+
+

प्राणीमाथि अत्याचार : उच्च गर्मीमा बस्ने ऊँटलाई भारी बोकाएर मुक्तिनाथ पुर्‍याइँदै

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ माघ ८ गते २२:३४

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा उदेकलाग्दो भिडियो भाइरल भइरहेको छ । भिडियोमा एउटा ऊँटलाई धेरै भारी बोकाएर पहेंलो वस्त्रधारी दुई जनाले डोर्‍याइरहेका छन् ।

पोखराको लेखनाथस्थित सडकमा देखिएको ऊँटलाई हेर्दा दुई प्रश्न उब्जिन्छ- नेपालमा नपाइने ऊँटलाई कति दिन, कति लामो यात्रा गरेर ल्याइयो ? अर्को, गह्रौं भारी बोकाएर उष्ण मरुभूमिमा बस्ने जनावरलाई पहाडी भूमिमा हिंडाइएको ।

नेपालमा ऊँट पाइँदैन । त्यसैले भारतबाट नेपाल ल्याइएको अनुमान गर्न सकिन्छ । पोखराका स्थानीय सुनिल पौडेलले दुई दिनअघि राजमार्गमा दुई जनाले ऊँट डोर्‍याएर हिंडेको देखिएको बताए ।

‘त्यो ऊँटलाई मुक्तिनाथ पुर्‍याउने उनीहरूले बताएका थिए,’ उनले भने, ‘भारतको राजस्थानबाट ल्याएको भनेको सुनिएको थियो । मैले देख्दा जो व्यक्तिले ऊँटलाई ल्याएका थिए, उनीहरूको सम्पूर्ण सामान ऊँटले बोकेको थियो । उसलाई ल्याउने व्यक्तिलाई ढोगेर अन्य मान्छेले पैसा पनि दिइरहेका थिए ।’

यति लामो यात्रा भारी बोकाएर त्यसमा पनि उसको वातावरण अनुकूल नहुने ठाउँमा ल्याउनु उचित नभएको सुनिलले बताए ।

चरम गर्मी ठाउँमा बस्ने ऊँटलाई मुक्तिनाथ जस्तो हिउँ पर्ने अत्यधिक चिसो ठाउँमा लैजानु उपयुक्त नहुने एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए ।

‘समतल भूमिमा बस्ने जनावरलाई पहाडी बाटोमा हिंड्न गाह्रो हुन्छ । साथै उसको वातावरण र खानपान सबै परिवर्तन हुँदा झन् कठिनाइ हुन्छ,’ उनले भने, ‘पोखराको लेखनाथमा देखिएको ऊँटलाई आज (मंगलबार) दमौलीमा लैजाने कुरा थियो रे । तर त्यहाँ गएको पाइएको छैन ।’ त्यसैले त्यो ऊँट अहिले कता छ भनेर प्रहरीको सहयोगमा आफूले खोजी गरिरहेको उपाध्यायले बताए ।

कुनै पनि जनावरलाई कुटपिट गर्नु मात्र दुर्व्यवहार हैन, अनुकूल नहुने वातावरणमा लैजानु पनि उसमाथि दुर्व्यवहार हुने पशु अधिकारकर्मी विना पन्तले बताइन् ।

‘जसरी कुनै तराईमा बस्ने व्यक्तिलाई हिमालमा बस्न त्यो वातावरणमा घुलमिल हुन गाह्रो हुन्छ । त्यसरी नै जनावरलाई पनि एउटा वातावरणबाट अर्को वातावरण घुलमिल हुन गाह्रो हुन्छ,’ उनले भनिन्, ‘ऊँटलाई पनि अति गर्मीबाट अति चिसो ठाउँमा जान बस्न गाह्रो हुन्छ ।’

ऊँट राजस्थानबाट ल्याएको हो भने उसलाई निकै लामो यात्रा गरेर ल्याइएको हो । समतल भूभागबाट डाँडाकाँडा उकालो ओरालो बाटोमा हिंड्दा पनि ऊँटलाई निकै गाह्रो हुन्छ । त्यसैले त्यो ऊँटलाई मुक्तिनाथसम्म पुर्‍याउनबाट रोक्नुपर्ने पन्त बताउँछिन् ।

जसरी मान्छेका लागि अनुकूल र प्रतिकूल वातावरण भन्ने हुन्छ । त्यस्तै पशुपक्षीको लागि पनि वातावरण प्रतिकूल र अनुकूल हुन्छ । ऊँट उष्ण मरुभूमिमा हुने जनावर हो ।

‘कसैको लहडबाजीमा मुक्तिनाथ पुर्‍याउँछु भन्छ भो त्यो धर्म नभएर अधर्म हो,’ पशुपक्षीप्रति निर्दयता रोकावट समाजका प्रमुख संरक्षक डा. गोविन्द टण्डनले भने ।

उनले अगाडि भने, ‘ऊँटलाई मुक्तिनाथ लैजानु भनेको पशुलाई दु:ख दिइएको हो । यस्तो दु:ख कुनै पनि जनावरलाई  दिनु हुँदैन ।’

ऊँटको खुट्टा पहाडमा हिंड्नका लागि बनेको होइन । उसको शरीर संरचना पनि पहाडमा हिड्न बस्नका लागि बनेको होइन । ‘त्यसैले कसैले त्यसलाई पहाड लैजान्छु भनेर लहडबाजी गर्छ भने त्यसलाई रोक्नुपर्छ,’ टण्डनले भने ।

ऊँट सुक्खा र समतल मरुभूमि क्षेत्रमा पाइने जनावर हो । ऊँट लगभग २१ दिनसम्म पानी बिना बाँच्न सक्छ । त्यसैले मरुभूमि क्षेत्रमा ऊँट पाइन्छ । पहाडी र हिमाली भूमि उसको लागि अनुकूल हुँदैन ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?