+
+
पुस्तक :

सन्तुष्टिको गोरेटो

‘नबिराउनू, नडराउनू’ भन्ने सिद्धान्त अनुसार कर्मचारीतन्त्र कानुनबमोजिम काम गर्न सक्षम हुनुपर्छ । यसैबाट सन्तुष्टि र खुसी प्राप्त हुन्छ । कहिलेकाहीं सतीले सरापेको देश भन्नेहरूको स्मरण हुन्छ । तर, कर्तव्यमा अब्बल ठहरिएको आफू दुःखी हुनुपर्ने कुनै कारण छैन ।

कृष्णहरि बास्कोटा कृष्णहरि बास्कोटा
२०८१ माघ ७ गते ९:०७

यो दुनियाँमा केसँग सुख र दुःख छैन ?

सुकरात जस्ता महान् दार्शनिकको पारिवारिक जीवन पनि सुखद् थिएन । उहाँकी धर्मपत्नीले सधैं बखेडा झिकिरहनुहुन्थ्यो । यसलाई सुकरातका एक शिष्यले नजिकबाट नियालिरहेका थिए । उनको विवाहको उमेर आयो । योग्य कन्याको घरबाट विवाहको प्रस्ताव पनि आयो । सो बखत सुकरातका शिष्य विवाह गरौं कि नगरौं ? भनी द्विविधामा परे । त्यसैबीच उनले आफ्ना गुरु सुकरातसँग यस विषयमा परामर्श मागे । सुकरातले कुनै अबेर नगरी विवाह गर्न सुझाव दिए ।

ती शङ्कालु शिष्यले गुरुसमक्ष प्रश्न राखे, “तर गुरुदेव हजुरको जस्तै वैवाहिक जीवन असफल भयो भने त म बर्बाद नै हुन्छु !”

सुकरातले शिष्यलाई सुमसुम्याउँदै जवाफ दिए, “बाबु विवाह गर ! दाम्पत्य जीवन राम्रो भए सुखभोग गर । नत्र तिमी पनि म जस्तै दार्शनिक बन्नेछौ । लोकमा तिम्रो प्रख्याति बढ्नेछ ।”

*** ***

समाज, देश, पद्धति र स्वभावको परिवर्तनको वाहकका रूपमा रहेको सरकारी कर्मचारी र नेता नै निराश भएपछि मुलुक अधोगतिमा लाग्नु स्वाभाविकै हो । यसर्थ नेपाली समाजमा हँसमुखको प्रतीक मुलुकी प्रशासन हुनुपर्छ । यो विनयशीलताको प्रतीक हुनुपर्छ । सधैं केही गरौं भन्ने उत्सुकता र क्रियाशीलताको प्रतीक ठहरिनुपर्छ ।

सार्वजनिक पद आफ्ना लागि होइन, अरूलाई उत्साह बाँड्न आफूले जिम्मेवारी पाएको कुराको हेक्का सबैले राख्नुपर्छ । यसबाट राष्ट्र, जनता र कर्मचारीमा खुसी बढ्छ । ठीक यसै गरी असल मानिसको सङ्गतमा रहेका कर्मचारी सुखी छन् । ती सेवाग्राहीलाई सेवा दिन उत्सुक छन् । तिनले जे सुविधा पाएका छन्, त्यसैमा सन्तुष्ट छन् । यस्ता प्रकृतिका कर्मचारी अवकाशित जीवन पनि सहजै जिइरहेका छन् ।

यस विपरीत गलत मानिसको सङ्गत गर्नेहरू सुविधाको खोजीमा भौंतारिएका छन् । ती द्रव्य, सुन्दरी र मदिराको खोजीमा छन् । निजामती, जङ्गी र प्रहरी सेवाको साखमाथि धावा बोलेका छन् । ती आफ्नै कर्मका कारण विरक्तिएका छन्, जीवनसँग । यही निराशा तिनले बाँड्दै गर्दा सबै जागिरे असफल जस्ता, असन्तुष्ट जस्ता र दुःखी जस्ता देखिएका हुन् ।

सुखको मार्ग भनेको सत्मार्ग, सद्विचार र सदाचार नै हो ।

मानिसले सुख खोजे सुख पाउँछ भने दुःख रोजे दुःख नै पाउँछ । अहिले धेरैभन्दा धेरैले दुःख बेसाइरहेका छन् । ‘दुःख पायौ मङ्गले आफ्नै ढङ्ग’ले भन्ने उखान यहाँ सार्थक छ ।

मानिसले नयाँ जिम्मेवारी पाएपछि आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ भन्ने सन्देश यसबाट पाइन्छ । तर केही कर्मचारीतन्त्रभित्रका मानिस आफूसँग असीमित क्षमता भएर पनि त्यसको प्रयोग गर्न सकिरहेका छैनन् । केही गर्ने पहल गरे गर्न सकिन्छ । आफू केही गर्न क्रियाशील नहुने तर मलाई गर्न दिएनन् भनेर कुण्ठित हुने स्वभावले कर्मचारीतन्त्र दुःखी भएको हो । प्रत्येक पदधारी व्यक्ति आफ्नो क्षमता प्रदर्शनमा अघि सरेर खुसी हुन सिक्नुपर्छ ।

