
खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकमा नाम निकालेर काठमाडौं विश्वविद्यालय प्रवेश गरेका भोला थापा प्राध्यापक, सहायक डीन, कार्यकारी डिन हुँदै रजिस्ट्रार पनि बने । त्यसपछि उपकुलपतिको जिम्मेवारी सम्हालेका थापाको चार वर्षे कार्यकालको समीक्षा गर्न अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीको सम्पादित अंश :
उपकुलपतिको जिम्मेवारीमा चार वर्ष केयूको नेतृत्व सम्हाल्नुभयो, अनुभव कस्तो रहयो ?
कोरोना महामारीको विषम परिस्थितिमा म उपकुलपति भएँ । विद्यार्थी, शिक्षक र कर्मचारीलाई कक्षा कोठामा ल्याउनु थियो । अनलाइन कक्षासँगै गुणस्तरको कुरा थियो । कक्षा नियमित गराउनै उपकुलपति भएको डेढ वर्ष लाग्यो । त्यसपछि विगतको समीक्षा गर्न प्राध्यापक महेश बास्कोटाको नेतृत्वमा केयूको राम्रो पक्ष र कमजोरी बारे अध्ययन गर्यौं । यसबाट केयूको स्थिति पत्ता लगाएसँगै तत्कालको लागि रजिस्ट्रार अच्युत वाग्लेको नेतृत्वमा ५ वर्षको केयूको योजना बनायौं । उच्च शिक्षामा केयूको ३ प्रतिशत मात्र योगदान थियो । ३ प्रतिशतमा बसेर समाज र राष्ट्रलाई योगदान गर्न सकिंदैन भनेर ६ प्रतिशत पुर्याउने योजना बनाएर काम थाल्यौं ।
पुराना शैक्षिक कार्यक्रमलाई अब्बल बनाउँदै नयाँ क्षेत्रको खोजी गर्यौं । धेरै विद्यार्थी आउँछन् भनेर बीबीए र आईटीमा मात्र चलाएर हुँदैन भन्ने भयो । आधुनिक ज्ञान विज्ञान बाहेक हाम्रो पराम्परागत पौराणिक ज्ञान, सीप, कौशल, सम्पदालाई पनि उच्च शिक्षामा ल्याउने योजनालाई प्राथमिकतामा राख्यौं । अर्कोतर्फ विद्यालयमा राम्रो शिक्षक पाउन छाडेको अवस्था थियो । त्यसैले विद्यालय शिक्षा गुणस्तर भयो भने मात्र उच्च शिक्षा गुणस्तर हुन्छ भनेर शिक्षकको तालिमको सुरुवात गर्यौं । सरकारले पनि प्राविधिक शिक्षामा जाने भनेर प्राविधिक विद्यालय बनाइरहेको छ । यस सन्दर्भमा प्राविधिक शिक्षक तयार गर्न र शिक्षकलाई सक्षम बनाउन शिक्षक तालिम सुरु गरेका हौं ।
केयूले इन्जिनियर र मेडिकल साइन्समा राम्रो योगदान दिएको थियो । यसलाई सुधारमा समय दियौं । पौराणिक ज्ञान र योग विज्ञानमा काम अगाडि बढायौं । मेडिकल विधा भनेको एमबीबीएस मात्र होइन । हिमालयबाट प्रादुर्भाव भएको योग विषयलाई स्नातक तहमा समावेश गर्यौं । यही माटोमा योगको विकास भएकाले विश्वविद्यालयमा प्रवेश गराएका हौँ । इन्जिनियरिङको विकल्पमा ब्याच्लर्स इन क्राफ्ट एन्ड डिजाइन सुरु गर्यौं । जस्तैः पाटनमा धेरैले मूर्ति बनाउने चलन थियो । त्यो जनशक्ति पलायन भयो । हराएर जाने भएपनि संरक्षण गर्न विश्वविद्यालयले कोर्स सुरु गरेको हो ।
