+
+

लेखा समितिमा एमाले-माओवादी बाझाबाझ   

बैठकमा माओवादी सांसद लेखनाथ दाहालले भने, ‘अब बोले राम्रो हुँदैन भन्ने शब्द असंसदीय शब्द हो । बोल्न पाउने हाम्रो अधिकार हो । अब बोल्नुभयो भने राम्रो हुँदैन भन्नुभयो । बोल्यो भने के हुन्छ ? कुस्ती खेल्नुहुन्छ ? निकालिदिनुहुन्छ ? ठटाउनुहुन्छ ? मुख बन्द गरिदिनुहुन्छ ?’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ माघ ८ गते २२:३३
बायाँबाट क्रमशः तारा लामा, लेखनाथ दाहाल, योगेश भट्टराई र अमनलाल मोदी ।

८ माघ, काठमाडौं । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरू आमनेसामने भए ।

सरकारबाट हटेपछि नै माओवादीले लेखा समितिको नेतृत्व विपक्षी दललाई दिन माग गर्दै आएको छ । प्रतिवादमा एमालेले विगतमा माओवादी केन्द्र समेतले लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने परम्परा तोडेको तर्क गर्दै आएको छ । यही तर्क दुवै पक्षले मंगलबार पनि समितिको बैठकमा गरे ।

एमालेका सांसद तारा लामा ‘बारम्बार समितिमा सभापतिको विषय उठाइएको’ भनेर कड्किए । त्यसपछि दुवै दलका सांसदहरू आमनेसामने भएका हुन् ।

‘जहिले पनि त्यही कुरो गर्‍या छ, जहिले पनि त्यही कुरो गर्‍या छ । बैठक सुरु भएदेखि अन्तिमसम्म त्यही कुरो गर्‍या छ,’ लामा कड्किए, ‘हामीले भोट गरेर ऋषिजीलाई ल्याएका हौं र ?’

लामाभन्दा अगाडि बोलेका माओवादीका सांसदहरू जनार्दन शर्मा, लेखनाथ दाहाल र अमनलाल मोदीले लेखा समितिको नेतृत्व सरकारको नेतृत्वकर्ता दलले राख्न नहुने भनेर राजीनामा मागेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पनि संसदीय अभ्यासमा लेखा समितिको नेतृत्व विपक्षी दलको सांसदले गर्नुपर्ने भन्दै समिति सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन सुझाएका थिए ।

समिति सभापतिको राजीनामाको विषय निरन्तर उठिरहेका बेला बोलेका एमाले सांसद लामाले संसदीय विषयगत समितिको सभापति बनाउँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बसेर सहमति गरेको स्मरण गरे । लेखा समितिको सभापति फेर्ने भए फेरि शीर्ष तहमै सहमति हुनुपर्ने बताए ।

‘डेलिगेसन जाऔं न प्रचण्ड जी कहाँ, प्रधानमन्त्री कहाँ जाऔं, शेरबहादुरजी कहाँ जाऔं । रविजी कहाँ पनि जाऔं । लिङ्देनजी कहाँ पनि जाऔं । सबैकहाँ जाऔं । समितिको सभापति फेरौं भनेर माधव नेपालजी कहाँ पनि जाऔं,’ लामाले भने ।

शीर्ष नेताहरूसँग कुरा गर्न नसक्ने तर, प्रत्येक बैठकमा सभापतिको राजीनामा मागिरहने प्रवृत्ति उचित नरहेको भन्दै उनले आगामी बैठकमा सभापतिको विषय नउठाउन विपक्षी दलका सांसदहरूलाई आग्रह गरे ।

‘जहिले पनि त्यही भनेको छ भनेको छ । मान्छेलाई एकदमै टाँसिएर बसिराखेको जस्तो गर्न भएन । बोल्न पाएपछि खाली त्यही बोलेको छ । यो मलाई ठिक लागेन,’ उनले भने ।

लेखा समितिको आगामी बैठकमा फेरि पनि उस्तै प्रवृत्ति दोहोरिए राम्रो नहुने भनेर एमाले सांसद लामाले कडिकडाउ भाषा प्रयोग गरे । त्यसपछि एमाले र माओवादी सांसदहरू समितिमा सवालजवाफमै उत्रिए ।

‘खाली यो बोल्या छ, बोल्या छ, त्यसैमा बोल्या छ, बोल्या छ । अनि यसो हेर्‍यो बोलिसकेर हिँड्या छ । अबदेखि यस्तो गरियो भने त्यति राम्रो चाहिँ हुँदैन है,’ एमाले सांसद लामाले भने ।