तीन ओटा अलग–अलग भाँडामा एकसाथ आलु, अन्डा र कफीको दाना राखेर उमालियो । केही क्षणपछि हेर्दा सारो आलु पूर्णतः गलित भएछ । भित्र तरल पदार्थ भएको अन्डा पुनः तरल हुन नसक्ने गरी सारो भएछ । कफीको दाना फुटेर पूरै पानीलाई सुगन्धित बनाइदिएछ । पहिलेको पानी हाल कफी भएछ । यसर्थ हामी आलु, अन्डा वा कफी के बन्ने हाम्रै हातमा छ ।

निजामती, जङ्गी, प्रहरी सेवा लगायतमा जेहेन्दार मानिस प्रवेश गर्छन् । ती परिवर्तनका संवाहक पनि हुन् । ती फुक्न चाहे फुक्न सक्छन् र चाउरिन खोजे निचोरिन्छन् ।

कुनै बखत मुलुकको मुख्यसचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक जस्तो पदमा पुगेका मानिस पनि गुमनाम छन् । ती शक्तिहीन, क्षमताहीन र विवेकहीन कसरी बन्न सके होलान् ? ती निराशा, कुण्ठा र नकारात्मक सोचभन्दा माथि उठ्न सकेनन् ।

‘नबिराउनू, नडराउनू’ भन्ने सिद्धान्त अनुसार कर्मचारीतन्त्र कानुनबमोजिम काम गर्न सक्षम हुनुपर्छ । यसैबाट सन्तुष्टि र खुसी प्राप्त हुन्छ । कहिलेकाहीं सतीले सरापेको देश भन्नेहरूको स्मरण हुन्छ । तर, कर्तव्यमा अब्बल ठहरिएको आफू दुःखी हुनुपर्ने कुनै कारण छैन ।

*** ***

नेताहरूको समूहले एउटा कार्यक्रमको आयोजना गर्‍यो । नेल्सन मन्डेला प्रमुख अतिथि भए । आयोजकले मन्डेलालाई तपाईं जस्तै राजनेता हुन के गर्नुपर्छ ? तपाईंको ज्ञानको स्रोत के हो ? सोबारे प्रकाश पारिदिन आग्रह गरे ।

मन्डेलाले आफू केटाकेटी हुँदा आफ्ना बाबु गाउँको मुखिया भएको र हरेक समस्याको समाधान गर्न गाउँलेलाई भेला गराई समान रूपमा गोलाकारमा राख्ने गरेको र सबैको कुरा सुनेर मात्रै आफ्नो निर्णय सुनाउने गरेको कुरा बताए । उनले मेरा बुबाका यी दुई गुण नै मेरा प्रेरणाका स्रोत हुन् भनेपछि नेताहरू थाप्लोमा हात राखेर हिंडे । यस कुराले हामी प्रशासकले समूह गतिशीलतामा विश्वास गर्नुपर्ने सन्देश दिन्छ ।

देशका मुख्यसचिव, सचिव, प्रधानसेनापति र रथीवृन्द, प्रहरी महानिरीक्षक र सहसचिव आदि उच्च पदाधिकारी एक्लै काम गर्ने, एक्लै जिम्मेवारी बोक्ने, अरूको कुरै नसुन्ने, आफैं जान्नेसुन्ने पल्टिंदा कामको बोझले च्यापिएर दुःखी भएका हुन् । यथार्थमा ठूलो पदमा पुगेकाले आफैं काम गर्नेभन्दा पनि काम लगाउने हो । असल नेतृत्व अरूबाट काम सम्पन्न गराउन सक्षम हुन्छ । अरूलाई विश्वासमा लिने हो । कामको बाँडफाँट गर्ने हो । यही सामान्य सूत्रभित्र सफलता र सुख लुकेको छ ।

सार्वजनिक क्षेत्रमा उच्च पदमा आसीन व्यक्ति सदैव त्यागी, रोलमोडेल र सदाचारी एवम् निष्ठावान् हुनुपर्छ । यही गुणका आधारमा मातहतका कर्मचारीले उनीप्रति आदर व्यक्त गर्छन् । यही आदर्श व्यक्तिकै आदेश पालनामा सहजता आउँछ । यसबाट तोकिएको कामको परिणाम प्राप्त हुन्छ । जसका कारण नेतृत्वमा रहेकाले समाजबाट स्यावासी पाउँछन् ।