परम्परागत प्रविधि बढाउन स्कुल अफ एजुकेनसमा ‘मास्टर्स इन इन्डिजिनयस नलेज’ भित्र्यायौं । नेपाल सम्पदा, मठ, मन्दिर, दरबार, गुम्बाका धनी छ । यसलाई ब्याच्लर्स इन हेरिटेज भनेर थालनी गरेका छौँ । अब विद्यार्थी भर्ना गर्न बाँकी छ । प्रोफेस्नल हस्पिटालिटी पनि गेट कलेजबाट सुरु भएको छ । केयूमा साढे ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । धेरै मेडिकलमा छन् । विदेशी विद्यार्थी ल्याउन र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कोर्स लैजान पहल गर्यौं । भारतको तिरूपतिमा यौगिक साइन्स सुरु गर्यौं । आइटी मदराससँग एक वर्ष यता अर्को वर्ष उता विद्यार्थी पढ्नेगरी संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका छौँ । कोरियाको विश्वविद्यालयमा पनि सहकार्य गर्ने प्रक्रिया सुरु भइसकेको छ । विदेशी विद्यार्थी ल्याउन कन्सल्टेन्सीसँग पनि सहकार्यको थालनी भयो ।
विद्यार्थी विदेश पलायन भइरहेका छन् । विद्यार्थी नपाउने स्थितिमा कार्यक्रम मात्र थप गर्नुभयो नि ?
हो, कोभिडपछि विद्यार्थीको हाहाकार भयो । त्यो समयमा सबै विश्वविद्यलायको उपकुलपतिसँग लक्षण राम्रो छैन भनेर मैले नै राखेको हुँ । सुरुमा पत्याउनु भएन । केयूको भीसीले किन यस्तो भनेको होला भनेर प्रश्न पनि आयो ।
नयाँ कार्यक्रम थप्दा र विद्यार्थी ३ बाट ६ प्रतिशत बनाउँदा चुनौती महसुस गरेका थियौं । नयाँ शिक्षक चाहियो, विद्यार्थी चाहियो । केयूको पनि ७० प्रतिशतसम्म मात्र भर्ना भयो । यद्यपि, हामीले सुधार गर्यौं । अहिले प्रोग्रामहरूमा ८५ प्रतिशत भर्ना छ । संख्या बढेर ४ बाट ६ हजार पुगेको छ । प्रदेश प्रदेशका विश्वविद्यालयसँग सहकार्य गरेका छौँ ।
तपाईं सफल कि असफल उपकुलपति ? आफैंले मूल्यांकन गर्दा आफ्नो कार्यकाललाई कति प्रतिशत नम्बर दिनुहुन्छ ?
शतप्रतिशत नम्बर दिन्छु । केयूमा आफैंले कमाएर सबै गर्नुपर्छ । उपकुलपति हुँदै गर्दा जे सपना देखेको थिएँ सबै काम गर्न सकेँ । आर्थिक पाटोलाई कमजोर हुन दिइन । पैसा तिर्न सक्ने विद्यार्थी विदेश पलायन भए । त्यसैले आर्थिक अवस्था कमजोर भएकालाई तान्न छात्रवृत्ति १० बाट २० प्रतिशत पुर्याए । विश्वविद्यालय अनुदान आयोगबाट आउने ग्रान्डलाई छात्रवृत्ति दियौं । अक्षय कोष ५० करोडको बनाएँ । जसमा मुल कोष खर्च गर्न पाइँदैन । यसमा दाताहरूले राम्रो सहयोग गर्नुभयो । अहिले कोषमा ६४ करोड पुगेको छ ।
तर, उपकुलपति भएलगत्तै विवादास्पद दुर्गा प्रसाईंको मेडिकललाई सम्बन्धन दिएर विवादमा तानिनुभयो । गलत निर्णय गर्नुभयो भन्ने आरोप छ नि ?
