+
+
Shares

संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थाले

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १०:३२
गाडी फिर्ता गर्दै महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साह ।

१ असोज, काठमाडौं । संसदीय विषयगत समितिका सभापतिहरूले गाडी फिर्ता गर्न थालेका छन् । प्रतिनिधि सभा विघटन भएपछि उनीहरूले संसद सचिवालयबाट लिएको गाडी फिर्ता गर्न थालेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति छ । दुई वटा संयुक्त समिति छ । संयुक्त समितिमा समेत प्रतिनिधि सभा अन्तर्गतका सांसद नै सभापति थिए । १२ वटा विषयगत समितिका सभापतिमध्ये ६ वटा विष्यागत समितिका सभापतिले गाडी फिर्ता गरेका छन् ।

सबैभन्दा पहिले पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले गाडी फिर्ता गरेका थिए । त्यसपछि महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले गाडी फिर्ता गरे ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले पनि गाडी फिर्ता गरिसकेकी छन् । अर्थ समितिका सभापति सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुशुमदेवी थापाले गाडी फिर्ता गरेका छन् ।

बाँकी संसदीय विषयगत समितिका सभापतिले औपचारिक रुपमा गाडी वा गाडीको चाबी फिर्ता गर्न बाँकी रहेको संसद सचिवालयको सवारी शाखाले जनाएको छ । कतिपयको गडाी संसद सचिवालयमै रहेको तर, चाबी मात्रै फिर्ता गर्न बाँकी रहेको सवारी शाखाका प्रमुख प्रदीप नेपालले जानकारी दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाको गाडी संसद सचिवालयमै छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेको गाडी पनि संसद सचिवालयमै छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले पनि गाडी बुझाउन बाँकी रहेको छ ।

सभापतिका साथै राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले समेत गाडील सुविधा पाउँछन् । प्रतिनिधि सभा विघटन भएसँगै सबैले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।

सवारी शाखाका प्रमुख नेपालका अनुसार गाडी फिर्ताका लागि सात दिनको समय दिने गरिएको छ । भदौ २७ गते प्रतिनिधि सभा विघटन भएकाले त्यसको सात दिनभित्र संसदीय विषयगत समितिका सभापति र मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?