
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले मखन टोलमा भएको आगलागी घटनाबारे प्रभावकारी छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन् ।
- डंगोलले आगलागीबाट क्षति पुगेको क्षेत्रको अनुगमनपछि गहिरो अध्ययन र पीडितलाई क्षतिपूर्ति गर्ने विषयमा ध्यान दिन आग्रह गरिन् ।
- आगलागीबाट चार घरहरू जलेर क्षतिग्रस्त भएको थियो भने एक जना महिलाको ज्यान गएको थियो ।
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले ३१ वैशाखमा महानगरको वडा नम्बर २४ मखन टोलमा भएको आगलागी विषयमा प्रभावकारी छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिएकी छिन् ।
उनले गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन् । ३१ वैशाखमा मखन टोलमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक महिलाको जलेर ज्यान गएको थियो ।
आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरूपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँचतले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगलागी लगत्तै काठमाडौं महानगरपालिका उपप्रमुख डंगोल त्यहाँ पुगी अनुगमन गरेकी थिइन् ।
‘आगलागी हुनासाथ म आफैं अनुगमनमा गएर त्यहाँको वस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन, ‘काठमाडौं महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दुरीमा आगालागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासा पनि आएका छन् । यी सबै ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्यादभित्र रिपोर्ट बुझाउन लगाउनू भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएकी छु ।’

उपप्रमुख डंगोलले के–के कमजोरी भए, के–के गल्ती भए सबैको गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्न निर्देशन दिएको पनि उल्लेख गरिन् ।
‘मैले रिपोर्ट तयार गर्दा सरोकारवाला निकाय (एम्बुलेन्स, दमकल, स्थानीय, जनप्रतिनिधि) सबैसँग गहिरो छलफल गरेर यथार्थ रिपोर्ट दिनू भनेकी छु,’ उनले भनिन्, ‘रिपोर्ट तयार गर्दा पीडितलाई क्षतिपूर्तिको व्यवस्था के र कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि ध्यान दिनू भनेकी छु ।’
त्यो दिन दमकलमा पानी नभएको, बाटोमा निर्माण सामाग्रीले अवरोध गरेका कारण समयमा दमकल पुग्न नसकेको जस्ता गुनासा पनि आएको भन्दै ती सबै ध्यानमा राखेर छानबिन गर्न स्पष्ट निर्देशन दिएको पनि उनले जानकारी दिइन् ।
‘हामीले अनुगमनको कामलाई तीव्रता दिँदै आएका छौं । त्यो दिन आगलागी हुँदा भौतिक संरचनामा मात्रै क्षति भएको छैन, त्यहाँ मानवीय क्षति पनि भएको छ । त्यो गम्भीर कुरा हो,’ उनले भनिन्, ‘यस्ता कुरामा कमजोरी कसको भयो र किन भयो भनेर हामीले छानबिन समिति नै बनाएर त्यसको रिपोर्टका आधारमा के गर्ने भनेर अघि बढ्ने तयारी गरेका हौं । यसले आगामी दिनमा कतै लापरबाही भएको रहेछ भने कहाँ र कसबाट भयो भनेर पत्ता लगाउन सहज हुनेछ ।’
प्रतिक्रिया 4