हो, ममाथि आरोप लाग्यो । बीएण्डसी कलेजले केयूमा निवेदन दिएको म उपकुलपति हुनुअघि नै हो । कुलपतिबाट पनि सम्बन्धन दिनु भन्ने निर्देशन थियो । निर्देशन आएको केहीसमयपछि चिकित्सा शिक्षा आयोग बन्यो ।
उहाँ (दुर्गा प्रसाई) आयोग जान नमानेका कारण विवाद भएको हो । म उपकुलपति भएर जानुअघि नै टेबुलमा निवेदन थियो । कुलपतिको उपस्थितिमा सिनेटमा राखेको हुँ । मैले स्वीकार गर्नुपर्छ ।
आयोगमार्फत जान भनेको हो तर, उहाँ अदालत जानुभयो । अदालतले सम्बन्धन दिनु भनेपछि मैले दिएको हुँ । ममाथि जे आरोप लागेपनि मेरै पालामा भयो । जस अपजस दुवै लिन्छु । राम्रो भयो भने इतिहासमा जस पाउँला, नराम्रो भयो भने दोषीको भागी पनि हुन्छु ।
तपाईंले एकपछि अर्को मेडिकललाई आक्रमण गर्नुभयो र पहिलो आक्रमण धुलिखेलमा गर्नुभयो भनिन्छ । पूर्वउपकुलपति डा. रामकण्ठ मकाजु र तपाईको विवादको जड के हो ?
हो, मेरो र उहाँ (रामकण्ठ मकाजु) बीच विमति थियो । बाहिर त्यस्तो देखियो पनि । लुकाउनुपर्ने कुरा छैन । उहाँ दोस्रो कालको उपकुलपति हुँदा पनि म रजिस्ट्रार थिएँ । हामीबीच कुरा मिलेन ।
आफूलाई सहज हुने व्यक्तिलाई राजिस्ट्रार बनाउनुस् भनेर मैले छोडेको हुँ । त्यसपछि म नेतृत्वमा आएँ । मेरो आफ्नो कार्यक्रम र योजना थियो । मलाई नियुक्ति दिँदा कुलपति केपी ओली नै हुनुहुन्थ्यो । उहाँले मलाई निर्देशन दिनुभएको थियो– धुलिखेल र केयूको विषय मिलाउनु पर्नेछ । दुई संस्थाको सम्झौतामा स्पष्टता छैन ।
यो मिलाउनहोस् भन्नुभएको थियो । तत्कालीन योजना आयोगको सदस्य उषा झाको प्रतिवेदनले पनि भनेको कुरा हो । यसमा आर्थिक पारदर्शिताका कुरा छ । आर्थिक अडिट क्लियर गर्नुहोस् भनेको थियो ।
मुख्य कुरा स्कुल अफ मेडिकल साइन्समा भइरहेको आम्दानीको पारदर्शिता हुनुपर्छ भनेको हो । नियम अनुसार आम्दानी खाता उपकुलपति र रजिस्ट्रारले हस्ताक्षर गर्ने र त्यहाँबाट विनियोजन गरेर खर्च गर्ने भन्ने थियो । तर, मेडिकलमा त्यो भएको थिएन । मेडिकल सिधै धुलिखेल अस्पताल र डिन कार्यालयमा जाने थियो । जसका कारण अडिट रिपोर्ट बनाउन गाह्रो भएको थियो । धुलिखेलको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा गयो । यसमा कुन कुन केयूको हो भने छुट्टाउन सकिएन ।
एउटै खातामा आओस् । अनि धुलिखेल र मेडिकललाई नै ट्रान्सफर गर्दिन्छौं र खर्च गरेको रकम बुझाउनुहोस् भनेको हो । यो हिसाब सिनेटमा पेस गर्नुपर्ने हुन्छ । यसमा धुलिखेलको विमति रह्यो । अस्पताल सञ्चालनमा गाह्रो हुन्छ भन्नुभयो । उहाँहरूलाई पनि असुरक्षित महसुस भयो ।
छुट्टै प्रतिष्ठान बनाउँछौं भनेर बागमती प्रदेशमा निवेदन दिनुभयो । त्यसपछि हामी पनि झस्कियौं । उहाँहरू केयूले पैसा दिंदैन भनेर झस्किनु भयो । हामीलाई अस्पताल भएन भने कार्यक्रम सञ्चालन कसरी गर्ने भन्ने भयो । यसले विवाद ठूलो देखियो । फेरि हामी सहमतिमा पुगेका छौँ । हामी पनि छुट्टै अस्पताल बनाइ हाल्ने होइन । नमिलेका कुरा कानुन संशोधन गरेर भए पनि गरौं भनेर अगाडि बढेका छौँ ।
दोस्रो कार्यकालको भीसीका लागि धुलिखेलसँग सम्झौता गर्नुभयो भन्ने छ नि ?
