+
+
Shares

चिनियाँ कम्पनी साओमीले चिप्स उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

रासस रासस
२०८२ जेठ ५ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साओमीले उच्च स्तरीय स्मार्टफोन चिप्स विकास गर्न ५० अर्ब युआन लगानी गर्ने योजना बनाएको छ।
  • लेई जुनले भने, ‘चिप्स निर्माण साओमीको लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामको नयाँ मार्ग हो।’
  • साओमीले २०१७ मा पहिलो आन्तरिक चिप ‘सर्ज एस १’ उत्पादन गरेको थियो, तर प्राविधिक र वित्तीय अवरोधले रोकिएको थियो।

५ जेठ, काठमाडौं। चिनियाँ विशाल प्रविधि कम्पनी साओमीले उच्च स्तरीय स्मार्टफोन चिप्स विकास गर्न ५० अर्ब युआन (६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।

स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय सवारी साधनसम्मका सामान बिक्री गर्ने साओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो ।

स्थापनाको १५ औं वर्ष मनाउँदै गर्दा संस्थापक लेई जुनले सामाजिक सञ्जालमा भनेका छन्, ‘चिप्स निर्माण साओमीको लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामका लागि एउटा नयाँ मार्ग हो त्यसैले यसको उत्पादनको नयाँ सुरूवातका लागि हामी निश्चित रूपमा सबै प्रयास गर्नेछौँ।’

साओमीको सेमीकन्डक्टर बनाउने महत्वाकाङ्क्षालाई पछ्याउँदै, फर्मले “कम्तिमा १० वर्षको र ५० अर्ब युआन लगानी’ गर्ने योजना विकास गरेको छ ।

साओमीले सन् २०१७ मा कम्पनीको पहिलो आन्तरिक चिप ‘सर्ज एस १’ को उत्पादन गरेसँगै स्मार्टफोनका लागि सेमीकन्डक्टरमा प्रारम्भिक कदम चालेको थियो तर प्राविधिक र वित्तीय अवरोधका कारण समूहले चिपको उत्पादन रोक्न बाध्य भएको थियो र त्यसपछि यसले अन्य समानका साथै विद्युतीय सवारी साधनमा पुनः ध्यान केन्द्रित गरेको छ।

‘यो हाम्रो ‘अँध्यारो इतिहास’ होइन । हामीले यात्रा गरेको बाटो यही हो,’ लेइले सोमबार लेखेका छन् ।

साओमीको चिप विकास कार्यक्रमले सन् २०२१ देखि दुई हजार ५०० भन्दा बढी कर्मचारीहरूको टोलीका लागि अनुसन्धान र विकास कोषमा १३.५ अर्ब युआन प्राप्त गरेको अर्बपति उद्यमी लेइले बताए ।

चीन र संयुक्त राज्य अमेरिका दुवैले सबैभन्दा उन्नत क्षेत्रमा पहुँच सुनिश्चित गर्न खोजिरहेका बेला यो घोषणा आएको हो।

‘साओमीले सँधै ‘चिप उत्पादनको सपना’ देखेको छ’, लेइले लेखेका छन् । ‘म सबैलाई यस मार्गमा हाम्रो निरन्तर अन्वेषणलाई समर्थन गर्न थप समय र धैर्य दिन हार्दिक अनुरोध गर्दछु।’

धेरै चिनियाँ फर्महरू विदेशी आपूर्तिकर्ताहरूमाथिको निर्भरताबाट आफूलाई मुक्त गर्ने उद्देश्यका साथ चीन आफ्नै चिप्स विकासका लागि पहल गरिरहेको छ ।

सन् २०२३ मा, साओमी र यसको प्रतिस्पर्धी हुवावेले चिपले सुसज्जित उच्च प्रदर्शन स्मार्टफोन अनावरण गरेको थियो जुन विशेषज्ञहरूले विदेशी प्रविधिहरू बिना उत्पादन गर्न असम्भव हुने बताएका थिए, जसले अमेरिकी प्रतिबन्धहरूको प्रभावकारिताको बारेमा प्रश्न उठाएको थियो ।

‘यो कदमले क्वालकमजस्ता अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम नयाँ च्याम्पियनहरूको उदय हुन सक्छ,’ परामर्शदाता फर्म उबिकका सीईओ पास्कल वियाउडले एएफपीलाई भने ।

बेइजिङले कम्पनीहरूलाई विदेशी प्रविधिमा निर्भरता घटाउन पनि दबाब दिएको छ ।

गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले यस क्षेत्रमा ‘आत्मनिर्भरता’ कायम गर्न आग्रह गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?