+
+
Shares

भारी वर्षाले टुटायो देशभरको सडक सञ्जाल, दिनभर अरू के-के भयो ?

वर्षा नरोकिंदा अन्योलमा छन् यात्रु

दशैं मनाउन घर गएकाहरू कर्मथलो फर्कने क्रममा रहेका यात्रुहरू बीच बाटोमै परेका छन् । देशका मुख्य–मुख्य राजमार्ग नै अवरुद्ध छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २१:३६

१८ असोज, काठमाडौं । निरन्तरको भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातिदेखि सुरु भएको वर्षा शनिबार बिहानबाट देशैभर फैलियो ।

दशैं मनाउन घर गएकाहरू कर्मथलो फर्कने क्रममा रहेका यात्रुहरू बीच बाटोमै परेका छन् । देशका मुख्य–मुख्य राजमार्ग नै अवरुद्ध छन् ।

भोलि (आइतबार) बाट कार्यालय खुल्ने र काठमाडौं आइपुग्नैपर्ने बाध्यतामा धेरै थिए । यसैबीच सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गर्‍यो । जसबाट अलपत्र परेका र दशैं मनाउन जन्मथलो पुगेकाहरूलाई चिन्ता कम परेको छ ।

सरकारले बिहानैदेखि विभिन्न युनिटहरू परिचालन गरेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, ऊर्जा एवं भौतिक मन्त्रालय लगायतको समन्वयकारी भूमिकाले अहिलेसम्म ठूलो मानवीय क्षति भने भएको छैन् ।

केही दिनदेखि नै जारी भएका मौसम बुलेटिन, मौसविद्हरूको निरन्तरको खबरदारी र विपद् व्यवस्थापनमा सरकारले देखाएको चनाखोले पनि भारी वर्षाका बीच सर्वसाधरणहरू सूचनाको पहुँचमै बस्न सकेका छन् ।

राजमार्ग अस्तव्यस्त

उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गहरू धेरैजसो अवरुद्ध भएका छन् । कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडकखण्ड, पासाङ ल्हामु सडकखण्ड लगायतका राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् ।

राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा लाने प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

बीपी राजमार्गमा पर्ने रोशी खोलामा गत वर्ष असोजमा आएको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ ।

रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनीको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा निरन्तर ढुंगा खस्ने क्रम जारी छ । यद्यपि त्यहाँ केही घण्टादेखि एकतर्फी सडक खुलाइएको थियो ।

अहिले चितवन भएर जाने सबै सवारी साधन चलाउन रोक लगाइएको छ ।

यात्रुलाई होटलमा छुट

बीच बाटोमै अलपत्र परेका यात्रुहरूलाई होटल तथा खानाको प्रबन्ध पनि विभिन्न ठाउँमा मिलाइएको छ ।

काभ्रेको धुलिखेल, चितवनका विभिन्न होटल, कोशी राजमार्गका होटल लगायतका ठाउँमा व्यवसायीहरूले खाना तथा बासको व्यवस्था मिलाउन थालेका हुन् ।

गृह मन्त्रालयले पनि सहजीकरणका लागि स्थानीय प्रशासनलाई परिपत्र जारी गरिसहेको छ । सोही अनुसार ७७ वटै जिल्लामा आपतकालिन अवस्थामा सम्पर्क गर्ने नम्बर पनि सार्वजनिक गरेको छ ।

पाँचथर दुर्घटनामा ६ जनाले गुमाए ज्यान

पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छैन ।

लाङटाङ घुम्न गएका ४ जना बेपत्ता

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्य जानकारी गराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।

चट्याङबाट दुईको मृत्यु

कटहरिया नगरपालिका– २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।

आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन् ।

पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर) गौरमा ३०४.४ मिलिमिटर, गरुडामा २७०.४ मिलिमिटरमा पानी परेको छ ।

मौसमविद् एवं विशेषज्ञहरुले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना रहेकाले संकटको उच्च जोखिम कायमै रहेको चेतावनी दिएका छन् ।

विमानस्थल पनि प्रभावित

अविरल वर्षाका कारण मौसम सुधान नभएपछि हवाइ उडान पनि प्रभावित बने । आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएका छन् ।

केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन् ।

विमानस्थलले नयाँ सूचना जारी नभएसम्म यात्राका लागि ननिस्कन भनेको छ । त्यस्तै, एयरलाइन्स कम्पनीहरूले पनि सम्बन्धित निकायसँग सम्पर्क गरेर आगामी यात्रा तय गर्न भनेको छ ।