भीसी दोहोर्याउन सम्झौता गर्यो भन्ने आरोप हो, त्यो सत्य होइन । एउटा सामाजिक संस्थाको नेतृत्व गरेको मान्छेले हिजो मसँग कुरा मिलेको थिएन भन्दैमा सधैं नमिल्ने भन्ने हुँदैन । नमिलेको कुरा हामी बसेर मिलाउँछौं ।
केयू र धुलिखेलको विवादभन्दा पनि तपाई र पूर्वउपकुलपतिको व्यक्तिगत टसल जस्तो देखियो नि ?
यो व्यक्तिगत टसल होइन । धुलिखेल र केयूको हो । सुरुमा सम्झौता हुँदाको जड नै विवादको कारण हो । फेरि डा. रामकण्ठ माकाजु र मलाई यो अवसर बनेर आएको छ । सम्झौतालाई थप परिस्कृत गर्ने अवसर मिलेको छ । पूर्वउपकुलपति डा. राम मेरो अग्रज पनि हुनुभयो । कहाँ अफ्ठ्यारो परेको हो त्यो हामीलाई थाहा छ । तीन महिनामा सबै समाधान हुन्छ । केयू र धुलिखेलको अविश्वास मेटिन्छ ।
डा. राम उपकुलपति हुँदा तपाईले रजिस्ट्रार छोड्न पर्यो । फेरि तपाई उपकुलपति हुनुभयो । त्यसको प्रतिसोध साध्नुभयो भन्ने आरोप छ नि ?
मैले कुनै प्रतिसोध साधेको होइन, छैन । उपकुलपतिको कार्यकाल सकिएपछि उहाँ नयाँ पद सिर्जना गरेर अस्पतालको प्रमुख बन्नुभयो । कसैले विमति जनाएनौं । उहाँ अग्रज हुनुहुन्छ । हामी एक अर्काले ‘डे टु डे’ सल्लाह गरेको भए राम्रो हुने थियो, त्यो गर्न सकेनौं । पूर्व उपकुलपतिले मैले गरेको काममा यसरी गर्नुहोस् भनेको भने पनि हुने हो । त्यो गर्न सकिएन । मैले पनि कमजोरी स्वीकार गरेको छु । अन्तिममा धुलिखेल र केयूका साथीहरूलाई नै कुरा मिलाउन भन्यौं । त्यसमा डा. राम र मैले सहमति जनायौं । यो राम्रो पक्ष हो ।
एक हजार बेडको अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । अब यो रोकिएको हो ?
धुलिखेल ४५० बेडको सामुदायिक अस्पताल हो । गरिब दुःखीलाई सेवा गर्ने अस्पताल हो । तुरुन्तै एक हजार बेडको बनाउन सक्दैनौं । तर अस्पतालको जिम्मेवारी केयूले पनि लिनुपर्छ भनेर सपना राखेको हो ।
यद्यपि मानसिक, बेडको मधुमेह, ब्लड क्यान्सर र हेमाटो अंकोलोजीमा काम सुरु गरेका छौं । एक सय बेडको एउटा भवन बनाएका छौँ । एक हजार बेडको बनाउने भनेको हो तर भएन । पाँच सय बेडको डिजाइन मात्र भएको छ । त्यो डिजाइन पनि केयूकै विद्यार्थीले गरेका हुन् । यसबाहेक थप प्रक्रिया अगाडि बढेको छैन ।
यसपटक केयूको परीक्षा र नतिजामा पनि धेरै प्रश्न उठ्यो । यसले केयूको साखमा धक्का लागेन र ?
