
५ माघ, काठमाडौं । ‘विद्यार्थीबाट डराउनुपर्छ । कतिबेला के गर्छन् थाहा नै हुँदैन,’ कीर्तिपुरस्थिति रजिस्ट्रार कार्यालयमा एक कर्मचारी बुधबार दिउँसो गुनासो गरिरहेका थिए, ‘ठाउँठाउँमा दलका विद्यार्थीले ताला लगाएका छन्, बोल्यो कि पोल्यो ।’
ती कर्मचारीले यसो भनिरहँदा उपकुलपति केसरजंग बरालको कार्यकक्षमा एक हुल नेविसंघका विद्यार्थी पुगे । र, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाललाई तथानाम गाली गरेर लेखिएको पर्चा ढोकामा टाँसे । ‘उपकुलपतिको ढोकामा गएर हेर्नुहोस् न, विद्यार्थीले कस्तो शब्दमा लेखेको छ,’ भीसी कार्यालयका एक कर्मचारीले भने ।
क्याम्पस प्रमुखमा नियुक्ति भएपछि पत्र बुझ्न आएका प्रमुखहरूको गुनासो पनि त्यही थियो । ‘प्रमुख त भइयो । विद्यार्थीले कामै गर्न दिँदैनन्,’ रजिस्ट्रार कार्यालयमा पुगेका एक क्याम्पस प्रमुख भनिरहेका थिए, ‘केन्द्रमा भन्दा जिल्लामा झन धेरै विद्यार्थी संगठन छन् । यता नामै नसुनेका विद्यार्थी संगठन जिल्लामा छन् ।’
क्याम्पस प्रमुखमा नियुक्त भएकाहरू पनि विद्यार्थीको डरमा देखिन्थे । ‘भीसी सरको सुरक्षाका लागि प्रहरी नै खटाउनु पर्यो । कति असुरक्षित बन्यो विश्वविद्यालय,’ ती क्याम्पस प्रमुखले भने ।
विश्वविद्यालय शान्त क्षेत्र हुनुपर्ने हो तर अशान्त भएपछि सरकारले नै उपकुलपति बरालको सुरक्षाका लागि अंगरक्षक खटाएको छ ।
यो त पछिल्लो एक साताको मात्र प्रसंग हो । २०७७ सालमा विश्वविद्यालयकै प्राङ्गणमा विद्यार्थीको आक्रमणमा परेका उपप्राध्याप प्रेम चलाउनेको घटना ताजै छ । उनी अझै न्यायको पर्खाइमा छन् ।
विद्यार्थीको तालाबन्दी, बन्द, हड्ताला र पदाधिकारीलाई विश्वविद्याय प्रवेशमा रोक लगाउने त सामान्य दैनिकी जस्तै बनेको त्रिविका कर्मचारीहरू बताउँछन् ।
‘पदाधिकारी र क्याम्पस प्रमुखलाई मोसो दल्ने त विद्यार्थीको आदातै हो,’ रजिस्ट्रार कार्यालयका एक कर्मचारीले भने, ‘ताला लगाएको एक महिना भयो । ताला फोरेर भित्र छिरौं भने टाउको फोर्न विद्यार्थी आइपुग्छन् ।’
यही अवधिमा मात्र काठमाडौं उपत्यकामा तीन वटा क्याम्पसका प्रमुख आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राई र भक्तपुर क्याम्पस प्रमुख कविता लुइँटेललाई क्याम्पस प्रवेशमै रोक लगाइएको छ ।
त्रिचिन्द्र क्याम्पसमा भने आंशिक शिक्षकको तालाबन्दी छ । जसका कारण निलम श्रेष्ठ प्रधान कार्यकक्षमा छिर्न पाएकी छैनन् । शिक्षक र विद्यार्थीको भूमिका शैक्षिक गतिविधिमा हुनुपर्ने हो तर नियुक्ति, भागबन्डा जस्ता विषयलाई लिएर आन्दोलनमा उत्रने गरेका छन् ।
पछिल्लो एक महिनाको अवधिको कुरा हो । ८ वटा संकायमा डीन नियुक्ति गर्ने समयमा एमाले निकट विद्यार्थी संगठनका नेताहरू उपकुलपति बरालको ढोका अगाडि नै आएर धर्नामा बसे ।
