+
+
गणितज्ञ श्रीराम खड्कासँग वार्ता :

‘गणित बुझाइको भाष्य बदल्न आवश्यक छ’

गणित विषय कठिन भएर होइन, कठिन छ, पढ्न सकिंदैन भन्ने जस्ता गलत भाष्य बनाइएको गणितमा नै धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते २२:१६

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् ।

सही ढंगले बुझाउन नसक्दाको परिणाम विद्यालयमा धेरै अनुत्तीर्ण दर गणितमै हुने गरेको अनुभव संगालेका डा. खड्कासँग गणितमै केन्द्रित भएर अनलाइनखबरका संवाददाता दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश : 

गणित भनेको के हो ?

गणितबारे दुईवटा अवधारणा छन् । एउटा, फर्मुलाको संकलन हो, जुन फर्मुला घोक्नुपर्छ । त्यसैसँग सम्बन्धित प्रश्न सोध्नुपर्छ उत्तर दिनुपर्छ भन्ने अवधारणा । मरो विचारमा यो एकाङ्की कुरा हो । अर्को, तपाईंमा रहेको जिज्ञासा र विवेकीय धारणाको बीचमा जस्तो छलफल हुन्छ त्यो व्यवस्थित छलफल गणित हो । हामीसँग वैज्ञाननिक तर्क प्रणाली छ । त्यसैले गणित भनेको विज्ञानको पनि भाषा हो ।

गणित किन पढ्ने ?

गणित हरेक क्षेत्रमा आवश्यक पर्ने विषय हो । पाश्चत्य ज्ञान, पूर्वीय ज्ञान, आधुनानिक ज्ञान, परम्परागत ज्ञान, अध्यात्मिक ज्ञान, भौतिक ज्ञान जुनसुकैको पनि जीवन र जगतको बोध गर्ने र भोग गर्ने उद्देश्य हुन्छ । त्यसैले बोध गर्न वा भोग गर्न पनि गणित विषयलाई रामोसँग बुझ्न अवलोकन गर्न जरुरी छ । यो काम गणितबाट हुन्छ । जस्तैः मोबाइल कसरी बन्छ भनेर बोध गर्नुछ, बनाएर भोग पनि गर्नु छ, हो यो गणित हो ।

त्यसो भए, गणितसँग किन डराउँछन् विद्यार्थी ?

गणित गाह्रो छ, पढ्न सकिँदैन भनेर हल्ला गरियो, हाउगुजी फैलाइयो । यसमा गणितका शिक्षकको पनि कमजोरी छ । गणितका अध्यताले बोल्दा सिम्बोलमा बोल्यौं । फर्मुलाको डंगुर हो भनेर प्रस्तुत गर्‍यौं । जसका कारण गणित गाह्रो हो भन्ने भाष्यको विकास भयो ।

गलत भाष्यका कारण पाठ्यक्रम र पाठ्यपुस्तकमा पनि समस्या आयो । जसका कारण विद्यालयमा धेरै अनुत्तीर्ण दर गणितमै देखियो । गणितलाई सही ढंगले बुझाउन नसकेर यो समस्या आएको हो विद्यार्थीलाई बुझाउन नसक्नु शिक्षकको कमजोरी हो ।

सुधार गर्ने दायित्त्व तपाईंहरूको होइन र ?

हो, पाठ्यक्रम, पाठ्यपुस्तक र पढाउने विधिमा सुधार गर्ने प्रमुख दायित्त्व शिक्षकको हो । त्यसैले गणित समाजले ‘सोसाइटी टु सोसाइटी’ कार्यक्रम सुरु गरेको छ । हुनतः गणित शिक्षकको नै अभाव छ । त्यसैले सोसाइटी टु सोसाइटी कार्यक्रमले सातवटै प्रदेशमा गणितका प्रशिक्षक उत्पादन गरेको छ ।

उहाँहरूबाट पाँचवटा प्रदेशमा तालिम सकिएको छ । अब दुईवटामा बाँकी छ । त्यति मात्र होइन, यो अभियानलाई जिल्ला र पालिकास्तरमा विकास गर्ने योजना छ । विद्यालय तहको शिक्षा पालिकामा छ । त्यसैले पालिकासँगको सहकार्यलाई अगाडि सारेका छौँ । गणितबारे जसरी गलत अवधारणाको विकास भएको छ । यसलाई चिर्न हामी लागिपरेका छौँ ।

‘यथार्तमा रहेर बुझ्ने गरी व्याख्या गरेर पढाउन सक्नुपर्छ । यसका लागि पाठ्यक्रम, पाठ्यपुस्तक र मूल्याङ्न समय अनुसार लैजानुपर्छ ।’

कसरी पढायो भने गणित सजिलो हुन्छ त ?

