
१ माघ, काठमाडौं । भक्तपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले क्याम्पस प्रमुख कविता लुइँटेललाई क्याम्पस प्रवेशमा रोक लगाएको दुई महिना भयो । क्याम्पसको जग्गा भक्तपुर नगरपालिकलाई दिएको आरोप लगाउँदै स्ववियुले प्रमुख लुइँटेललाई २९ कात्तिकबाट प्रवेशमा रोक लगाएको हो ।
‘प्रवेश निषेध भनेको छ । क्याम्पसमा गएर काम गर्न पाएको छैन,’ प्रमुख लुइँटेलले भनिन् । क्याम्पस अगाडि भाज्य पोखरी छ । पोखरीलाई संक्षण गर्न लामो समयदेखि भक्तपुर नगरपालिकाले बाटो विस्तार गर्न क्याम्पसको जग्गा मागेको थियो ।
गत कात्तिक २८ मा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजाल, क्याम्पस प्रमुख लुइँटेल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, पुरातत्त्वका प्रधिननिधिसहति बाटोका लागि २० फिट दिने सहमति भयो । सो सहमतिमा विरोध जनाउँदै स्ववियुले चरणबद्ध आन्दोलन सुरु गर्यो । ‘कलेजको जग्गा नगरपालिकालाई दिन मिल्दैन । दिने हो भने त्रिविको कार्यकारी परिषद्बाट निर्णय हुनुपर्छ । सहमति कार्यान्वयन नगर्न अनुरोध गर्दा सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलन अन्तर्गत क्याम्पस प्रमुखलाई प्रवेशमा रोक लगाएका हौं,’ स्ववियु सभापति पुकार पराजुलीले भने ।
क्याम्पस प्रमुख लुइँटेल जग्गा दिने अधिकार आफूसँग नभएको र सहमतिमा साक्षी मात्र बसेको बताउँछिन् । ‘त्रिविको रजिस्ट्रार सरसहित बसेर सहमति भएको हो । जग्गाको अधिकार क्याम्पसलाई हुँदैन । क्याम्पसले त रेखदेख मात्र गर्ने हो । नगरपालिकाले बारम्बार भनेपछि जग्गाको विषयको पत्र त्रिविमा पठाएको हुँ । मैले निर्णय गरेको होइन । सहमति हुँदा साक्षी मात्र बसेको हो,’ उनले भनिन् ।
क्याम्पस प्रमुखले जानकारी नदिइ सहमति गरेको आरोप स्ववियुको छ । ‘क्याम्पस प्रमुखले व्यवस्थापन समितिको बैठक नराखी जग्गा दिने सहमति गर्नुभयो । स्ववियुलाई पनि जानकारी गारउनु भएन,’ सभापति पराजुलीले भने, ‘सहमति खारेज गरेर कार्यकारी परिषद्बाट निणर्य गरेर आउनु हुन्छ भने ठीक छ ।’
बाटोको लागि २० फिट दिने सहमति हुँदा आफूले विद्यार्थी प्रतिनिधि पनि राख्ने प्रस्ताव गरेको बताउँछिन् क्याम्पस प्रमुख लुइँटेल । ‘विद्यार्थीको प्रतिनिधि पनि राखौं भनेको हो तर सहमति त्रिवि र नगरपालिकाबीच भएको हो,’ उनले भनिन् ।
सहमति भएपछि नगरपालिकाले बाटो बढाउन डोजर चलायो । नगरपालिकाले बाटो बढाउन क्याम्पसको पर्खाल भत्कायो । २० फिट बाटो बढाएपछि कलेजको पर्खाल र प्रवेशद्वार नगरपालिकाले बनाउने सहमति भएको थियो ।
तर, विद्यार्थीहरूले आन्दोन चर्काए । डोजरले भत्काएको ढुंगा माटो विद्यार्थीले कीर्तिपुर रजिस्ट्रार कार्यालय अगाडि लगेर खनाए । ‘नगरपालिकाले ढलाएको सामान लगेर रजिस्ट्रार कार्यालयमा खनायौं,’ सभापति पराजुलीले भने ।
विद्यार्थीहरूले नगरपालिकासँग भएको सहमति खारेज गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल बाटो विस्तार गर्ने सहमति भएपछि विद्यार्थीले असहमति जनाएको बताउँछन् ।
‘त्रिवि, नगरपालिका र क्याम्पसलाई बोलाएर सहमति गराएको हो । यसमा विद्यार्थीले क्याम्पस प्रमुखसँग असहमति राखेका छन् । विद्यार्थीसँग पनि सहमतिको प्रयास भइरहेको छ,’ उनले भने । बाटो विस्तारगरेपछि नगरपालिकाले क्याम्पसलाई सहयोग गर्ने सहमति बनेको बताउँछन् प्रजिअ अर्याल ।
त्रिविले विद्यार्थीसँग सहमति गर्न विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति बनाएको छ । ‘सबै पक्षसँग छलफल गरिरहेका छौं । प्रमुख जिल्ला अधिकारीले पनि सहमतिको प्रयास गरिरहनु भएको छ,’ अधिकारीले भने ।
बाटो बिस्तार हुन्छ– नगरप्रमख प्रजापति
जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार नै बटाो विस्तार गर्ने तयारी भक्तपुर नगरपालिकाको छ । अहिले क्याम्पसको नाममा रहेको भाज्य पोखरीको डिल २०२१ सालको नापीमा पोखरीकै नाममा रहेको बताउँछन् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति ।
‘२०३२/०३३ सालतिर कलेजको नाममा गएको देखिन्छ । कलेज पनि पोखरी पनि जनताकै हो । त्यसैले २२ फिट मिलाउने सहमति भएको हो,’ उनले भने, ‘क्याम्पसको पर्खाल र प्रवेशद्वार नगरपालिकाले बनाउँछ ।’
विद्यार्थी र क्याम्पसको विवादमा नगरपालिका संलग्न नरहेको उनले बताए । ‘त्यो उहाँहरूको आन्तरिक विषय हो । कक्षा चलेको समयमा असर पर्छ भनेर काम रोकेको हो । अब छिट्टै काम अगाडि बढ्छ,’ उनले भने ।
प्रतिक्रिया 4