 
																						१० माघ, काभ्रे । तीन दिनदेखि काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा आगो दन्किरहेको छ । गत मंगलबार दिउँसो २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
यही जंगलको करिब दुई सयभन्दा बढी जडिबुटी पहिचान भइसकेका छन् । वन्यजन्तु र वनस्पतिका लागि पनि यो जंगल काभ्रेमा प्रख्यात मानिन्छ ।
के कति वन्यजन्तु र जडिबुटीको क्षति भयो भन्ने विवरण संकलन भइसकेको छैन । अहिलेसम्म करिब १ किलोमिटर क्षेत्र डढेलोबाट सखाप भएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिए ।
‘बस्तीभन्दा दुई घण्टा टाढाको दुरीमा छ । नेपाली सेनाको अहिले स्थलमै छ,’ उनले भने, ‘भोलि जनप्रतिनिधिसहितको हाम्रो टोली पुग्दैछ ।’ डढेलो उकालोतिर लागेको कारणले तत्काल बस्तीमा जाने सम्भावना नभए पनि हावाको बेग फर्किएको खण्डमा आगो बस्तीमा पुग्नसक्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारीबाट नियन्त्रणको प्रयास भइरहेको जानकारी आफूहरूलाई आएको उनले बताए । पैदल हिँडेर आगो लागेको स्थानमा पुगेका स्थानीय पर्यटन व्यवसायी कमल नेपाल तत्काल आगो नियन्त्रणमा आउने नदेखिएको बताउँछन् ।
काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काका अनुसार वन क्षेत्रबाट लगभग ३/४ किलोमिटर दुरीमा बस्ती छ । सोही बस्ती जोगाउनेगरी ‘फायर लाइन’ बनाउने काम बिहीबारबाट भइरहेको खड्का बताउँछिन् ।
यता, आगो नियन्त्रणमा नआएपछि बिहीबार अबेर मात्रै प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा सुरक्षा संयन्त्रको बैठक बसेको थियो ।

बैठकबाट तत्काल आगो नियन्त्रण गर्नेभन्दा पनि अब पर्नसक्ने भवितव्यबारे ध्यान दिने लगायतका मुख्य निर्णय भएका छन् । सदरमुकाम धुलिखेलमा बसेर यस्ता निर्णय लिइरहँदा दुई डाँडापारी दन्किरहेको आगो नियन्त्रणबारे ठोस निर्णय भने देखिँदैन ।
बिहीबारको बैठकले गरेकामध्ये अन्तिम निर्णयमा मात्रै तीन दिनदेखि दन्किरहेको आगोबारे उल्लेख गरिएको छ । जहाँ शुक्रबार (भोलि) बिहान डढेलो फोकल पर्सन चिनकाजी श्रेष्ठको संयोजकत्वमा वन अधिकृत र रेन्जरसहितको टोली घटनास्थलमा परिचालन हुने बताइएको छ । फोकल पर्सन तोकिएका श्रेष्ठलाई नै अहिलेसम्म कति क्षेत्रमा आगलागी भयो भन्नेबारे थाहा छैन ।
‘डढेलोको अवस्था, प्रकृति, क्षति विवरण यकिन गर्दै थप क्षति हुन नदिने पहल गर्ने’ निर्णय लिएको छ ।

‘भोलि फिल्ड गएपछि मात्रै थाहा हुन्छ,’ श्रेष्ठले अनलाइखबरसँग भने, ‘क्षतिको विवरण लिनकै लागि जाँदैछौं । टाढा भएकाले यत्तिकै भन्नुभन्दा पनि भोलि नै अनुगमनपछि मात्रै थाहा होला ।’
बैठकले डढेलो नियन्त्रण सामग्री सम्भव भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, स्थानीय समूहलाई परिचालन गरि फायर लाइन बनाउने, आगामी १८ गते पूर्वतयारी बैठक बस्ने, डढेलो लगाउने व्यक्ति पहिचान गरी कानुनी कारबाही गर्न निर्देशन दिने, डढेलो नियन्त्रण विषयमा प्रचार प्रसार गर्ने, नियन्त्रणका लागि तालिम दिने लगायतका निर्णय लिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भने मानव बस्ती जोगाउनेगरी काम भइरहेको जिकिर गर्छन् ।
नेपाल प्रहरी, नेपाली सेना लगायत परिचालन भइसकेको बताउँदै उनले भने, ‘हामीले सक्ने गरेका छौं । थप टोली पनि परिचालन गरेका छौं । यहाँभन्दा धेरै त माथिबाटै गर्नुपर्छ ।’
उनले नियन्त्रणका लागि हुने खर्चको पनि कुरा निकाले । ‘खर्चका कुरा आउँछन्,कसले बेहोर्ने ?’, सीडीओ ढकालको प्रश्न छ ।




 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4