लगत्तै माओवादी सांसद लेखनाथ दाहालले आपत्ति जनाए । ‘माननीय सभापतिज्यू, अबदेखि बोलियो भने राम्रो हुँदैन है भनेको भाषा अलि बुझिएन है,’ दाहालले सभापतिको ध्यानाकर्षण गरे ।

‘तपाईंले जे बुझ्दा पनि हुन्छ’ लामाले जवाफ फर्काए ।

‘अब बोले राम्रो हुँदैन भन्ने शब्द असंसदीय शब्द हो । बोल्न पाउने हाम्रो अधिकार हो,’ दाहालले भने, ‘अब बोल्नुभयो भने राम्रो हुँदैन भन्नुभयो । बोल्यो भने के हुन्छ ? कुस्ती खेल्नुहुन्छ ? निकालिदिनुहुन्छ ? ठटाउनुहुन्छ ? मुख बन्द गरिदिनुहुन्छ ?’

मंगलबार बसेको लेखा समिति बैठक ।

एमाले सांसद लामा पनि रोकिएनन्, ‘के-के गर्नुहुन्छ, के-के गरेर आएको तपाईंहरू हो ।’

माओवादी सांसद दाहालले समिति सभापतिको ध्यानाकर्षण गरे, ‘उहाँको असंसदीय भाषा हो ।’

एमाले सांसद लामाले बोलेको भाषा असंसदीय रहेको भनेर समिति सभापति पोखरेलको ध्यनाकर्षण गरेपछि सभापति नजिकै रहेका एमाले सचिव समेत रहेका योगेश भट्टराई प्रतिवादमा उत्रिए ।

‘केही असंसदीय भाषा छैन सभापतिज्यू,’ भट्टराईले भने ।

भट्टराईले लामाको भाषा असंसदीय नरहेको भनेर बचाउ गरेपछि दाहालले असंसदीय नै रहेको दोहोर्‍याउँदै भने, ‘सभापतिज्यू उहाँको भाषा रेकर्डबाट हटाइनुपर्छ ।’

पार्टीका सांसदको भाषा असंदीय रहेको र हटाउनुपर्ने माग नै उठेपछि योगेश पनि कड्किए, ‘के असंसदीय ? राम्रो हुँदैन भन्ने भाषा कसरी असंसदीय ?’

दाहाल भट्टराईसँगै सवालजवाफमा उत्रिए । ‘अमर्यादित कुरा गरेपछि के गर्नुपर्ने हो ?’ दाहालले प्रश्न गरे ।

समितिमा नेताहरूबीच सवालजवाफ हुन थालेपछि एमाले सांसद लामा पनि बीच बीचमा बोल्न थाले ।

‘मैले कसैलाई इङ्‍गित गरेर बोल्या छैन । कसको खुट्टा काट्छु भन्दा कल्ले खुट्टा तान्या थियो भन्या जस्तो नगर्नु न’ एमाले सांसद लामाले भने ।

त्यसपछि माओवादी सांसद दाहालले आफूहरूलाई नधम्क्याउन चेतावनी दिए । ‘जे भएनि हामीलाई धम्क्याउने भाषा नबोल्नुस् । मर्यादित भाषा बोल्नुस्,’ दाहालले भने ।

एमाले सांसद लामाले आफूले व्यक्ति केन्द्रित कसैलाई नगरेको दोहोर्‍याए ।

‘तपाईं मात्रै हुनुहुन्छ त यो समितिमा ? म पनि छु । मैले आफैंलाई पनि भनेको हुन सक्छु । जहिले पनि त्यही कुरा गर्‍या छ, गर्‍या छ । जम्मै आजै छलफल गरौं न ।’

समिति सभापतिको राजीनामाको विषयमा अनौपचारिक रूपमा पहल गर्न सकिनेमा औपचारिक बैठकमा राखेकोमा आफूलाई चित्त नबुझेको पनि एमाले सांसद लामाले बताए ।

‘अनौपचारिक पनि कुरो गर्न सकिन्छ । अनौपचारिक गफ गर्दा अंगालो मार्दै हिंड्ने तपाईंहरू, यहाँ चाहिँ भाइरल बन्नका लागि बोल्ने ? यो भाइरल बन्ने ठाउँ हो ?’ उनले भने ।

