
आफू कसमा ? केही दशक अगाडिसम्म नेपालको पहाडी भेगमा एकअर्का अपरिचित भेट हुँदा सोधिने प्रश्न थियो । आफू कसमाको उत्तर आइसकेपछि आफ्नै नश्ल, जात विरादरी, वंशका भए कुराको पोयो खुल्थ्यो । गोत्र, वंश, थातथलोको जानकारी लिने गरिन्थ्यो ।
वर्ण व्यवस्थाले ल्याएको जातीय छुवाछूत, पानी चल, अचल; मासिन्या नमासिन्या जाति समुदायबीच परिचित हुने यही काइदा थियो । छुवाछूत नै हुनेसँग भेट हुँदा त परिचयको माध्यम त्यतिमै समापन भइहाल्थ्यो । आ–आफ्नो दर्गदिशा लागिहाल्नुपर्दथ्यो ।
आजका ‘जेन–जी’ पुस्तालाई यस्तो नेपाली समाज पनि थियो भनेर जिब्रो टोक्ने अवस्था आउन सक्छ । तर आजको नेपाली समाज यो स्थिति पनि गुज्रान गरेर आएको हो । आफू कसमा ? यो पङ्ति यतिमै सीमित थिएन ।
यसले अपरिचित बीच परिचय गर्ने राष्ट्रिय चरित्र पनि बोकेको थियो । यी दुई शब्दले मानिसको राष्ट्रियतालाई परिचित गराउँथ्यो । मानिसको वंश, नश्ल, ऐतिहासिक निरन्तरताको थातथलो खुट्याउँथ्यो । यसरी परिचित गराउने मेलो वाक्य थियो । भलै यसको प्रयोग हुँदै आउँदा जातीय छुवाछूतसँग मात्र पनि पछिल्लो समय किन प्रयोग नभएको होस् ।
अंकगणितमा प्रशासनिक इकाइ
जब राज्यको राजनैतिक–प्रशासनिक विभाजन हुँदैगयो परिचयको शृङ्खला पनि फेरियो । धेरै अगाडि नगई राणाकालको पूर्व क्षेत्रको विभाजनलाई नै हेरौं । दोलखादेखि ताप्लेजुङसम्मका पूर्वी पहाडी भेग अंकगणितको भाउमा विभाजित थियो ।
पूर्व १ नं. दोलखाहुँदै ३ नं. ओखलढुङ्गा (ऐंसेलुखर्क), ४ नं. भोजपुर र भोजपुर अरुणपूर्व ताप्लेजुङसम्म ५ नं. नाममा विभाजन गरियो । त्यसयता भेटघाटमा हुने परिचय पनि फेरियो । थातथलोको नामबाट परिचय हुन थाल्यो । पूर्व १ नं. देखि ५ नं. सम्मको परिचय खुल्ने भो ।
त्यो समयमा पूर्वतिर (दोलखादेखि ताप्लेजुङसम्म)काले १ देखि ५ अंकसम्मको ठेगाना बताउँथे । पूर्व ५ नं. ताप्लेजुङ, ४ नं. भोजपुर, ३ नं. ओखलढुङ्गा (ऐंसेलुखर्क) यस्तै यस्तै । अझ मसिनो गरी ठेगाना बताउँदा पूर्व ५ नं. ताप्लेजुङ तमोर खोला, मेवा खोला, मैवा खोला, फावा खोला आदि इत्यादि ।
समय गुज्रदै जाँदा आफू कसमा ? यो वाक्य ठेगाना पछि सोधिन थालियो अर्थात् नेपथ्यमा धकेलियो । यहींनेर आएर समुदायको राष्ट्रिय परिचय भौगोलिकीकरण हुन थाल्यो ।
समय बित्दै गयो । २०१८ सालमा बनेको संविधानले नेपाललाई १४ अञ्चल ७५ जिल्लाको भौगोलिक प्रशासनिक विभाजन गर्यो । त्यसपछि पहिलो भेटमा गरिने अर्को प्रश्न उदायो, ‘तपाईंको पहाड घर कता हो ?’ यहींनेर आएर उत्तर फरक पर्न थाल्यो ।