बिहानसम्मै जोखिम

आइतबार बिहानसम्म काठमाडौं उपत्यका र मधेशका पश्चिमी भागका जिल्लाहरुमा थप वर्षाको सम्भावना रहेको भन्दै जोखिममा रहेकाहररूलाई सुरक्षित ठाँउमा सार्नुपर्ने सुझाव दिएका छन् ।

आइतबारको अबेर बिहान भारी वर्षा हुने क्रम काभ्रेबाट पूर्वी क्षेत्रतर्फ सर्ने भन्दै उनीहरूले अब त्यता पनि जोखिमबाट बच्ने पूर्वतयारी थाल्नुपर्ने बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभिन्न मोडेलका आधारमा गरिएको पूर्वानुमान यथार्थपरक रहेको भन्दै काठमाडौं उपत्यकामा शनिबार राती अति भारी वर्षाको सम्भावना रहेको औंल्याए ।

‘तराईको वीरगञ्ज र आसपासको क्षेत्रमा जारी रेड अलर्ट अहिले पनि कायमै छ । काठमाडौं उपत्यकामा रातीदेखि पानी पर्ने प्रणाली अझै सक्रिय हुने अवस्था देखिएको छ’ महानिर्देशक जोशीले भने, ‘अझै संकट टरिसकेको छैन, आज रातभर अति भारी वर्षाको सम्भावना छ । सोमबारसम्म नै सतर्कता कायमै राख्नुपर्छ ।’

मधेशको पश्चिमी भागमा अति भारी वर्षा

पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार, पर्साको कालिकामाईदेखि रौटहटको गौरसम्मका अति भारी वर्षा भएको हो ।

कालिकामाईदेखि गौरसम्म मौसम पूर्वानुमान महाशाखाका आधा दर्जन वर्षामापन केन्द्र छन् । ती सबै केन्द्रमा एक दिनयता २ सय मिलिमिटर भन्दा बढी पानी परेको हो । २४ घण्छामा २ सय मिलिमिटर भन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ, जुन खतराको तहभन्दा माथि हो ।

रौतहटको मधेशपुर स्टेसनमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ । रौतहटको गौरुडामा २०७ मिलिमिटर वर्षा भएको छ । गौरमा २५४ मिलिमिटर वर्षा भएको छ ।

बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ । बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ ।

अलि उत्तरतिरको भागमा भने तुलनात्मक रुपमा कम पानी परेको देखिन्छ । पर्साको टाँडी, बाराको सिमरा विमानस्थल र निजगढमा भारी वर्षा भएको छ । ती ठाँउमा १५० मिलिमिटरको हाराहारीमा मात्रै पानी परेको देखिन्छ ।

विवरणहरू हेर्दा, रौतहटदेखि पूर्व जनकपुरसम्म मध्यम वर्षा भएपनि पश्चिमी भागमा जस्तो खतराको तह पार गर्नेगरी पानी परेको देखिँदैन ।

जोखिम अब पूर्वी नेपालतिर

भारतको मौसम विज्ञान विभागले विहार र उत्तरप्रदेशमा रेड अलर्ट जारी गरेको थियो । चीनको मौसम पूर्वानुमान प्रणालीले पनि आइतबारसम्मकै लागि भारी वर्षाको आँकलन गरेकाले आइतबारदेखि पूर्वी नेपालमा जोखिमबाट बच्ने तयारी गर्नुपर्ने देखिन्छ ।

आइतबार दिउसोतिर सर्ने विकसित प्रणालीले पूर्वी नेपालको इलाम र झापासम्म नै वर्षा गराउने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ । त्यतातिर सर्ने प्रणाली आइतबार दिनभर र राती पनि सक्रिय हुने भन्दै उनीहरुले सोमबारदेखि अवस्था सुधार हुने आँकलन गरेका छन् ।

‘महाभारत र चुरे क्षेत्रमा खहरे र साना बाढीको जोखिम छ, पहिरोको सम्भावना पनि उत्तिकै भएकाले त्यतातिर पनि सतर्क गराउदैछौं’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जोशीले भने, ‘जोखिमपूर्ण क्षेत्रमा रहेका बासिन्दाका लागि हामीले मोबाइलमा म्यासेज समेत पठाएका छौं । सुरक्षा निकायको समन्वयमा माइकिङ लगायतका काम पनि हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?