समितिमा जे जस्ता विषयमा छलफल भएता पनि छलफलको विषयमा मात्रै केन्द्रित हुनुपर्छ भन्ने आफ्नो मनसाय रहेको सांसद लामाले बताए ।

संसदीय समितिको बैठकमा पत्रकारहरू भएकाले कारणले पनि सांसदहरू भाइरल हुनका लागि मात्रै बोल्ने प्रवृत्ति बढेको भन्दै उनले यसमा समेत समीक्षा गर्न आवश्यक रहेको बताए । उनले भने, ‘बैठकमा एजेन्डा सुनाउने र निर्णय सुनाउने बेलामा मात्रै पत्रकारहरू राख्नुपर्‍यो । जे पनि बोल्या छ । भाइरल बन्न बोल्या छ । यसले के हाम्रो मर्यादा बढिरहेको छ ?’

जे विषयमा छलफल गर्न बैठक राखिएको हो त्यही विषयमा सांसदहरूले धारणा राख्नुपर्ने भनेर एमाले सांसद लामाले पटक–पटक दोहोर्‍याए । ‘बैठक विषयमा चल्नु पर्‍यो नि । कसैलाई इङ्‍गित गरिराख्नका लागि यो बैठक होइन,’ लामाले भने, ‘खाली सभापतिलाई हान्या छ, बोल्या छ । आफ्नो सभापतिलाई आन्दा आफैँलाई हानेको जस्तो फिल गर्नुपर्दैन ?’

सभापतिको विषयलाई लिएर समितिमा विवाद लम्बियो । त्यसबीचमा कांग्रेसका सांसद देवप्रकाश तिमिल्सना बोले । उनले लेखा समिति सभापति भएपछि नछाड्ने प्रवृति रहेको भनेर यससम्बन्धी प्रष्ट कानुनी व्यवस्थाकै आवश्यकता औंल्याए ।

‘अब एउटै काम गर्नुपर्‍यो । प्रतिपक्षी जो हुन्छ त्यसको लेखा समितिको सभापति हुने भनौं । घण्टा घण्टामा सरकार चेन्ज भए सभापति पनि घण्टा घण्टामा चेन्ज हुन्छ । यसमा लामो कुरा नगरौं,’ उनले भने ।

कानुनी रूपमै सम्बोधन गरिए दीर्घकालीन समानधान हुन सक्ने उनले बताए । ‘कानुन बनाएपछि झगडै गर्नुपरेन । एउटाले विगत लामो समयसम्म बैठक नै बहिष्कार गर्‍यो । यसकारण लेखिदिएपछि सरकार जतिबेला चेन्ज हुन्छ त्यसको भोलिपल्टै हामी लेखा समिति सभापति चेन्ज गरिदिइहाल्छौं । अनि यो विवाद गर्नै परेन,’ तिमिल्सिनाले भने ।

आफूले उठाएको विषय अन्यत्रै मोड्न खोजिएको भन्दै माओवादी सांसद अमनलाल मोदी अघि सरे । शीर्ष नेताहरूबीच सहमति भएर संसदीय विषयगत समितिका सभापति चयन गर्दा एमाले प्रतिपक्षमा रहेकोले लेखा समितिको सभापति लिएको ख्याल गर्न सुझाए ।

‘जतिखेर समितिका सभापति बाँडफाँट भए त्यतिखेर लेखा समितिको सभापति नै एमालेलाई किन दिइयो ? अरू समिति पनि दिँदा हुन्थ्यो होला । प्रतिपक्ष दल भनेकैले दिएको हो नि,’ सांसद मोदीले भने ।

समिति सभापति पोखरेलले सांसद मोदीलाई रोक्न खोजे । ‘तपाईंलाई केही भनेको छैन्’ भन्दै मोदी बोलिरहे ।

‘संसद भनेको प्रतिपक्षको हो । अनि संसदको प्रतिपक्षको साथीहरू बोल्दा धम्की दिन मिल्छ ? खोजेकै हो भन्न मिल्ने ?’ सांसद मोदीले दोहोर्‍याए, ‘मानीय दुई जना बोल्नुभयो, माननीय योगेश भट्टराईले भन्नुभयो । खोजेकै हो भन्न मिल्छ त्यस्तो धम्की ? यो संसद धम्की दिने ठाउँ हो ?’

