 
																			३० जेठ, काठमाडौं । काठमाडौंको कपनमा दुई दशकअघि घर बनाएर बस्दै आएका शरदकुमार शर्माले यस वर्ष अत्यधिक गर्मी महसुस भएपछि एसी जोडे । उनले पंखा त पोहोर सालदेखि नै प्रयोग गरिरहेका थिए ।
तर त्यतिले मात्र नपुगेपछि शर्माले यस वर्ष एसी पनि जोहो गरे । उनी भन्छन्, ‘मैले घर बनाउनेताका काठमाडौंमा खासै गर्मी हुँदैनथ्यो । त्यहीभएर अरुहरुले जस्तै मैले पनि न एसी जरुरी ठानेँ, न पंखा । अचेल गर्मी खपीनसक्नु भएपछि दुवै प्रयोग गर्दै आएको छु ।’
७५ वर्षीय रामभक्त श्रेष्ठ काठमाडौं कीर्तिपुरका रैथाने बासिन्दा हुन् । उनलाई पनि अचेल काठमाडौंमा गर्मी अत्यधिक बढेको महसुस भएको छ । त्यसैले उनले पनि पंखा किनेर प्रयोग गर्दै आएका छन् ।
भन्छन्, ‘पहिले–पहिले काठमाडौंमा पंखा आवश्यक नै हुँदैनथ्यो । गर्मीयाममा पनि ओढ्ने ओढेर सुत्नुपर्थ्यो । तर अहिले त गर्मीले गर्दा रातभरी पंखा चलाएर सुत्नुपर्छ ।’
स्टेशनरी व्यवसायको सिलसिलामा विगत १० वर्षदेखि ललितपुरको सानेपामा बस्दै आएका कमल शर्माको अनुभव पनि त्यस्तै छ । ‘काठमाडौंमा अलिअलि गर्मी त हुन्थ्यो तर शरीरको कपडा पसिनाले भिज्ने गरी गर्मी महसुस भएको मलाई थाहा थिएन’, भन्छन्, ‘तर अहिले त तराईको जस्तै गर्मी काठमाडौंमा पनि हुन थालेको महसुस भएको छ ।’
निरन्तर तात्दै छ काठमाडौं
काठमाडौंबासीका अनुभवले मात्रै होइन, वैज्ञानिक तथ्यले पनि काठमाडौंमा उखरमाउलो गर्मी बढ्दै गएको पुष्टि गर्दछ ।
विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।
काठमाडौंमा सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । यसैगरी जुन महिनाको सबैभन्दा ताता दिनहरुको ट्रेण्ड पनि ०.०५ डिग्री सेल्सियसले बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जेठ २६, २७ र २८ गते अर्थात् जुन ८, ९ र १० तारिखमा अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
गत वर्ष जुन ९ तारिखमा काठमाडौंको अधिकतम तापक्रम ३२.२ र १० तारिखमा ३३.३ थियो । काठमाडौंको गर्मीले जुन महिनाको अधिकतम तापक्रमको थ्रेसहोल्ड (२९.४ डिग्री सेल्सियस) त नाघेको छ नै तातो दिन (हट–डे)को चेतावनीको स्तर नजिक पनि पुगेको देखिन्छ ।
काठमाडौंमा अधिकतम तापक्रम लगातार तीन दिनसम्म ३१.३ डिग्री सेल्सियस नाघ्यो भने सामान्य, ३२ नाघ्यो भने मध्यम र ३४.४ नाघ्यो भने विषम गर्मीको अवस्था मानिन्छ ।

तराईका जिल्लाहरुमा भने अधिकतम तापक्रम लगातार तीन दिन ४० डिग्री कटेपछि हट डे (तातो दिन) वा हिट–वेभ (तातो हावाको लहर)को चेतावनी जारी गरिन्छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मध्य र पश्चिम तराईका जिल्लाहरुमा तातो हावाको लहरको चेतावनी नवौंपटक जारी गरिसकेको छ ।
काठमाडौं पहाडी जिल्ला हो । तराई मधेशका जिल्लाका तुलनामा पहाडी जिल्ला बढी शीतल हुन्छन् । तर काठमाडौंमा केही वर्षयता निरन्तर अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको छ । त्यसैले काठमाडौंमै दिउँसोको चर्को घाममा घर बाहिर निस्किन त मुस्किल हुन्छ नै राति पनि गर्मी भएर आनन्दले सुत्न सकिँदैन ।
वरिष्ठ मौसमविद् मणिरत्न शाक्य काठमाडौंमै रातिको समयमा गर्मीका कारण सुत्नै गाह्रो हुने अवस्था हुनु चिन्ताको विषय भएको बताउँछन् । ‘काठमाडौंमा भुइँतलामा बस्नेहरुलाई त त्यति फिल नहोला तर माथिल्लो तलामा बस्नेहरु रातिमा समेत गर्मी भएर सुत्नै सकिँदैन भन्नुहुन्छ, यसरी गर्मी बढ्नु चिन्ताको विषय हो,’ शाक्य भन्छन् ।
काठमाडौं ‘हट डे’ घोषणा होला ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर पनि अन्य जिल्लाहरुमा जस्तै काठमाडौंमा पनि बढी गर्मी भएको बताउँछिन् । तर काठमाडौंमा भने ‘हट डे’ वा ‘हिट वेभ’ चल्ने सम्भावना नरहेको उनी बताउँछिन् ।
काठमाडौंको भौगोलिक बनावट तराईको जस्तो सम्म नभएकाले तातो हावाको लहर चल्ने सम्भावना नहुने उनको अनुमान छ । ‘हुन त काठमाडौं कचौराको आकारजस्तो उपत्यका हो तर भौगोलिक प्रभावले गर्दा पहाडको माथि गएर तल झरिसकेपछि हावाको तापक्रम घट्छ, त्यही भएर काठमाडौंसहितको पहाडी भूभागमा हिट–वेभ नै हुँदैन’, उनी भन्छिन् ।

