
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभरि २४ वटा क्यासिनो सञ्चालनमा छन् र चालु आर्थिक वर्ष २०८२/८३ का लागि सबै नवीकरण भएका छन्।
- सरकारले क्यासिनो सञ्चालनका लागि नयाँ नियमावली ल्याएको छ जसमा सुरक्षा मापदण्ड, चुक्ता पूँजी र पूर्वस्वीकृतिका सर्तहरू समावेश छन्।
- नयाँ नियमअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र खेल्न रोक लगाइएको छ र अनैतिक क्रियाकलाप गर्न निषेध गरिएको छ।
२० साउन, काठमाडौं । देशभरि दुई दर्जन क्यासिनो सञ्चालनमा रहेको पाइएको छ । पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि उक्त संख्यामा क्यासिनो नवीकरण भएका छन् ।
पाँचतारे सहित विभिन्न होटल परिसरमा सञ्चालित क्यासिनो संख्या २४ वटा रहेको देखिएको छ । विभागका अनुसार लैनचौरस्थित मल्ल होटलमा बेल्विज नेपाल प्रालिले क्यासिनो नवीकरण गरेको छ ।
त्यस्तै मेरिअट होटल परिसरमा डेल्टिन नेपाल प्रालिले क्यासिनो सञ्चालन गरिरहेको छ । सोल्टी होटल परिसरमा माजोङ इन्टरटेन्मेन्ट प्रालिको क्यासिनो छ ।
होटल अलफ्टमा वाल्डो डाइनेस्टी इन्टरटेन्मेन्ट प्रालिले क्यासिनो चलाइरहेको छ । स्ट्रिम पिक प्रालि नेपालगन्जमा इम्पेरियल इन्टरटेन्मेन्टको क्यासिनो छ । होटल मेची क्राउन परिसर झापामा भेगास रिक्रिएसन प्रालिको क्यासिनो नवीकरण भएको छ ।
यसैगरी रुपन्देहीस्थित होटल टाइगर वान परिसरमा रोयल टाइगर रिक्रिएसनको क्यासिनो छ । तारागाउँ रिजेन्सी होटल परिसर बौद्ध परिसरमा प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन प्रालिको क्यासिनो नवीकरण भएको विभागले जनाएको छ । झापास्थित होटल द किङ्सवरी परिसरमा किङ्सवरी इन्टरटेन्मेन्ट प्रालि क्यासिनो देखिएको छ ।
भैरहवास्थित नान्स होटल परिसरमा सिद्धार्थ गेमिङ जोन प्रालिको क्यासिनो छ । भ्यु होटल सिद्धार्थ नेपालगञ्जमा ज्याकपट गेमिङ सेन्टर सञ्चालनमा छ । होटल निर्वाणा भैरहवामा निर्वाना लक्जरी इन्टरनेसनल प्रालिको क्यासिनो छ ।
यसैगरी नेपालगञ्जस्थित ओम क्रयम्बकम इन्टरटेन्मेन्ट प्रालिको क्यासिनो छ । कास्कीको होटल माउन्ट कैलाश परिसरमा ताज इन्टरटेन्मेन्ट प्रालिको क्यासिनो सञ्चालनमा छ ।
कपिलवस्तुस्थित लुम्बिनी ग्रिन होटलमा ग्रिन ज्याकपट इन्टरटेन्मेन्टको क्यासिनो छ । मौर्य होटल भैरहवामा भने अपूर्व गेमिङ जोन प्रालिको क्यासिनो छ ।
पर्सास्थित दियालो होटल परिसरमा दियालो गेमिङ प्रालिको क्यासिनो छ । भैरहवास्थित एसियन होटल परिसरमा इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टरको क्यासिनो दर्ता भएको छ । भैरहवाको गार्डेन रिसोर्टमा डायमन्ड रिक्रिएसन प्रालिको क्यासिनो छ ।
बिग होटल परिसर विराटनगरमा च्याम्पियन जोन प्रालिको क्यासिनो नवीकरण भएको छ । होटल सिटी प्यालेस नेपालगञ्जमा सेपियर इन्टरटेन्मेन्ट नोक्नोलोजीले क्यासिनो चलाइरहेको छ । पर्सास्थित हिमाल वाटर पार्क एन्ड भिलेज होटलमा गोल्डेन फिंगर गेमिङ जोन प्रालिको क्यासिनो छ ।
त्यस्तै स्नेहा होटल नेपालगञ्जमा वेलिज इन्टरनेन्मेन्ट प्रालिको क्यासिनो छ । होटल रत्ना विराटनगरमा गोल्डेन कोइन क्यासिनो रहेको पर्यटन विभागले जनाएको छ ।
