
२० माघ, काठमाडौं । अमेरिकाले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ (शुल्क) लगाएका छन् ।
ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको हो ।
उक्त निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू भएको छ । ओभल अफिसमा मिडिया ब्रिफिङको क्रममा ट्रम्पले सो जानकारी दिएका हुन् ।
ट्रम्पले यो पनि भनेका छन् कि चीन, क्यानडा र मेक्सिको यो ट्यारिफबाट बच्नका लागि केही गर्न सक्दैनन् ।
ट्रम्पले शुल्क बढाउने निर्णयबारे जानकारी दिँदै भनेका छन्, ‘ट्यारिफ मुद्रास्फीतिको कारण बन्दैन, बरु सफलताको कारण बन्छ ।’
ट्यारिफ के हो ?
ट्यारिफ (शुल्क) र ट्याक्स (कर) उस्तै उस्तै जस्तो लाग्छ । दुवैले सरकारी राजश्व बढाउन मद्दत गर्छन् । तर यी फरक फरक हुन् । ट्यारिफ आयातित वा निर्यात गरिने सामानहरुमा लगाइने शुल्क हो । प्राय विदेशी उत्पादनलाई कम प्रतिस्पर्धी बनाएर व्यापारलाई प्राभाव पार्न यसको प्रयोग गरिन्छ । कर भने राजस्वमा दाखिल हुने गरी व्यक्ति र कम्पनीले सरोकारवालाई कार्यालयलाई अनिवार्य बुझाउनुपर्ने विभिन्न प्रकारको रकम हो ।
‘Tariffs don’t cause inflation, they cause success’: US President Donald Trump announced he will implement tariffs of 25% on Canadian and Mexican imports and 10% on Chinese goods https://t.co/CmMymOoDlQ pic.twitter.com/GD4qt4k0ok
— Reuters (@Reuters) February 1, 2025
ट्रम्पले अहिले लगाएको शुल्क चीन, क्यानडा र मेक्सिकोबाट अमेरिकामा आयात हुने वस्तुका लागि हो । शुल्क वृद्धि हुँदा ती देशबाट आयात हुने वस्तुको उपभोक्ता मूल्य पनि बढ्छ । विदेशी वस्तुको मूल्य बढ्दा उपभोक्ताले तुलनात्मक रुपमा सस्तो स्वदेशी वस्तु रोज्ने विश्वास गरिन्छ ।
मिडिया ब्रिफिङको क्रममा ट्रम्पले अझै बढी ट्यारिफ लगाउने बताएका छन् । फेब्रुअरीको मध्यतिर तेल र प्राकृतिक ग्याँसमा पनि अझै बढी ट्यारिफ लगाउने बताएका छन् ।
अमेरिकाले चीन, मेक्सिको र क्यानडाबाट आयात गर्ने प्रमुख वस्तुहरू यी हुन्
चीनबाट अमेरिकाले मोबाइल फोन, ल्यापटप, ट्याब्लेट, टेलिभिजन लगायत विद्युतीय उपकरण, औद्योगिक मेशिनहरू, फर्निचर र घरायसी सामान, रेडिमेड कपडा र जुत्ताचप्पल तथा प्लास्टिकका खेलौना, गिफ्ट आइटमहरू आयात गर्दछ ।
मेक्सिकोबाट कार, ट्रक, अटोमोबाइल पाट्र्स, टेलिभिजन, मेडिकल उपकरण, एभोकाडो, टमाटर, मदिरा तथा कच्चा तेल र प्राकृतिक ग्याँस अमेरिकाले आयात गर्दछ ।
क्यानडाबाट खनिज इन्धन, प्राकृतिक ग्यास, फलाम, स्टिल, एल्युमिनियम, गहुँ, मासु, डेरी उत्पादन, कार, ट्रक, अटोमोबाइल पाट्र्स, काठ र कागज अमेरिकाले आयात गर्ने प्रमुख वस्तु हुन् ।
ह्वाइटहाउसले क्यानडाबाट आयात गर्ने ऊर्जा संशाधन भने अपवाद हुने जनाएको छ । उसका अनुसार क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र तेलमा १० प्रतिशतभन्दा कम ट्यारिफ हुने जनाएको छ ।
प्रतिक्रिया 4