तराई र पहाडमा हावा चल्ने तरिका र वेग फरक–फरक हुने भएकाले काठमाडौंमा तातो हावाको लहर नचल्ने उनको अनुमान छ ।
नेपालमा मे र जुन महिना अत्यधिक ताता महिनाका रुपमा चिनिन्छन् । यसै वर्ष जेठ १६ गते (२९ मे तारिक) कैलालीको धनगढीको अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो । यो १६ जुन १९९५मा रेकर्ड भएको तापक्रम (४६.४ डिग्री सेल्सियस) को तुलनामा २.३ डिग्री सेल्सियसले कम हो ।
काठमाडौंमा भने सबैभन्दा गर्मी दिन २०४६ साल वैशाख २५ गते (सन् १९८९ मे ७ तारिक) को दिन थियो । त्यो दिन काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।
गत वर्ष (सन् २०२३) मा पनि काठमाडौंमा जुन महिनाका अधिकांश दिनहरु औसत अधिकतम् तापक्रम (२९.४ डिग्री सेल्सियस) भन्दा बढी ताता थिए । यो वर्ष पनि २१ मेदेखि नै काठमाडौंको गर्मीले जुन महिनाको सरदर अधिकतम तापक्रमको थ्रेसहोल्ड नाघेको देखिन्छ ।
काठमाडौं घना शहरको रुपमा विकास भएकाले पनि गर्मी बढ्दै गएको अनुमान गर्न सकिन्छ । किनकी उस्तै खालको भौगोलिक अवस्थिति भएको शहरी र ग्रामिण भेगको तापक्रम तुलना गर्ने हो भने शहरी भेगको तापक्रम बढी हुन्छ ।
वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल भन्छिन्, ‘तापक्रम वृद्धिमा शहरीकरणको भूमिका पनि हुन्छ । किनकी क्रंकिटका संरचना, कालोपत्रे सडक, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन र विद्युतीय सामग्रीहरुको बढ्दो प्रयोगका कारण हरितगृह ग्याँस उत्सर्जन बढी हुने हुँदा त्यसले तापक्रम वृद्धि हुन सघाउँछ ।’
मनसुन अवधिमा पनि हुनेछ गर्मी
कोशी प्रदेशमा जेठ २८ गते मनसुन भित्रिसके पनि यो देशभर फैलिन अझै केही दिन लाग्ने भएकाले गर्मीबाट तत्कालै राहत मिल्ने सम्भावना अहिलेसम्मको अवस्थाले देखिँदैन । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा २/३ दिनपछि मनसुन भित्रिने सम्भावना छ । पश्चिमका जिल्लासम्म फैलिन भने अझै एक हप्ता जति लाग्ने पूर्वानुमान छ ।
त्यसैले महाशाखाले जेठ २९ गतेदेखि ३१ गतेसम्म मध्य र पश्चिम तराईका भूभागमा तातो हावाको लहर चल्ने भएको सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका अनुसार यस वर्षको मनसुन अवधिमा पनि सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण छ । विभागले गत वैशाख ३१ गते सार्वजनिक गरेको ऋतुगत मनसुन प्रक्षेपणमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा र सरदरभन्दा बढी गर्मी हुने उल्लेख छ ।
यस वर्ष हिउँदयामदेखि नै सुक्खा भएकाले र प्रिमनसुन सिजनमा पनि पर्याप्त पानी नपरेकाले देशैभर गर्मी बढेको छ । गर्मी अत्यधिक भएपछि विभिन्न जिल्लामा गर्मी बिदा दिइएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार यस वर्षको मनसुनको पहिलो र दोस्रो महिना अर्थात् जुन र जुलाईमा सरदरभन्दा कम वर्षा हुने छ । वर्षा कम हुँदा तातोपन पनि बढ्नसक्ने सम्भावना छ । त्यसपछिका अगस्ट र सेप्टेम्बर महिनामा भने बढी वर्षा हुने आकलन छ ।
मनसुन अवधिमै तापक्रम बढ्नुलाई राम्रो संकेत मान्न नसकिने मौसमविद् हुमागाईं बताउँछन् । ‘वर्षा पनि सरदरभन्दा बढी र तापक्रम पनि सरदरभन्दा बढी हुँदा हामीले चरम मौसमी घटनाहरु धेरै व्यहोर्नुपर्छ कि भन्ने अनुमान गर्न सक्छौं । त्यसैले अर्ली वार्निङ लगायतका काममा चनाखो हुनुपर्ने देखिन्छ,’ हुमागाईं भन्छन् ।
जलवायु परिवर्तनको असरको कारण बढ्दो तापक्रम विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२३ लाई पनि उछिन्दै सन् २०२४ सबैभन्दा बढी गर्मी वर्षको रुपमा दर्ज भइसकेको छ ।
संयुक्त राष्ट्रसंघको मौसम विज्ञान एजेन्सी (डब्ल्यूएमओ)ले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वको वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने सम्भावना ८० प्रतिशतले बढेको जनाएको छ ।
नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ । तापक्रमको वृद्धिसँगै वर्षाको नियमित चक्रमा परिवर्तन आउँदा नेपाल थप संकटमा पर्दै आएको छ । तर सम्भावित संकटसँग जुध्न भइरहेका प्रयास अझै अपर्याप्त भएको विज्ञहरु बताउँछन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4