सरकारले क्यासिनो नियमन गर्न हालै नयाँ नियमावली ल्याएको छ । यो नियमावली अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटरभित्र क्यासिनो खोल्न इच्छुक लगानीकर्ताले अब तोकिएको सुरक्षा मापदण्ड पूरा गर्नुपर्छ । क्यासिनो खोल्न पूर्वस्वीकृति लिन चाहने व्यक्तिले पर्यटन विभागमा निवेदन दिनुपर्छ ।
त्यसक्रममा सीमाबाट ५ किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न चाहे सुरक्षा योजना सहित अन्तर्राष्ट्रिय सीमा सुरक्षा मूल्यांकन गरी प्रचलित कानुन बमोजिम जिल्ला सुरक्षा समितिले क्यासिनो सञ्चालनका लागि गरेको सिफारिस आवश्यक पर्छ ।
क्यासिनो स्थलमा कम्तीमा २० जना तालिम प्राप्त दक्ष सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने भएको छ । यसअघि नै सञ्चालनमा रहेका क्यासिनोले चैत २०८३ भित्र तोकिएको मापदण्ड पूरा गर्नुपर्ने गरी तोकिएको छ ।
सरकारले क्यासिनो स्थापना गर्दा आवश्यक चुक्ता पूँजीसमेत बढाएको छ । यसअघि २५ करोडको सीमा रहेको चुक्ता पूँजी ठूलो क्यासिनोका हकमा ३० करोड पुर्याइएको छ । साना क्यासिनो (मेसिन वा विद्युतीय उपकरणका माध्यमबाट खेलाइने) का हकमा २० करोड पुगेको नियमावलीमा उल्लेख छ ।
यस्तो चुक्ता पूँजी यसअघि सञ्चालनमा रहेका क्यासिनाले २०८५ चैत मसान्तभित्र पूरा गरिसक्नु पर्ने समेत नयाँ नियमावलीले समय तोकेको छ ।
चारतारे वा त्यसभन्दा माथिको होटलमा क्यासिनो खोल्दा अब उक्त होटल सञ्चालकले आफ्नो होटल वा रिसोर्ट परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको लिखित सहमति समेत पूर्वस्वीकृतिका बेला बुझाउनुपर्ने छ । कम्पनी सञ्चालक १८ वर्ष नपुगेमा कम्पनी सञ्चालन अनुमति दिइँदैन । एक होटल/रिसोर्ट परिसरमा एकभन्दा धेरै क्यासिनो चलाउन पाइने छैन ।
पूर्वस्वीकृति पाइसकेपछि सञ्चालन लाइसेन्स लिन पूर्वाधार तथा योग्यता सम्बन्धी सर्त पूरा गरेको हुनुपर्छ । नियमावली अनुसार चोरी वा ठगी हुन नदिन निगरानी गर्ने विद्युतीय पूर्वाधार निर्माण हुनुपर्ने गरी तोकिएको छ । हानि नोक्सानी अभिलेख तथा आन्तरिक र वाह्य नियन्त्रण प्रणालीको व्यवस्था गर्नुपर्ने भएको छ ।
त्यसैगरी कम्तीमा ४० हर्स पावर भएको अग्नि नियन्त्रण प्रणालीको व्यवस्था तोकिएको छ । सीसीटीभी क्यामराको फुटेजको अभिलेख ६ महिनासम्म भण्डारण गर्न सकिने हुनुपर्ने भएको छ । क्यासिनोमा अनुशासन कायम गर्न र भिड नियन्त्रण गर्न कम्तीमा ५ जना सुरक्षाकर्मी अनिवार्य गरिएको छ ।
यसबाहेक सुरक्षा, ग्राहक पहिचान, मनी लाउन्ड्रिङ सम्बन्धी नियमका सर्त तोकिएका छन् । इजाजतपत्र दस्तुर ठूलो क्यासिनोका हकमा १५ लाख र सानो क्यासिनोका हकमा १० लाख रुपैयाँ तोकिएको छ । इजाजतपत्र नवीकरण शुल्क भने ठूलो क्यासिनोलाई १ करोड ५० लाख र सानो क्यासिनोलाई ७५ लाख रुपैयाँ तोकिएको छ ।
साना क्यासिनोका हकमा न्यूनतम ५० जनालाई रोजगारी दिनुपर्छ । ठूलो क्यासिनोले १ सय ५० जनालाई रोजगारी दिनुपर्ने गरी सर्त तोकिएको छ । खेलाडीलाई ऋण वा सापटी दिई खेल खेलाउन नहुने समेत सर्त राखिएको छ ।
क्यासिनो स्थलभित्र अनैतिक, अमर्यादित वा आपराधिक क्रियाकलाप गर्न नहुने समेत कम्पनीको सर्तमा राखिएको छ । नेपाली परम्परा, संस्कृति र सामाजिक मर्यादा प्रतिकूल हुने गरी क्यासिनो खेलाउन समेत पाइने छैन । नेपाली खानाको परिकार प्रवर्द्धन गर्नुपर्ने भएको छ । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न र खेल्न रोक लगाइएको छ ।
प्रतिक्रिया 4