय पर्व माघी पनि हो ।

माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारू समुदायले स्थान विशेषका आधारमा माघ/माघी/तिला संक्राइत/खिचरा/खिचरी खिचडी आदि नामबाट हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् ।

पूर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारू समुदायले तिलासंक्राइत, मध्य चितवनका थारू समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका थारू समुदायले खिचरी/खिचडी तथा दाङ, बाँके, सुर्खेत,बर्दिया,कैलाली,कन्चनपुरलगायतका हामी थारू समुदाय यसलाई माघ पर्वको रुपमा मनाउने गरेका छन् ।

थारूहरुको मातृसंस्था थारू कल्याणकारिणी सभाले अगुवाइ गरेर काठामाडौंमा २०५९ सालदेखि साझा रुपमा माघी पर्वलाई महोत्सवको रुपमा धुमधामसँग मनाउन थालेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?