हो, यसपटक विवाद आयो । ८ जना विद्यार्थीको नाम ग्रेसलिस्टमा आयो । स्वीकार गर्नैपर्छ । त्रुटि भयो । तर उनीहरू दीक्षित भएको होइन । सर्टिफिकेट पनि दिइएको थिएन । मानवीय त्रुटि भएको हो । तर यतिबेला उपकुलपतिको छनोट चलिरहेकाले यही विषयलाई बढी उठाउन खोजियो । मेरो कार्यकालमा राम्रो नराम्रो दुवैको जिम्मेवारी म लिन तयार छु ।
केयूका नियुक्तिमा पनि तपाईं हाबी हुनुभयो । आफू निकटकालाई बनाउनुभयो भन्ने आरोप छ नि ?
२० औँ वर्ष योगदान गरेकालाई नियुक्ति गरिएको छ । आरोप लगाउनुहुन्छ भने बरू ५ वर्षअघि आएकोलाई रजिस्ट्रार नियुक्त गर्यो भनेर आरोप लगाउँदा हुन्छ । त्यसबाहेक कम योगदान गरेकोलाई नियुक्ति गरेको छैन ।
राजनीतिक र व्यक्तिगत आस्थाको आधारमा नियुक्ति गरेको छैन । तर, नियुक्ति गरेका कोही सहज हुनुभयो, कोही असहज । मैले नियुक्ति गरेको भन्दैमा मलाई सहयोग गर्नुपर्छ भन्ने पनि छैन, नमानेका उदाहरण प्रशस्तै छन् ।
केयू राजनीतिबाट टाढा थियो । तर यसपटक राजनीतिको सिकार भयो । तपाईंको कार्यकालमा राजनीति किन धेरै ?
यो पनि उपकुलपतिको छनोटको समयमा उठाइएको विषय हो । यसलाई अन्यथा पनि लिन्न । तर राजनीति भयो भन्ने होइन । म भीसी हुनु अगाडि शिक्षक कर्मचारीबाट बन्द हड्ताल हुन्थे । तर यो चार वर्षमा त्यो भएन । वार्ता छलफलबाट नै समस्याका समाधान भए । लोकतान्त्रिक समाजमा पेशागत संघसंगठन हुनुहुँदैन भन्न सक्दिनँ ।
उपकुलपति छनोट समिति बनेको छ । समिति नै तपाईले चलाउनुभयो भन्ने आरोप छ नि ?
आरोप त जे लगाए पनि हुन्छ । तर मैले समितिलाई कुनै प्रभावित पार्ने काम गरेको छैन । जुन दिन मेरो कार्यकाल सकियो त्यो दिनदेखि म प्राध्यापक मात्र हुँ । कार्यकाल सकिएपछि मैले छनोट समितिका सदस्यलाई मेरो कार्यकाल सकियो सहयोगका लागि धन्यवाद, म पनि भीसीको उम्मेदवार हुँ भनेर म्यासेज गरेको छु । त्यो बाहेक फोन पनि गरेको छैन । यसरी मैले चलाएको भन्न मिल्छ ? मेडिकलका साथीहरूले यो आरोप लगाउनु भएको होला भन्ने लाग्छ ।
छनोट समितिले कार्यविधि बनाउँदै गर्दा तपाई उपकुलपति नै हुनुहुन्थ्यो । मेडिकलबाट उम्मेदवारी दिन पाउनुभएको छैन । तपाई केयूको अभिभावक भएपछि यो विषयमा बोल्नुपर्ने होइन र ? मौन बस्नुभयो नि किन ?
पूर्व उपकुलपतिले पनि आवेदन हाल्न नपाउने वातवरण बन्यो । कुलपतिले पनि चासो राख्नुभयो । पुनर्विचार गर्न मेरो पनि सहमति रह्यो । छिटो गरे राम्रो हुने थियो । तर, म पनि उम्मेदवार भएको हिसाबले सार्वजनिक रूपमा भन्ने कुरा भएन । मैले कुलपतिसँग कुरा गरेको हो ।
प्रतिक्रिया 4