क्याम्पस प्रमुखकको नियुक्तिको समयमा माओवादी लगायत प्रतिपक्षी दलका विद्यार्थीहरू शिक्षाध्यक्ष खड्ग केसीको कार्यकक्षमा धर्नामा बसे ।
त्रिवि कार्यकारी परिषद्ले क्याम्पस प्रमुख नियुक्ति गर्यो त्यसमा कांग्रेस निकटका प्राध्यापक नपरेको भनेर भीसी कार्यालयमा तथानम लेखिएको पोर्चा नेविसंघले टाँस्यो ।
‘विद्यार्थीको धम्की त कति आउँछ आउँछ । त्यसमा पनि सरकारमा रहेका दलका विद्यार्थीको त झन् धेरै आउँछ,’ त्रिविका एक अधिकारी रेक्टर कार्यालयको प्राङ्गणमा भनिरहेका थिए, ‘सामाजिक सञ्जालबाट त झन् बढी धम्की आउँछ । फेसबुक त हेर्नै सकिँदैन ।’
यी माथि कुरा गरेका व्यक्तिहरूले विद्यार्थीकै डरले आफ्नो परिचय खुलाउन चाहेनन् । यसबाटै त्रिविका पदाधाकारीदेखि कर्मचारीसम्म कति त्रासमा छन् भन्ने प्रष्ट हुन्छ ।
मुख्य दोषी दलहरू
त्रिविमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थीको दबदबा छ । दलहरूकै संरक्षणका कारण विद्यार्थी आतंक बढेको तर्क गर्छन् त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा ।
‘दलका विद्यार्थीलाई माथिको संरक्षण छ । बिचरा पदाधिकारीले के गर्न सक्छन् र ? विद्यार्थीले खोज्नुपर्ने लाइब्रेरी, कक्षा, परीक्षा, पाठ्यक्रम, नतिजा हो, भागबन्डा खोज्ने होइन । त्रिवि नेतृत्वलाई दबाब पनि दिने होइन ।’
विद्यार्थीको हक अधिकारका विषय मात्र विद्यार्थीले उठाउनु पर्ने मत माथेमाको छ । ‘नेतृत्वले आफूलाई उपयुक्त लागेको व्यक्ति छान्न पाउनु पर्छ । यो छान त्यो नछान भनेर विद्यार्थीले दबाब दिनु ठिक होइन,’ माथेमाले भने ।
विद्यार्थीबाट त्रिविका पदाधिकारी असुरक्षित हुनुले कस्ता विद्यार्थी उत्पादन भइरहेका छन् भन्ने प्रष्ट भएको निचोड माथेमाको छ ।
‘उपकुलपतिलाई सुरक्षा दिनुपर्ने स्थिति आउनु नै विडम्बना हो । विद्यार्थीको अराजकता बढ्दै गएको छ । कुन पार्टीको विद्यार्थीले गर्यो त्यो मतलब होइन । जसले गरे पनि राम्रो भएन । त्रिविको छवि बिगार्नु हुँदैन,’ उनले भने, ‘विद्यार्थीले सबै कुरा खोज्ने हो भने विश्वविद्यालय चलाउने जिम्मा नै विद्यार्थीलाई नै दिनुपर्छ ।’
दलका नेताको स्वीकारोक्ति : विद्यार्थीको अराजकता बढ्यो
प्रमुख दल कांग्रेस, एमाले र माओवादीका नेताहरू त्रिविमा विद्यार्थीको अराजकता बढेको स्वीकार गर्छन् । तर, आफ्नो पार्टी निकटका भन्दा अर्को पार्टी निकटका विद्यार्थीलाई अराजकता देख्छन् नेताहरू । सरकारको नेतृत्व गरिरहेको एमालेको केन्द्रीय कमिटीले नै विश्वविद्यालयमा बन्द हड्ताल नगर्ने निर्णय गरेको छ ।
‘विद्यार्थीले शैक्षिक क्यालेन्डर लागु गराउन रचनात्मक दाबाब दिने हो । प्राज्ञिक थलोमा विकास गर्ने हो । हामीले बन्द हड्ताल नगर्ने निर्णय गरेको छौं,’ एमाले शिक्षा विभाग प्रमुख पार्वती रावल भन्छिन्, ‘एमाले निकटका विद्यार्थीबाट विश्वविद्यालयमा अराजक गतिविधि गरेको पाइएमा सचेत गराउँछौँ ।’
