+
+

हरायो हिउँदे झरी, बढे ताता वर्ष

‘गण्डकी पूर्वको भूभागमा दुई दशकदेखि हिउँदे झरी छैन । यो चिन्ताको विषय हो ।’

विनोद घिमिरे विनोद घिमिरे
२०८१ माघ १० गते ९:०९
हिउँदमा खुलेको आकाश, मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको माझिटार-बसन्तपुर सडक र सुक्खा जमिन ।

१० माघ, काठमाडौं । यस वर्षको हिउँद पनि अघिल्ला वर्षहरुजस्तै बढी न्यानो र बढी सुक्खा भएको छ । लगातारका हिउँदमा देखिएको खडेरीले पानीको स्रोत र कृषि उत्पादन घटाउने तथा प्रदूषण र डढेलोको प्रकोप बढाउने विज्ञहरु बताउँछन् । यसबाट समग्र खाद्य चक्र नै बदलिने चिन्ता छ ।

हिउँदयाम भनेर (डिसेम्बर, जनवरी र फेब्रुअरी अर्थात् १५ मंसिरदेखि १५ फागुनसम्म)को अवधिलाई बुझिन्छ ।

मौसमविद डा. विनोद पोखरेलका अनुसार सन् २०२१, २०२४ र २०२५ का हिउँद सुक्खा भएका छन् । सन् २०२३ को हिउँद पनि सुक्खा नै थियो तर अरु वर्षभन्दा तुलनात्मक रुपमा कम थियो ।

लगातारको सुक्खा हिउँद

यस वर्षको २१ जनवरीसम्म जम्मा ५.३ मिलिमिटर मात्रै पानी परेको छ । यो सरदरको ९ प्रतिशत मात्रै हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँद अवधिमा नेपालमा सरदर ६० मिलिमिटर पानी पर्ने गर्दछ ।

अघिल्लो वर्ष (सन् २०२४) को हिउँद ३० वर्षयताकै कम पानी परेको हिउँदका रुपमा दर्ज छ । यस वर्ष (सन् २०२५)को हिउँद पनि सुक्खा नै भएको छ । अधिकांश स्थानमा सामान्यभन्दा ६० प्रतिशत बढी सुक्खा देखिएको विज्ञहरु बताउँछन् ।

जलवाष्पयुक्त पश्चिमी वायु र न्यून चापीय प्रणालीले पानी पार्ने हो । तर अहिलेसम्म हिउँदमा तीन पटक मात्र यस्तो प्रणाली नेपाल भित्रिएको छ । त्यो पनि एकदमै कमजोर भएकाले पश्चिम पहाडी भूभागमा मात्र सीमित रह्यो । कम पानी पर्दा पनि जाडो कम र सुक्खा भएको मौसमविदहरु बताउँछन् ।

‘हिउँद आफैंमा कम पानी पर्ने समय हो’ जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईंले भने,’ यस वर्ष एकदमै ड्राई (सुक्खा) भयो । पोहोर, परारको हिउँद पनि ड्राई थियो ।’

त्यसो त पछिल्ला प्राय सबै वर्ष (सन् २०२०बाहेक)का हिउँद सुक्खा छन् । ‘सन् १९९८ देखि नै ड्राई देखिन्छ । सन् २०२० भने हिउँदमा सबैभन्दा बढी पानी परेको वर्ष हो,’ मौसमविद हुमागाईंले भने ।

यस वर्षको हिउँदमा पश्चिमी पहाडी भागहरुमा मात्रै हल्का वर्षा भएको छ । काठमाडौं उपत्कासहित तराई मधेशका भूभागहरू सुक्खा छन् । काठमाडौंमा त यस वर्षको हिउँदमा अहिलेसम्म एक मिलिमिटर पनि वर्षा रेकर्ड नभएको मौसमविद हुमागाईं बताउँछन् ।

विभागको तथ्यांकअनुसार सन् १९९१ देखि सन् २०२० सम्म १ डिसेम्बरदेखि १८ जनवरीको अवधिमा नेपालभर औसतमा १२.६ मिलिमिटर पानी परेको थियो । सन् २०२१–२०२२ को सोही अवधिमा २७.१ मिलिमिटर पानी परेको थियो ।

सन् १९९१ देखि सन् २०२० सम्म १ डिसेम्बरदेखि २८ फेब्रुअरीको अवधिमा ६०.१ मिलिमिटर र २०२१–२०२२ को सोही अवधिमा ७५ मिलिमिटर वर्षा भएको थियो ।

जलवायु अध्येता ङमिन्द्र दाहाल भन्छन्, ‘गण्डकी पूर्वको मध्य र पूर्वी भूभागमा दुई दशकदेखि हिउँदे झरी छैन । यो चिन्ताको विषय हो ।’

हिउँदपछिका महिनाहरुमा चर्को गर्मी हुने र त्यसले माटोको ओस गायब हुने हुँदा अझ ठूलो संकट ल्याउने विज्ञहरुको चिन्ता छ ।

हिउँदे झरी भनेको कमसेकम दुई–तीन दिन विस्तारै पानी पर्ने क्रम भनेर बुझ्नुपर्ने बताउँदै उनी भन्छन्, ‘कमसेकम दुई दशकयता हिउँदे झरी परेको छैन । हिउँदे वर्षा फाट्टफुट्ट मात्र परे पनि त्यो कृषि र वनस्पतिका लागि पर्याप्त छैन ।’