पञ्चायतले विभाजन गरेको जिल्ला र गाउँको नाम लिन थाले । अर्थात् पहिलेको गणतीय (१ देखि ५ नं. सम्मको) ठूलो भौगोलिक राष्ट्रियता पनि खुम्चेर जिल्लामा संकुचित हुनपुग्यो । पूर्वको ५ नं. खुम्चेर ताप्लेजुङे, धनकुटे, तेह्रथुमे आदि हुन पुगे । यस्तै अरुण पश्चिम भोजपुरे, खोटाङे, ओखलढुङ्गे हुँदै दोलखाली भए ।
वल्लो, माझ र पल्लो किरात
उपत्यका पूर्वमा एक समयमा वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बूवान) राष्ट्रियता प्रख्यात थियो । त्यस क्षेत्रको भूमि आवाद गर्ने रैथाने सभ्यतासँग जोडिएको यो राष्ट्रियतालाई अन्यथा लिंदा इतिहासको मजाक हुन्छ ।
कतिपय ऐतिहासिक लिखतमा भेटिने यो न्यायिक राजनैतिक–प्रशासनिक विभाजन अंकगणितवाला विभाजन र पञ्चायती विभाजनभन्दा उदार राष्ट्रिय पहिचान हो । तर त्यसयता पूर्वको राष्ट्रियता झनै संकीर्ण हुँदै गएको छ । २०४६ सालमा पञ्चायत गयो, प्रजातन्त्र आयो । तर पञ्चायती राष्ट्रिय धङधङी गएन । राष्ट्रिय पञ्चायत, अञ्चल, जिल्ला, नगर र गाउँ पञ्चायतका नाम मात्र फेरिए ।
जिल्ला पञ्चायत र गाउँ/नगर पञ्चायत, विकास समिति र नगरपालिका भए । राष्ट्रिय पञ्चायत प्रतिनिधिसभामा रूपान्तरण भयो । प्रतिनिधिको एकाध पद फरक पारिए । प्रधानपञ्च, प्रमुख र अध्यक्षमा परिवर्तन भयो । निर्दलीय निर्वाचनमा दलीय निर्वाचन हुने भयो बस् । मुलुकको राजनैतिक–प्रशासनिक विभाजनले समुदायको राष्ट्रियतालाई कुन हदसम्म खुम्च्याउँदै जान्छ भन्ने यो सानो दसी–प्रमाण हो ।
राष्ट्रियताको बयान
राजनैतिक विज्ञानको सिद्धान्तमा राष्ट्र भन्नाले चलनचल्ती भाकामा बुझे जस्तो देश वा कुनै राज्य होइन । राष्ट्र, एक विशेष क्षेत्र भएका मानिसहरूको ठूलो समुदाय हो । सामान्यतया एकल भाषा बोल्ने र सामान्यतया राजनीतिक चरित्र वा राजनीतिक आकांक्षा भएको समूह नै राष्ट्र हो ।
विश्वलाई व्याख्या गर्ने पूँजीवादी र साम्यवादी दुवै विश्व दृष्टिकोणले राष्ट्रको परिभाषा करिब–करिब एकमतले गरेका छन् । साम्यवादी दृष्टिकोण अनुसार साझा भाषा, साझा आर्थिक जीवन, साझा भूगोल र साझा मनोवैज्ञानिक संरचना भएको मानव समुदाय नै एउटा राष्ट्र हो ।
यस अर्थमा यी चार योग्यता पुगेका नेपालका थुप्रै जातीय समुदायहरू राष्ट्र हुन् । लिम्बू, किरात (राई), नेवाः, तामाङ, तमु (गुरुङ), मगर, थारू, शेर्पा, मधेशी, खस लगायतका जातीय समुदाय नै राष्ट्र हुन् ।