माओवादी केन्द्रका शिक्षा विभाग प्रमुख मायाप्रसाद शर्मा आफ्नो पार्टी निकटका विद्यार्थीबाट गडबड नभएको दाबी गर्छन् । ‘सरकार निकट विद्यार्थी संगठनले अराजकता मच्चाएका छन् । बन्द हड्ताल गर्ने गरेका छन्,’ उनले भने ।
त्रिविमा विद्यार्थीबाट पदाधिकारी असुरक्षित रहेकोमा उनी जानकार छन् । ‘कार्यालयमा भीसी जानै नसक्ने स्थिति छ । सुरक्षा दिनु परेको छ । सिनेट सिंहदरबारबाट चलाउने स्थिति आउनुले नै कति असुरक्षित छ भन्ने प्रष्ट हुन्छ,’ उनले भने ।
कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महर नियुक्तिको समयमा आफ्ना मान्छे भर्ती गर्न विद्यार्थीलाई गतिविधि सञ्चालन गर्ने वातवरण दिइरहेको स्वीकार गर्छन् । ‘भर्ती गर्नका लागि विद्यार्थीलाई गतिविधि गर्ने वातवरण दिइरहेका छौँ । त्यो राम्रो होइन,’ उनले भने, ‘विद्यार्थीले प्राज्ञिक माग राख्ने हो । प्राज्ञिक कुरा कार्यान्वयन गर्न नेतृत्व पनि प्राज्ञिक हुनुपर्छ ।’
विद्यार्थीको काम भागबन्डा र नियुक्तिमा लाग्न नहुनेमा नेताहरू पनि सहमत छन् । ‘एमाले सरकारमा छ । शैक्षिक अराजकता नियन्त्रण गर्न एमाले प्रतिबद्ध छ । पढ्ने पढाउने वातवरण विद्यार्थीले बनाउने हो,’ रावल भन्छिन् ।
विश्वविद्यालयमा अब आन्दोलन आवश्यक नरहेको मत राख्छन् माओवादी शिक्षा विभाग प्रमुख शर्मा ।
‘विद्यार्थी संगठनलाई नियमन गर्ने दायित्व हाम्रो हो । राजनीतिक परिवर्तनका लागि पहिले आन्दोलन जायज थियो अहिलेको परिवेशमा विश्वविद्यालयमा आन्दोलन आवश्यक छैन,’ शर्माले भने ।

कसरी नियन्त्रण गर्ने त ?
विद्यार्थीको अराजकता नियन्त्रण गर्ने दायित्व आफूहरूकै रहेको बताउँछन् नेताहरू । ‘प्रमुख दलका प्रमुख नेताहरूलाई एक ठाउँमा राखेर साझा प्रतिबद्धता जनाउनुपर्छ । यो नगरेसम्म कुनै पनि भीसीले काम गर्न सक्ने अवस्था छैन । म नेविसंघको अध्यक्ष हुँदादेखि साझा प्रतिबद्धताको माग राख्दै आएको छु । अहिले पनि यही माग हो,’ उनले भने ।
सुधारका लागि त्रिविका पदाधिकारी पनि जिम्मेवार हुनुपर्ने उनको तर्क छ । ‘त्रिविमा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्छ भनेर भन्दै आयौं । मेरिटोक्रेसी भनेर जसरी नियुक्त गरिएको छ त्यसमा प्रश्न उठेको छ । मेरिटको आधारमा एक नम्बरमा परेकोलाई नियुक्ति गुर्न पर्छ । जसले विद्यार्थीको आवाज पनि सम्बोधन गर्न सम्छ,’ महरले भने, ‘त्रिविको नेतृत्प पनि एकपक्ष हुनु भएन ।’
एमाले शिक्षा विभागको प्रमुख रावल विद्यार्थीको गुनासो सुन्ने युनिट राख्नुपर्ने बताउँछिन् । ‘पदाधिकारीले विद्यार्थीको गुनासो सुन्ने युनिट राख्यो भने बद्यन हड्तालको स्थिति आउँदैन,’ उनले भनिन् ।
प्रतिक्रिया 4