यसरी उच्च पदमा रहेका व्यक्तिमा थप केही गरौं भन्ने जोस–जाँगर बढ्दै जान्छ । यसले समाजलाई नै अतिरिक्त लाभ पुर्‍याउँछ । आदर्शवान् र नैतिकवान् कर्मचारी कसैको पनि हुँदैन । ऊ साझा व्यक्तित्वका रूपमा अगाडि बढ्छ । झट्ट हेर्दा कसैको पक्षमा नलागी जागिरे जीवनको उन्नति नहुने जस्तो प्रतीत भए पनि अन्त्यमा सत्यकै विजय हुन्छ । मूल कुरा धैर्यवान्, निष्पक्ष र निर्भीक व्यक्तिकै बढुवा या राम्रो स्थानमा सरुवा हुने गर्दछ । अपवादलाई अन्तिम सत्य मान्नुहुँदैन । सच्चा सेवकलाई सबै पदस्थापन उत्तम लाग्छन् । कारण, तलब र पद घट्दैन ।

*** ***

एउटा नीति कथानुसार लास जलाउने काममा खटिएको इमानदार र लगनशील केटो तोकिएको काम उत्कृष्ट ढङ्गले सम्पादन गरेबापत सोझै स्वर्ग पुगेथ्यो रे ! कथानुसार बेरोजगार युवा रोजगारको खोजीमा चारैतिर आँखा घुमाउँदै थियो । लास जलाउने घाटका वृद्ध ठेकेदारसँग उसको आँखा जुध्यो । छोटो अन्तर्वार्तापछि उसले लास जलाउने जागिर पायो । ठेकेदारले भने अनुसार उसले तन, मन, धन लगाएर करिब दुई घण्टामै लासलाई खरानी बनाउन थाल्यो ।

सो घाटका ठेकेदार लास जलाउँदा चुरोट पिउने, वास्ता नगर्ने, यताउता डुलिहिंड्ने गर्दथे । यसबाट एउटा लास जल्न करिब पाँच सात घण्टा लाग्थ्यो । यी सबै लासरुपी आत्माले ती ठेकेदारलाई निकै सराप्थे । ‘छिटो जला आगोले पोल्यो’ भनेर चिच्याउँथे । तिनको आवाज भने सुनिंदैनथ्यो ।

तर, पछिल्ला दिनमा लास दुई घण्टामै खरानी हुँदा खुसी भएका आत्माले युवालाई आशीर्वाद दिए । यही आशीर्वादको सङ्ख्या १० हजार नाघेकाले ती युवा सोझै स्वर्ग जान पाएका थिए भनिन्छ ।

स्वर्ग पुगेका ती इमानदार युवाले देवतासँग प्रश्न गरे, “मैले जीवनमा जिउँदा मानिसको सेवा गर्न सकिनँ । मरेको लासमाथि पनि अत्याचार गरेर आगोको मुस्लो लगाउने काम गरें । डढिरहेको लासमाथि घिउ, दाउरा र पराल थपें । बाँसले घोच्ने काम गरें । यसबापत म दण्डित हुनुपर्ने होइन र ?”

देवताले ती युवालाई सम्झाए, “दुनियाँमा अनेक पेशा छन् । तिमीले लास जलाउने जिम्मेवारी पायौ । त्यसैलाई कुशलतापूर्वक निर्वाह गर्‍यौ । यसैले तिमी पुरस्कृत भयौ ।”

यत्ति कुराको ज्ञानले हामीलाई स्वतः खुसीको मार्ग देखाउँछ ।

*** ***

अर्को नीति कथानुसार एक जना गुरुले आरुना दुई चेलाबीचको धीरता परीक्षण गर्नुपर्ने अवस्था आएछ । त्यसअनुरुप उनले दुवै शिष्यलाई नजिकैको खोलाबाट एक डोकोमा अडिने जत्ति पानी ल्याउन आदेश दिएछन् । दुवै शिष्यले डोकोमा खोलाको पानी उठाउने प्रयास गरे । तर, निरन्तर डोकोमा आएको पानी चुहिने, पोखिने देखेर एउटा शिष्य निराश फर्के । अन्तिममा शिष्य रित्तो डोको लिएर गुरुसमक्ष क्षमा माग्न गए ।

अर्का शिष्यले निरन्तर डोकोबाट पानी उघाइरहे । केही दिनको प्रयासपछि क्रमशः डोकोको प्वाल लेउ, माछा, गिट्टी लगायतले पुरिन थाल्यो । डोकोमा पानी भरिन थाल्यो । सोही पानी लिएर ती शिष्य गुरुसमक्ष पुगे । यसरी पुरस्कृत पनि उनी नै भए ।

ती पानी ल्याउने शिष्यले प्रायः असम्भव लाग्ने डोकोमा पानी ल्याएका थिए ।

यस्ता दृष्टान्तले उच्च प्रशासकलाई तोकिएको कर्तव्य पालनमा दृढ हुन, आफ्नो कर्तव्यबाट विचलित नहुन र निरन्तरको लगनशीलताबाट तोकिएको लक्ष्य हासिल गर्न प्रेरित गर्छ । यस्तै सत्कार्यमा उच्च प्रशासकका सुख र सन्तुष्टि लुकेको हुन्छ ।

लेखकको बारेमा
कृष्णहरि बास्कोटा

कृष्णहरि बास्कोटा सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन् । त्यसअघि नेपाल सरकारका सचिव रहेका उनले अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारी निभाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?