+
+
Shares

अर्थतन्त्र ४.६१ प्रतिशतले बिस्तार, अर्थतन्त्रका सबै क्षेत्र धनात्मक

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी भन्छन्- आर्थिक वृद्धिको तथ्यांकले अर्थतन्त्र बिस्तारको संकेत गरेको छ । यो वर्ष अर्थतन्त्रमा थप झट्का नआउने अपेक्षासहित यस्तो अनुमान गरिएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८२ वैशाख १७ गते २३:३६

१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्र ४.६१ प्रतिशतले बिस्तार हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ । चालु आर्थिक वर्षको ६ देखि ९ महिना (चैत मसान्त) सम्मका वास्तविक तथ्यांक र बाँकी अवधिमा पनि अर्थतन्त्र यस्तै रफ्तारमा जाने अनुमानसहित यस आवको वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी अनुमान सार्वजनिक गरिएको कार्यालयका निर्देशक ऋषिराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार यस वर्ष अर्थतन्त्रका सबै क्षेत्र धनात्मक अवस्थामा रहेको देखिएको छ । यसले अर्थतन्त्र बिस्तारको संकेत गरेको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी बताउँछन् ।
उनका अनुसार यसबीचमा अर्थतन्त्रमा थप झट्का नआउने अपेक्षासहित यस्तो अनुमान गरिएको छ । त्यस्तो भएको अवस्थामा भने आगामी अनुमानमा यसको यथार्थ विवरण आउने उनको भनाइ छ ।

कोभिडले थलिएको अर्थतन्त्र मन्दीमा, मन्दीबाट उठ्ने जमर्को

आर्थिक वर्ष २०७६/७७ मा अर्थतन्त्र २.३७ प्रतिशत (उपभोक्ताको मूल्यमा) ले ऋणात्मक रहन पुग्यो । त्यसबाट उठ्ने प्रयासका बीच आव २०७७/७८ मा ४.८४ र २०७८/७९ मा ५.६३ प्रतिशतले बिस्तार भयो । त्यसपछि मुलुक आर्थिक मन्दीको चक्रमा फस्न पुग्यो । जसले गर्दा कोभिड महामारीबाट पुनरुत्थान हुँदै अर्थतन्त्र बिस्तार गर्ने प्रयास सफल हुन सकेन ।

आव २०७९/८० मा अर्थतन्त्र १.९८ प्रतिशतले मात्र बिस्तार भएको थियो । त्यसपछिका दुई आवमा भने आर्थिक वृद्धि क्रमशः सुधारोन्मुख देखिन्छ । कार्यालयका अनुसार आव २०८०/८१ मा ३.६७ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान छ ।

चालु आवमा भने ४.६१ प्रतिशतले अर्थतन्त्र बिस्तार हुने अनुमान गरिएको छ । आधारभूत मूल्यमा भने यस वर्ष ३.९९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर हुनेछ । कार्यालयका निर्देशक सिग्देलका अनुसार आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा जीडीपी गणनाको विधि केही फरक हुन्छ ।

कृषि क्षेत्र स्थिर, गैरकृषिको उतार–चढावको असर अर्थतन्त्रमा

बृहत् औद्योगिक समूहअअनुसार हेर्दा नेपालमा कृषि क्षेत्र तुलनात्मक रूपमा स्थिर रहेको देखिन्छ । गैरकृषि क्षेत्रमा हुने उतारचढावले समग्र अर्थतन्त्रको वृद्धिदरमा असर पारिरहेको देखिएको छ । कार्यालयका अनुसार पछिल्लो तीन वर्ष (आव २०८१/८२, आव २०८०/८१ र २०७९/८०)मा कृषि क्षेत्रको वृद्धिदर क्रमशः ३.२८, ३.३५ र ३.०२ प्रतिशत रहेको देखिन्छ ।

यी तीन आवमा गैरकृषि क्षेत्रको वृद्धिदर भने क्रमशः ४.२८, ३.३६ र १.९८ प्रतिशत रहेको देखिन्छ । जसले गर्दा समग्र अर्थतन्त्रको वृद्धिदरलाई गैरकृषि क्षेत्रको उतारचढावले असर पारेको देखिएको छ । औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितीय र सेवा क्षेत्रका रूपमा हेर्दा प्राथमिक (कृषि तथा वन) तुलनात्मक रूपमा स्थिर देखिन्छ ।