गणित यथार्थ अवस्थामा पढाउनुपर्छ । गणितीय सुत्र समीकरणबाट पढाउन सुरु गर्‍यो भने अलमल हुन्छ । सुरुमै सुत्र र समीकरणबाट पढाउँदा समस्या आएको हो । सानो तहदेखि व्यवस्थित ढंगबाट पढायो भने सहज र सजिलो हुन्छ । अनि हामीले दिने जवाफ सर्वसाधारणले पनि बुझ्ने हुनुपर्छ ।

यथार्तमा रहेर बुझ्ने गरी व्याख्या गरेर पढाउन सक्नुपर्छ । यसका लागि पाठ्यक्रम, पाठ्यपुस्तक र मूल्याङ्न समय अनुसार लैजानुपर्छ ।

गणित पढाउने शिक्षकको अभाव छ र ?

वास्तवमै पछिल्लो समय गणितका शिक्षक पाउन गाह्रो भएको छ । विद्यालयहरूले १० औँ पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाएको छैन । यसको मुख्य कारण भनेको उच्च शिक्षामा न्यून विद्यार्थी प्रवेश गर्नु हो । त्यसैले गणित शिक्षकको चरम अभाव भएको छ ।

गणितका शिक्षक नपाएपछि इन्जिनियरिङले धानेको अवस्था छ । विद्यार्थीलाई गणित पढ्न प्रेरित गर्नुपर्ने अवस्था आएको छ । गणित पढ्ने विद्यार्थी नभएपछि शिक्षक कसरी उत्पादन हुन्छ ? अर्कोतर्फ शिक्षकको सेवा सुरक्षा पनि राम्रो छैन । सेवा गरिरहेका शिक्षकलाई र सेवापछि पनि राज्यले हेर्नुपर्छ ।

देशको समृद्धिको एउटा फ्याक्टर गणित हो । कुनै पनि देशको समृद्धिका लागि साइन्स, टेक्नोलोजी र इन्जिनियरिङमा ३५ प्रतिशत विद्यार्थी हुनुपर्छ भनिन्छ, नेपालमा १७ प्रतिशत मात्र छ ।

गणित पढेर कस्तो अवसर मिल्छ ?

नेपाल जस्तो देशमा गणित पढेपछि अवसरको कमी छ । तर, विदेशमा इन्जिनियरिङको भन्दा पनि गणित पढेका क्षमतावान हुन्छन् भन्ने छ । यसको अर्थ इन्जिनियरिङ कमजोर भनेको होइन । जस्तै-जर्मनमा इन्जिनियरिङ पढेकोभन्दा गणित पढेकामा क्षमता बढी हुन्छ भनिन्छ ।

किनभने, इन्जिनियरिङ पढेकालाई के भन्ने उत्तर थाहा हुन्छ । तर, गणित पढेकालाई के र किन भन्ने अवधारणा थाहा हुन्छ । मुख्यतः गणितको अवसरको क्षेत्र भनेको शिक्षण र रिसर्च हो । उद्योगमा पनि गणित आवश्यक छ । उद्योगको समस्या गणितीय सीपको आधारमा समाधान गर्नुपर्छ । त्यसैगरी, प्रविधिको क्षेत्रमा पनि गणित नभई हुँदैन ।

गणित समाज के हो ? यसले के काम गर्छ ?

गणित समाज २०३५ सालमा त्रिविको गणितका प्राध्यापकले खोलेको गणितको क्षेत्रमा अध्ययन अध्यापन र अनुसन्धानमा प्रवद्र्धन गर्ने गैरनाफामुलक संस्था हो । यसमा गणितका विज्ञहरू मात्र सदस्य हुन्छन् । जसमा अहिले एक हजार २ सय २० सदस्य हुनुहुन्छ । विदेशी विश्वविद्यालययमा समेत कार्यरत गणितका विज्ञहरू हुनुहुन्छ ।

यसले के कस्ता काम गरिरहेको छ ?