राष्ट्र अंग्रेजी शब्द ‘नेशन’को पर्यायवाची शब्द हो । नेशन शब्द ल्याटिन भाषाको ‘नेसियो’ शब्दबाट आएको हो । नेसियो शब्दको अर्थ जन्म र जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएका जनसमुदाय नै राष्ट्र हो । ब्रसेल्स नाम गरेका दार्शनिकले स्पष्टसँगै भनेका छन्– ‘एक नश्लसम्बन्धी एकताबद्ध यस्ता जनता हुन् जुन भौगोलिक एकताको कुनै भू–भागमा बसोबास गर्दछन् ।’
ब्रसेल्सले राष्ट्र निर्माणको ठोस आधार दिंदै जाति, समुदाय, आदत, प्रथा तथा धर्मको एकता जस्ता तत्वहरूद्वारा राष्ट्र निर्माण हुने उल्लेख गरेका छन् । यो स्पष्टोक्तिले जाति र नश्ललाई राष्ट्रको आधार मान्न तथ्य र तर्कपूर्ण कर लाग्छ ।
पहिचानको खोजी
दोस्रो जनआन्दोलनको सफलतापछि एकात्मक राज्यको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । तर संविधानले परिभाषा गरे बमोजिमको राष्ट्रको परिभाषा अनुसार राष्ट्रियताको बन्दोबस्त भएन । पहिलो संविधानसभाको विषयगत समिति राज्य पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समितिले प्रस्ताव गरेको राज्य रचना रद्दीको टोकरीमा फालियो ।
यसपछि गठित राज्य पुनर्संरचना आयोगको प्रस्तावलाई खारेज गरियो । त्यही दिनदेखि पहिचानमा आधारित राष्ट्रियता धरापमा पर्यो । प्रदेशहरू मधेश बाहेक सबै भौगोलिक आधारमा नामकरण भए । यसरी संघीयतालाई पञ्चायती भौगोलिक राष्ट्रियताको आधारमा वर्णसंकर बनाउने कामले प्राथमिकता पायो ।
आधारभूत अधिकारविहीन ठिमाहा प्रदेश यतिखेर विरानो टापु प्रदेश जस्तै भएको छ । प्रदेश रचनाको अपनत्व लिन कोही तयार देखिन्न । र, यो टापु प्रदेश पहिचान पक्षधर र संघीयता विरोधी दुवैको निशानामा परेको छ । कोशी नामकरण विरुद्ध पहिचान पक्षधरले निरन्तर संघर्ष गरिनै रहेका छन् ।
रहलपहल
कसैले स्वीकार गरे या नगरे पनि वर्तमानको राष्ट्रिय राजनीति दुई ध्रुवमा कित्ताबन्दी हुने क्रममा छ । पहिलो कित्ता पहिचान सहितको अग्रगामी संघीय लोकतान्त्रिक गणतन्त्र चाहने । दोस्रो प्रतिगामी कित्ता राजा सहितको एकात्मक हिन्दु अधिराज्य चाहने हुन् । तेस्रो कित्ता हिन्दुत्व सहितको गणतन्त्र चाहने हुन् ।
यही तेस्रो ढुलमुले यथास्थितिवादी कित्ताका कारण दोस्रो कित्ता उत्साहित भएको छ । गएको फागुन २५ र चैत १५ को खेलोफड्को दोस्रो कित्ताको त्यही उत्साहले ल्याएको अभ्यास हो । पहिलो र दोस्रो कित्ता कतातिर हो भनेर सोध्ने वास्तविक दिन घुमेर फेरि आउँदैछ । आफू कसमा ? यतिखेरको मूल प्रश्न हो । जवाफ दिने नदिने तपाइँकै विचार हो ।
प्रतिक्रिया 4