+
+
Shares

माधवको हात समाएर पार्टी बनाउन हिँडेकी रामकुमारीले नै उठाइन् तिखा प्रश्न

एकीकृत समाजवादी बनाउन हात थामेकी रामकुमारी झाँक्रीले अहिले उनै माधव नेपाललाई सिनोको संज्ञा दिएकी छन् । र, पार्टी पुनर्गठनको माग राखेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामकुमारी झाँक्रीले पार्टी पुनर्गठन र अध्यक्षमाथि संकटको विषय उठाउँदै सार्वजनिक अभिव्यक्ति दिइन्।
  • महासचिव घनश्याम भूसालले पार्टीको धारणा विपरीत नबोल्न निर्देशन दिए र पार्टीभित्र छलफल जारी छ।
  • अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा र पार्टी पुनर्गठनको एजेण्डामा पार्टीभित्र विवाद उत्पन्न भएको छ।

१५ असार, काठमाडौं । पूर्वमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको सार्वजनिक अभिव्यक्तिले नेकपा एकीकृत समाजवादी तरंगित बनेको छ । महासचिव घनश्याम भूसालले बक्तव्य सार्वजनिक गरेरै अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको मुद्दाबारे पार्टीको धारणा बिपरीत नबोल्न निर्देशन दिएका छन् ।

‘… पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरुको ध्यानाकर्षण गर्दछ’ बक्तव्यमा भनिएको छ, ‘साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन् भन्ने कुरामा हेक्का राख्न र कुनैपनि बाहनामा सार्वजनिक बाद–प्रतिबादमा नउत्रिन समेत सबैलाई आग्रह गर्दछु ।’

महासचिव भूसालले बक्तव्य जारी गरेरै वाद–प्रतिवाद रोक्न पार्टी पंक्तिलाई निर्देशन जारी गर्नुपर्ने अवस्थाले झाँक्रीको अभिव्यक्तिबाट उत्पन्न तरंगको तह बुझ्न सकिन्छ । पूर्वमन्त्री झाँक्रीले शनिबार युवा संघ लुम्बिनी प्रदेश कमिटीको कार्यक्रममा पार्टी पुनर्गठनको एजेण्डा उठाएकी थिइन् ।

उनले पार्टी अध्यक्षमाथि नै संकट आएको र पार्टी संकटमै रहेको निष्कर्ष प्रस्तुत गरेकी थिइन् । ‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?’ आफ्नै प्रश्नको जवाफमा झाँक्रीले भनेकी थिइन्, ‘अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? आइदर अर्लि महाधिवेशन गरौं अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनायौं ।’

तर यथास्थितिमा रहन नसकिने उनको जोड थियो । त्यसक्रममा माधव नेपाल सहित मुद्दा खेपिरहेका र आरोप लागेका नेताहरुलाई बिजाउनेगरी चर्कै उपमा प्रयोग गरिन् । ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कयौं पाटर्टीका सदस्यमाथि पनि समस्या आकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिड्न सकिँदैन’ झाँक्रीले भनेकी छन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन ? गरौं न त अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं ।’

एमालेबाट अलग भएर एकीकृत समाजवादी बनाएपछि माधव नेपालप्रति यो तहको शब्द प्रयोग संभवतः पहिलोपटक हो । र, संयोग– जसले एकीकृत समाजवादी बनाउन माधव नेपालको हात समातेकी थिइन्, उनै झाँक्रीले ‘मरेको सिनो’को उपमा दिइन् ।

पार्टी प्रवक्ता प्रकाश ज्वाला, रामकुमारी झाँक्रीको अभिव्यक्ति अराजक र अनुचित भएको बताउँछन् । ‘उहाँले बोल्नु भएको कुरा उचित भएन । अराजक भयो । कुनै नेताविरुद्ध र पार्टीविरुद्ध त्यसरी सार्वजनिक रुपमा बोल्नु राम्रो होइन’, उपाध्यक्ष ज्वाला भन्छन् । यो विषयमा पार्टीभित्र छलफल हुने उनी बताउँछन् ।

बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस् – Online Khabar

पार्टी पुनर्गठनको एजेण्डा भन्दा पनि रामकुमारी झाँक्रीले प्रयोग गरेको उपमाप्रति एकीकृत समाजवादीभित्र ठूलो आपत्ति देखिन्छ । उपाध्यक्ष जगनाथ खतिवडा त पार्टीलाई सिध्याउन लाग्नेहरुकै लयमा रामकुमारी झाँक्रीले सार्वजनिक अभिव्यक्ति दिएको बताउँछन् ।

‘माधव नेपाललाई कुनै ढंगले बिस्थापित गर्न सकियो भने एकीकृत समाजवादीलाई कमजोर पार्न सकिन्छ भन्ने सपना देख्नेहरुले यस्तो काम गरिरहेका छन्, त्यसप्रति हामी डरो उत्तर दिनेछौं’, खतिवडा भन्छन् ।