गणित समाजले अहिले ‘सोसाइटी टु सोसाइटी’ कार्यक्रम थालेको छ । पालिका, शिक्षक, विद्यार्थी संघसंगठन, प्याब्सन, एनप्याब्सन लगायत शिक्षाको सरोकार राख्ने क्षेत्रसँग सहकार्य गरेको छ

जनसाधरणका बीचमा गणितको जुन धारणा बनेको छ त्यो सकारात्मक छैन । गणित महत्त्वपूर्ण हो भने पनि सिक्न सिकाउन सजिलो होइन भन्ने जब्बर धाराणा छ । त्यसैले गणित सरल सहज हो भन्ने वकालत पनि हामीले गरिरहेका छौँ ।

उद्योगको समस्या गणितीय सीपको आधारमा समाधान गर्नुपर्छ । त्यसैगरी, प्रविधिको क्षेत्रमा पनि गणित नभई हुँदैन ।

गणित समाजले पाठ्यक्रम परिमार्जन र शिक्षकको क्षमता अभिवृद्धिमा सहयोग गरेको छ । कक्षा ९ देखि १२ सम्मका गणितका पाठ्यक्रममा हेरफेरमा भूमिका निभाएका छौँ । गणित विषयका शिक्षकलाई पर्याप्त ज्ञान बढाउन आवश्यक छ । कक्षामा कुन विधिबाट कसरी पढाउने, गणितीय भाषा कसरी प्रयोग गर्ने भनेर शिक्षकको क्षमता विकासमा समाजले काम गरेको छ ।

गणित समाजले नयाँ नेतृत्व चयन गर्दै छ । यसपटक तपाईंको पनि सभापतिमा दाबी हो ?

गुरुको प्ररणाले गणितमा रुचि बढ्दै गयो । पीएचडी पनि गरियो । २०६० देखि नेपाल गणित समाजको कार्यसमितिमा रहर गरेँ । ०६३ देखि ०६६ सम्म कोषाध्यक्ष र ०७९ देखि ०८१ सम्म उपसभापति भएर काम गरेको अनुभव छ । माघ १९ गते नेतृत्व चयन हुँदैछ ।  त्यसैले सभापतिको उम्मेदवारीमा जाहेर गरेको छु ।

सभापतिमा तपाईंको दाबी किन ?

गणितको विषयमा एकखालको समस्या देखिएको छ । जनमानसमा गणित सम्बन्धि गलत धारणा बनेको छ । विद्यार्थी अनुत्तीर्ण हुने समस्या छ । उच्च शिक्षामा न्यून विद्यार्थी प्रवेशको अवस्था छ । यी समस्यालाई समाधानको प्रयास गर्न सभापतिमा मेरो दावेदारी हो । सोसाइटी टु सोसाइटी कार्यक्रमलाई विस्तार गर्नुछ ।

‘टक टु स्टुडेन्ट’ अभियान पनि चलाउन आवश्यक छ । त्यो भनेको गणितीय अवधारणाको विषयमा विद्यार्थीसँग बोल्नुपर्छ छलफल गर्नुपर्छ भन्ने हो । गणितका विषयमा दुई तीन मिनेटको भिडियो बनाएर प्रवाह गर्न सकिन्छ ।

यसले गर्दा विद्यार्थीलाई गणित बुझ्न सजिलो हुन्छ । सरकारी र निजी क्षेत्रका गणितका शिक्षकको सेवा र सुरक्षामा पैवरी गर्नुपर्ने छ । युवा विदेश पलायन ठूलो समस्या छ । यसलाई रोक्नुपर्ने छ । त्यसैले सभापतिमा आकांक्षा राखेको हुँ । तर, सबैसँग छलफल गरेर मात्र निर्णय गर्छु ।

नेपाल गणितमा कहाँ छ ?

हामी धेरै पछाडि छौँ । कुनै पनि देशको समृद्धिका लागि साइन्स टेक्नोलोजी इन्जिनियरिङ ‘स्टेम’मा ३५ प्रतिशत विद्यार्थी हुनुपर्छ । तर, नेपालमा १७ प्रतिशत छ । यो न्यूनतम हो । माथि लैजान गणित र गणितीय अवधारणामा आधारित अध्ययन अनुसन्धानमा प्रोत्सान गर्नुपर्छ ।

देशको समृद्धिको एउटा फ्याक्टर गणित हो । त्यसैले गणित समाजमा भएको रिसोर्स प्रयोग गर्न नास्टलाई पनि अनुरोध गरेका छौँ । हामी जस्ता २० वटा संस्थालाई ५० लाखको कार्यक्रम भयो भने ३ करोडको काम फिर्ता गर्न सक्छौं । यो शिक्षा मन्त्रालयले पनि गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?