जाडो पनि कम

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष (सन् २०२५) को अहिलेसम्मको अवस्था हेर्दा करिब एक हप्तामात्र तापक्रम सामान्यभन्दा कम छ । अरु सबै दिन अधिकतम र न्यूनतम दुवै तापक्रम बढी छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार मौसम मापन केन्द्रको तथ्यांक हेर्दा नेपालभर जनवरी १७ तारिखदेखि २१ तारिखसम्म अधिकतम तापक्रम र डिसेम्बर २४ तारिखदेखि न्युनतम तापक्रम बढिरहेको देखिन्छ । जनवरी २१ तारिखलाई हेर्दा नेपालभर सरदर अधिकतम तापक्रम ३.१६ डिग्री सेल्सियसले बढी देखिन्छ ।

काठमाडौंमा सन् २०२५ को जनवरी १६ तारिखदेखि २१ तारिखसम्म नै अधिकतम तापक्रम सरदरभन्दा बढी छ ।

काठमाडौंमा १६ तारिखमा १८.६, १७ तारिखमा १९.१, १८ तारिखमा १९.८, १९ तारिखमा २१.४, २० तारिखमा २२.३ र २१ तारिखमा अधिकतम तापक्रम २३.७ डिग्री सेल्सियस मापन भएको छ ।

‘काठमाडौंको हकमा २१ जनवरीको अधिकतम तापक्रम सामान्यभन्दा ४.४ डिग्रीले बढी हो,’ मौसमविद हुमागाईंले भने,’ त्यसैले अहिले काठमाडौंमा धेरैबेर घाम ताप्न पनि सकिँदैन ।’

मौसम विज्ञान विभागका अनुसार बाँकेको नेपालगञ्ज, रुपन्देहीको भैरहवा, बाराको सिमरा र धनुषाको जनकपुर मौसम मापन केन्द्रमा मात्रै सरदरभन्दा कम तापक्रम देखिन्छ । त्यहाँ लाग्ने हुस्सु र कुहिरोको कारण यस्तो भएको मौसमविद हुमागाईं बताउँछन् ।

तर धरान, जिरी, पोखरा, दाङ, धनकुटा, लुम्ले, अत्तरिया, दिपायल, जोमसोम, ताप्लेजुङ, सुर्खेत र काठमाडौंमा तापक्रम बढेको देखिन्छ ।

चिन्ता

जल तथा मौसम विज्ञान विभागले सुरुमा यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र कम जाडो हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर पछि त्यसलाई अध्यावधिक गर्दै वर्षा र जाडो दुवै कम हुने भनेको थियो । विभागले १६ मंसिरदेखि १६ फागुनसम्मका लागि गरेको हावापानीको सो आँकलन अहिले मिलेको देखिन्छ ।

यसरी हिउँद सुक्खा हुनु कृषि क्षेत्रका लागि राम्रो नभएको विज्ञहरू बताउँछन् । हिउँदेबालीको उत्पादन र वर्षेबालीको तयारी दुवै प्रभावित हुने पूर्व वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरे बताउँछन् । उनका अनुसार पानी नपर्दा हिउँदे तरकारीदेखि गहुँ, तोरी, मसुरोलगायत बालीसम्मलाई असर गर्छ । ‘आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा उत्पादन घट्छ,’ घिमिरे भन्छन्, ‘रोगकिराको प्रकोप पनि बढ्छ । साथै मकै रोप्ने, धानको ब्याड राख्ने तयारी पनि ढिलो हुन्छ । समग्रमा भन्दा खाद्य चक्र नै प्रभावित हुन्छ ।’

राष्ट्रिय प्रकृति संरक्षण कोषको जलवायु महाशाखा प्रमुख डा. मनिषराज पाण्डेय हिउँदयाम सुक्खा हुँदा त्यसको असर बहुआयामिक हुने बताउँछन् । उनका अनुसार कृषि उत्पादन त घट्छ नै, प्रदूषण बढ्ने, पानीको स्रोत सुक्दा ऊर्जा उत्पादन घट्ने, वन डढेलोको प्रकोप बढ्ने र चराचर जगत नै प्रभावित हुने गर्दछ ।

‘जलवायु परिवर्तनको असर’

पृथ्वीको सतह यति धेरै तात्दै गएको छ कि हर मौसम र वर्षमा चिन्ताजनक रेकर्ड दर्ज हुँदै गएको छ । विश्वको क्यालेन्डरमा सन् २०२४ यस्तो वर्ष रह्यो जो यो युगकै सबैभन्दा तातो वर्ष घोषित भयो ।

नेपालमा सन् २०२४ को उच्च अधिकतम तापक्रम गत एप्रिल २० मा भैरहवामा मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।

नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।

नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तापक्रम वृद्धिदर अन्य स्थानको तुलनामा हिमाली क्षेत्रमा बढी छ ।

डा. पाण्डेयका अनुसार सुक्खा हुँदै जानु र तापक्रम बढ्दै जानु जलवायु परिवर्तनको असरको कारण हो । हिमालहरु नाङ्गा देखिनु र रेकर्डब्रेक वर्षा हुँदै बाढी–पहिरोले विपत्ति निम्त्याउनु पनि जलवायु परिवर्तनकै असर भएको उनको मत छ ।

‘कतिपयले जलवायु परिवर्तनकै कारण यस्तो भएको हो कि होइन भनेर बहस गर्छन् तर हामी त्यो बहसभन्दा पनि माथि उठेका छौं । किनभने हामीले चरम मौसमी घटनाहरु प्रत्यक्ष देखे/भोगेका छौं,’ पाण्डेय भन्छन् ।

त्यसैले हाम्रा कामलाई जलवायु अनुकुलन बनाउँदै हरितगृह ग्याँस उत्सर्जन कटौतीमा जोड दिनुपर्ने र चरम मौसमी घटनाबाट जोगिनका लागि गर्नुपर्ने कामका लागि आवश्यक स्रोत जुटाउन विश्व समुदायसँग हातेमालो गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?