अर्थात् रामकुमारी झाँक्रीको यो अभिव्यक्ति एकीकृत समाजवादीभित्र पेचिलो विषय बन्न सक्ने देखिएको छ । सँगै, एकीकृत समाजवादीभित्र लामो समयदेखि रहेको उकुसमुकुसले निकास पाउने पनि देखिएको छ ।

एमालेबाट अलग भएर एकीकृत समाजवादी बनाएपछि माधव नेपालप्रति यो तहको शब्द प्रयोग संभवतः पहिलोपटक हो । र, संयोग– जसले एकीकृत समाजवादी बनाउन माधव नेपालको हात समातेकी थिइन्, उनै झाँक्रीले ‘मरेको सिनो’को उपमा दिइन् ।

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध मुद्दा चले यता नै एकीकृत समाजवादीभित्र उकुसमुकुस छ । अध्यक्ष नेपाल र उनी निकट नेताहरुले यसलाई राजनीतिक प्रतिशोध भन्दै आएका छन् ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरुले भने पार्टी बैठकमा छलफल हुने बताउने गरेका थिए । तर गत २१ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि लामो समय पार्टी बैठक नै बोलाइएन ।

गत ११ असारमा विशेष अदालतले पनि ३५ लाख धरौटी माग्दै तारेखमा बस्न आदेश दियो । यो आदेशपछि भने एकीकृत समाजवादीको सचिवालय बैठक, शुक्रबारदेखि बसिरहेको छ । र बैठकको पहिलो दिन नै माधव नेपालविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोध रहेको निष्कर्ष सार्वजनिक गरियो ।

राजनीतिक प्रतिशोधमा मुद्दा दर्ता भएकाले माधव नेपालले पार्टीको कुनैपनि भूमिका छोड्न आवश्यक नरहेको निष्कर्ष पनि प्रवक्ता प्रकाश ज्वाला मार्फत् सार्वजनिक भएको छ । जुन निष्कर्ष महासचिव भूसालले पार्टीपंक्तिलाई आज सम्झाएका छन् ।

तर पार्टीको निष्कर्षमा झाँक्री असहमत देखिइन् । स्रोतका अनुसार रामकुमारीले आफ्नो असन्तुष्टि अनौपचारिक तरिकाले नेताहरुलाई दिइसकेकी थिइन् । ‘हामी र घण्टी (रास्वपा) एउटै हौं र ? घण्टीले राजनीतिक प्रतिशोध भन्यो, हामीले पनि त्यही भन्ने हो र ?’ रामकुमारी झाँक्रीको असन्तुष्टि थियो, ‘यसरी त जनताले हामीलाई पत्याउनेवाला छैन, सुशासनको मुद्दालाई हलुका ढंगले लिन हुन्न ।’

तर जारी (१९ असारमा सक्नेगरी चलिरहेको बैठक) सचिवालयमा शुक्रबार र शनिबार बोलेका नेताहरुले रामकुमारीको चाहना बिपरीत बोले । ‘बोल्ने जति बैठक नेताहरुले अध्यक्षविरुद्ध चलेको मुद्दाकै बारेमा बोल्नुभएको छ । तर एकै जनाले पनि अध्यक्ष छोड्नुपर्छ, संसदीय दलका नेता छोड्नुपर्छ भनेका छैनन्’, बैठक स्रोत भन्छ, ‘बरु राजनीतिक प्रतिशोधमा मुद्दा चलाइएकै तर्क गरेका छन् ।’

बैठकमा बोल्न बाँकी नेताहरुको संख्या अब थोरै छ । अध्यक्ष माधव नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्षहरु जयन्ती राई र जगनाथ खतिवडा, महासचिव घनश्याम भूसाल, उपमहासचिवहरु राजेन्द्र राई र मेटमणि चौधरी बोल्न बाँकी छ ।

तर बोेलेका जति नेताहरुले एउटै निष्कर्ष निकालिरहँदा नेतृ रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको (माधव नेपाललाई पदमै राखिरहन नहुने) माग सार्वजनिक गरेकी छन् । उनको निष्कर्ष छ– मरेको सिनो बोकेर पार्टी बन्दैन ।

अध्यक्ष नेपाल निकट नेता जगनाथ खतिवडा भने रामकुमारी झाँक्रीको सपना पुरा नहुने बताउँछन् । ‘अर्काले गरेको षडयन्त्रमा माधव नेपालले नैतिकता देखाउनु जरुरी छैन’ उनी भन्छन्, ‘यो विषय माधव नेपालको व्यक्तिगत नभएर पार्टी सिध्याउने खेल हो, त्यसैले माधव नेपाललाई जोगाउन सिंगो कमिटी उभिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?