
१७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले गत चैत २० गते सडक आन्दोलन सुरु गर्दा शिक्षा मन्त्रालयको बागडोर सम्हालिरहेकी थिइन्, एमाले नेतृ विद्या भट्टराईले ।
शिक्षकसँग वार्ता र सहमतिको लागि उनको लामै प्रयास भयो । प्रयासस्वरुप ७ बुँदे प्रस्ताव पनि उनै भट्टराईले तयार पारेकी थिइन् ।
उक्त प्रस्ताव करिब ८ अर्ब आर्थिक भार सरकारको बढ्नेगरी बनेको थियो । आर्थिक स्रोतको सुनिश्चतता नभएपछि भट्टराईले गत वैशाख ८ मा राजीनामा दिइन् ।
राजीनामापश्चात सरकारी टोलीबाटै सहयोग नपाएको, शिक्षकको माग सम्बोधनमा असमर्थ रहेको लगायतका कारण बाहिरिए ।
यसैबीच बुधबार उनै भट्टराईले तयार पारेको ७ बुँदेको जगमा टेकेर शिक्षामन्त्री रघुजी पन्तले शिक्षकसँग सहमति गरेका छन् ।
उनै भट्टराईकै ७ बुँदेमा टेकेर मन्त्रिपरिषद्ले सोही रकम बराबरको आर्थिक भार खेप्नेगरी निर्णय पनि लिएको छ ।
मन्त्रिपरिषद्बाट ९ वटा बुँदा अनुमोदन गराएर गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, शिक्षा समितिका सभापति अम्मरबहादुर थापा लगायतले संयुक्त पत्रकार सम्मेलन गरे ।
शिक्षामन्त्री पन्तले बारम्बार दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूको बारम्बार नाम लिइरहे । उनले उनीहरूलाई धन्यवाद दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नाम उनले लिएका थिए।
तर निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको नाम उनले लिएनन् ।
पत्रकार सम्मेलन सकिनै लाग्दा भने एमाले मुख्य सचेतक महेश बर्तौलाले पूर्व मन्त्री पनि…भनेर विद्यालाई सम्झिए । त्यसपछि झस्किए गृहमन्त्री रमेश लेखक ।
पूर्वमन्त्री भट्टराईले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यसैको आधारमा सहमति भएको भन्दै लेखकले धन्यवाद पनि दिए ।
पहिले नै बोलिसकेको मन्त्री पन्तले लेखकले बोलेपछि फेरि बोल्न चाहे र भट्टराईलाई सम्झिए ।
‘म उहाँको राजीनामाले खुसी भएको थिइन । विद्या भट्टराई उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँको क्रियाशिलतामा ७ बुँदेको जगमा भएको हो,’ मन्त्री पन्तले भने ।
प्रतिक्रिया 4