जीडीपीमा योगदानको हिसाबले हेर्दा प्राथमिक क्षेत्रको हिस्सा घट्दो क्रममा छ ।

द्वितीय क्षेत्र र सेवा क्षेत्रको उतारचढावले अर्थतन्त्रमा बढी असर पारेको देखिएको छ । चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर ३.२५, द्वितीयको ४.६५ र सेवा क्षेत्रको वृद्धिदर ४.६५ प्रतिशत रहने अनुमान छ । गत आवमा यी तीन क्षेत्रको वृद्धिदर क्रमशः ३.३५ प्रतिशत, ०.०३ प्रतिशत र ४.३५ प्रतिशत रहेको थियो ।

जीडीपीमा योगदानको हिसाबले हेर्दा प्राथमिक क्षेत्रको हिस्सा घट्दो क्रममा छ । द्वितीयक क्षेत्रको स्थिर र सेवा क्षेत्रको योगदान क्रमशः बढ्दो क्रममा रहेको देखिएको छ । आव २०७७/७८ मा प्राथमिक क्षेत्रको योगदान २६.४ प्रतिशत हिस्सा रहेकोमा चालु आवमा २५.६ प्रतिशत रहने अनुमान छ । सेवा क्षेत्रको हिस्सा ५ वर्ष अगाडि ६०.४ प्रतिशत रहेकोमा यस वर्ष ६२ प्रतिशत रहने कार्यालयको अनुमान छ ।

अर्थतन्त्रका १८ वटै क्षेत्र धनात्मक

चालु आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक वर्गीकरण अनुसार अर्थतन्त्रका सबै क्षेत्र धनात्मक रहने देखिएको छ । कोभिड महामारीयता कुनै न कुनै क्षेत्र ऋणात्मक रहेका थिए । यस वर्ष सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यासमा १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यातायात तथा भण्डार ९.४५ प्रतिशतसहित दोस्रो स्थानमा छ । सबैभन्दा कम शिक्षामा १.९८ प्रतिशत र खानी तथा उत्खननको १.९९ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने कृषि वन तथा मत्स्यको वृद्धिदर अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेकोमा यस वर्ष ३.२८ प्रतिशतको वृद्धि हुने अनुमान छ । उद्योग क्षेत्र गत वर्ष २.०२ प्रतिशतले ऋणात्मक रहेकोमा यस वर्ष ३.७८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

घरजग्गा कारोबार सेवा गत वर्ष २.४३ प्रतिशतले बिस्तार भएकोमा यस वर्ष पनि २.७२ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ ।

वनस्पति तेल, प्लाइउड, प्लास्टिकको पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट, साबुनजस्ता वस्तुको उत्पादन बढ्दा उद्योग क्षेत्र बिस्तार हुने अनुमान गरिएको छ । निर्माण सामग्रीको आयात बढ्दा समेत यस क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । निर्माण क्षेत्र अघिल्लो वर्ष २.२० प्रतिशतले ऋणात्मक थियो । यस वर्ष २.२१ प्रतिशतले बिस्तार हुने देखिएको छ ।

निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रमा सकारात्मक प्रभाव देखिएको हो । घरजग्गा कारोबार सेवा गत वर्ष २.४३ प्रतिशतले बिस्तार भएकोमा यस वर्ष पनि २.७२ प्रतिशतले मात्र वृद्धि हुने अनुमान छ ।

प्रतिव्यक्ति आय १५१७ डलर, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब

यस वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने अनुमान कार्यालयले गरेको छ । गत वर्ष १ हजार ४६७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेको संशोधित अनुमान छ । एक वर्षमा प्रतिव्यक्ति आय ५० डलरले बढ्ने अनुमान गरिएको छ ।

चालु आवसम्म नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यस वर्ष आधारभूत मूल्यको कुल उत्पादन ९२ खर्ब ४६ अर्ब ५५ करोड हुने अनुमान छ । यसमा उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३८ खर्ब ६६ अर्ब ९६ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

पछिल्लो ५ वर्षको प्रतिव्यक्ति आय

आव २०७७/७८ : १,२८४ डलर

आव २०७८/७९ : १,४१९ डलर

आव २०७९/८० : १,४१० डलर

आव २०८०/८१ : १,४६७ डलर (संशोधित)

आव २०८१/८१ : १,५१७ (अनुमानित)

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?