संसदमा सबै सदस्यले आफ्नो विषय राख्न पाउने र राख्दा संसदीय र मर्यादित हुनुपर्ने उनले बताए । उनले भने, ‘कसैले बोल्दा गल्ति भएको महसुस गरेमा नियमापत्ति गर्न पाउँछ । नियमापत्ति गर्दा धम्की दिन मिल्छ ?’

माओवादी ३२ सिटको पार्टी हो भनेर नधम्क्याउन उनले आग्रह गरे । ‘अहिले हामी ३२ सिटका छौं । अर्को २० सिटको प्रतिपक्षमा छ । अरू प्रतिपक्षमा छन् । यिनलाई धम्की दिन मिल्छ ? कुस्ती खेल्न आउने ? यो कुरा हुन्छ संसदमा ?’

एउटा सांसदले असंसदीय शब्द बोलेको भनेर नियमापत्ति गर्दा त्यसको विरोधमा गलत पक्षकै बचाउ गर्ने भन्दै उनले योगेश भट्टराईलाई इङ्‍गित गर्दै भने, ‘हो-हो भन्ने ? यदि यस्तो हुन्छ भने यसलाई किमार्थ स्वीकारिँदैन ।’

धेरथोर संसदको इतिहास आफूहरूलाई समेत जानकारीमा रहेको उनले बताए । सबैले आ–आफ्नो इतिहास खोज्न पनि उनको आग्रह छ ।

‘कोही भोलि तपाईंहरू पनि प्रतिपक्षमा जाला । कोही कम सिटमा पुग्ला । अर्को पार्टी कम सिट होला । अनि कम सिट भएका बेलामा पेल्ने ? यही बेला हो मौका भन्ने ?,’ उनले भने ।

चुनावमा जनताले गरेको फैसला अनुसार सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र यसका लागि तयार रहनुपर्ने उनको आग्रह छ । सांसद मोदीले अगाडि भने, ‘जनताको फैसला ठिक छ, पार्टी ठूलो र सानो हुन्छ । अहिले तपाईंहरूको संख्या छ, संख्या छ भनेर संसदमा बोल्न लगाम लगाउन पाइँदैन ।’

बोल्नमै लगाम लगाएको भनेपछि समिति सभापति पोखरेलले आफूबाट त्यस्तो नभएको बताए ।

‘माननीयज्यूहरू मलाई लागेको अचम्म, सायदै सबै समितिहरूमध्ये सिंगो संसदमध्ये लेखा समिति नै होला मनलागे जति बोल्न दिइएको छ,’ सभापति पोखरेलले भने ।

माओवादी सांसद मोदीले प्रतिवाद गरिहाले, ‘तपाईंलाई भनेकै छैन । तपाईंको विषयमा यो भनिएको हो र ?’

सभापति पोखरेलले आफ्नो कुरा राखिरहे, ‘यहाँ न समयको लगाम छ । न कसैलाई दोहोर्‍याइ, दोहोर्‍याइ, तेहोर्‍याइ, तेहेर्‍याइ बोल्न रोकिएको छ ।’

माओवादी सांसदहरूले सभापति फरक विषयमा बोल्न पुगेको भनेर आपत्ति जनाए । त्यसपछि सभापति पोखरेलले समितिको बैठकमा पनि सबै सदस्यहरूले आफूलाई लागेको विषय राख्न पाउने अधिकार सुरक्षित रहेको बताए ।

‘खोजेकै हो भन्न मिल्छ त सभापतिज्यू’ मोदीले फेरि प्रश्न गरे । सभापति पोखरेलले जवाफ फर्काए, ‘यदि त्यस्तो बुझियो र कसैले भनियो भने पनि त्यो हुँदैन ।’

माओवादी सांसद मोदीले ‘भनेको सुन्नु भएन ?’ भनेर सोधे । सभापति पोखरेलले उहाँ (तारा लामा र योगेश भट्टराई) ले भनेको होइन भनिसक्नुभयो’ भनेर वातावरण सहज बनाए ।

एमाले सांसद गोकुल बास्कोटाले बुझाइमा फरक परेको बताए ।

‘धम्क्क्याएको, सम्क्याएको भन्ने कुरा केही पनि होइन । धम्क्याएको हो ? भन्दाखेरि धम्क्याएको हो भनिएको भनिए जस्तै शब्द परेको हो, बाँकी के परेको हो ? बुझाइको फरक पर्‍यो । कानको कुरा फरक पर्‍यो क्या । बोल्दा अलिकति चर्को भयो त्यस्तो (धम्क्याएको) नठानौं न,’ बास्कोटाले भने ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?