+
+
Shares

क्षणभरमै खरानी बनेको सीजी डिजिटल पार्क (भिडियो)

सुरुवातमै नियोजित रूपमा गरिएको त्यो आक्रमणले स्पष्ट गर्‍यो– यो केवल रिसको विस्फोट मात्र होइन, योजनाबद्ध विध्वंस थियो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ असोज २ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत भदौ २४ गते सतुगंलस्थित सीजी डिजिटल पार्कमा आक्रोशित भीडले विध्वंश मच्चाएर करिब ३ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ।
  • भीडले आगलागी नियन्त्रण उपकरण भत्काएर गाडीमा आगो लगाएको र गोदाम, प्रशासनिक भवनमा आगो फैलाएको बताइएको छ।
  • सीजी नेटको सर्भर भवन जलेर खरानी हुँदा सयौं कर्मचारीका परिवारको रोजगारी प्रभावित भएको छ।

२ असोज, काठमाडौं । गत भदौ २४ गते सतुगंलस्थित ‘सीजी डिजिटल पार्क’ मा कर्मचारीहरू सामान्य दिनजस्तै काममा लागिरहेका थिए । कोही सामान प्याकिङ गर्दै, कोही गाडीमा लोड गर्दै । दशैं–तिहार आउँदै थियो, बजारमा सामान पठाउने चटारो थियो । तर, त्यो व्यस्तता, चहलपहल सबै क्षणभरमै खरानीमा परिणत होला भन्ने कसैले सोचेका थिएनन् ।

दिउँसो एकाएक उग्र भीड पार्कको गेटमा आइपुग्यो । ढुंगामुढा सुरु भयो, फलामको गेट भाँचियो । रोक्न खोज्ने गार्डहरू असहाय बने, उनीहरूको प्रतिरोध भीडको आक्रोश अगाडि केही क्षणमै थामिएर हरायो । भित्र पस्ने बाटो खुल्यो र अनि सुरु भयो– विध्वंश ।

सुरक्षाका लागि राखिएका सीसी क्यामेराहरूले केही क्षणसम्म सबै दृश्य टिपे । तर, आफ्ना गतिविधि सार्वजनिक होला भन्ने डरमा आक्रोशित भीडले ती पनि भाँचिदियो । त्यसपछि प्रदशर्नकारीहरू खुला आकाशमा विध्वशं मच्चाउनतिर लागे ।

प्रवेशसँगै पहिलो निशाना बन्यो– आगलागी नियन्त्रण गर्ने उपकरण । एक लाख लिटर पानीको ट्यांकीलाई नै रित्याइयो, जेनेरेटरमा आगो लगाइयो । आगो निभाउने शक्ति सुरुमा नै हराएपछि बाँकी सबथोक आगोले खरानी बन्न पुगे ।

सुरुवातमै नियोजित रूपमा गरिएको यो आक्रमणले स्पष्ट गर्‍यो– यो केवल रिसको विस्फोट मात्र होइन, योजनाबद्ध विध्वंस थियो ।

जलेर खरानी बनेका सामान

त्यो दिन पार्कभित्रको वातावरण सामान्य थियो । करिब ३०० कर्मचारीहरू सामान लोड, प्याकिङ र तयारीमा व्यस्त थिए । दशैं–तिहार नजिकिँदै थियो, बजारतिर पठाउनका लागि तयारी चर्किएको थियो ।

एसी, फ्रिज, वासिङ मेसिनजस्ता सामान गाडीमा लोड भइसकेका थिए । तर, त्यो खुसी लामो टिकेन । आक्रोशित भीडले लोड भएका गाडीमै आगो लगाइदियो । गाडीको ट्याङ्कीबाट पेट्रोल निकालेर आगो थप्दै उनीहरू अघि बढे ।

गोदाम, प्रशासनिक भवन, एसेम्बलिङ कारखाना–सबैतिर आगो फैलियो । दिउँसो करिब २ बजे सुरु भएको यो विनाश राति अबेरसम्म चल्यो । जबसम्म नेपाली सेनाले राति १० बजे सुरक्षाको जिम्मा लिएन, तबसम्म भीडले आफ्नो क्रोध बर्साइरह्यो ।

विनाशकारी आगोले मात्रै नभई, लुटपाटले पनि सीजीलाई चोट पुर्‍यायो । कम्पनीले दाबी गरेको छ– करिब ४० लाख रुपैयाँ, चाँदीका सिक्का र अन्य सामग्री चोरी भए । साथै, प्रदर्शनकारीहरूले घर–घरमा पठाउन तयार राखिएका इलेक्ट्रोनिक्स पनि बोक्दै गए ।

त्यो दृश्यलाई सम्झँदा त्यहाँका कर्मचारीहरूको आँखाबाट आँसु झर्छ । ‘महिनौदेखि मेहनत गरेर तयार गरेका सामानहरू, क्षणभरमै जलाएर र लुटेर लगे,’ कर्मचारी भन्छन् ।

इन्टरनेट सेवा प्रदायक सीजी नेटको सर्भर भवन समेत जलेर खरानी भयो । केही समय सेवा अवरुद्ध भयो । रातारात रुपन्देहीबाट ब्याकअप ल्याएर सेवा सुरु भयो । तर, इन्टरनेट अवरुद्ध हुँदा  हजारौ प्रयोगकर्तालाई असुविधा दियो । त्यहाँ काम गर्ने सयौं परिवारहरूको रोजगारी, सुरक्षित भविष्यप्रति उनीहरूको विश्वास, सबै कुरामा आगो लाग्यो ।

तीन अर्बको क्षति

अनुमान अनुसार, केवल भौतिक क्षति मात्र ३ अर्ब रुपैयाँ बराबर छ । तर, मानसिक पीडा र भविष्यप्रतिको निराशालाई मापन गर्न सकिने अवस्था छैन । जलेको पार्क खरानी मात्रै भएन, त्यही दिनदेखि सयौँ कर्मचारीका परिवारहरूको आत्मवल, उनीहरूको सुरक्षित जीवनप्रतिको विश्वास पनि खरानी भएको छ ।

गत वर्षको यही समयमा, दशैं नजिकिंदै गर्दा सीजी डिजिटल पार्क भित्र र बाहिर चहलपहल हुन्थ्यो । गाडीहरू सामान बोकेर देशभर पठाइन्थे, कर्मचारीहरूलाई आराम गर्ने समय हुँदैनथ्यो ।

तर, यस पटक–त्यही पार्क सुनसान छ । भित्तामा कालो धुवाँको दाग, जलेका फलामका संरचना र खरानीमात्र बाँकी छन् ।

सीजी डिजिटल पार्क केवल एउटा कम्पनी मात्र थिएन, यो नेपालमा प्रविधि उत्पादन र रोजगारीको केन्द्र थियो । तर, केही घण्टाको आक्रोशले यो सबै मेटायो ।

जेनजी आन्दोलनका क्रममा भएको विध्वशंले सीजी पार्क खरानी र अस्थिपञ्जर बनेको छ । यो फेरि पुरानै लयमा फर्किन कति समय लाग्छ भन्ने यकिन छैन् ।

पार्कमा काम गर्दै आएका कर्मचारीहरूलाई अन्यत्र पठाइएको छ । केहीलाई सीजीको केन्द्रीय कार्यालय सानेपा तथा अन्य केहीलाई सीजी इन्डस्ट्रियल पार्क दुम्कीबासलगायत ठाउँमा पठाइएको हो ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?