
२१ असोज, काठमाडौं । यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन् ।
तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कारद्वारा मंगलबार अपरान्ह सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।
विजेताहरूलाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिनेछ । यो पुरस्कार डिसेम्बर १० तारिखमा स्टकहोममा प्रदान गरिनेछ।
स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार, यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो ।
उनीहरूले चिपमा गरेका प्रयोगहरूले क्वान्टम भौतिकीलाई प्रत्यक्ष रूपमा देखाएका विज्ञप्तिमा उल्लेख छ ।
क्वान्टम मेकानिक्सले कणलाई एउटा अवरोध सीधै पार गर्न अनुमति दिन्छ, जसलाई टनेलिङ भनिन्छ।
सामान्यतया धेरै कणहरू संलग्न हुँदा यस्ता क्वान्टम प्रभावहरू हराउँछन्, तर विजेताहरूका प्रयोगहरूले क्वान्टम गुणहरू म्याक्रोस्कोपिक (ठूलो) स्तरमा पनि ठोस रूपमा देखिन सक्छन् भन्ने देखाएका छन् ।
उनीहरूले ‘म्याक्रोस्कोपिक क्वान्टम मेकानिक्स’ पत्ता लगाउने वैज्ञानिकहरूलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार विजेताहरूले प्रणालीले क्वान्टम सिद्धान्तअनुसार नै व्यवहार गर्छ अथवा ऊर्जा स्तरहरू क्वान्टाइज्ड हुन्छन्, जसले गर्दा प्रणालीले केवल निश्चित मात्रामा ऊर्जा सोस्छ वा उत्सर्जन गर्छ भन्ने प्रमाणित गरेका विज्ञप्तिमा उल्लेख छ ।
आज हाम्रो वरिपरि रहेका कम्प्युटरका माइक्रोचिपहरूमा प्रयोग हुने ट्रान्जिस्टरहरू नै क्वान्टम प्रविधिको एक स्थापित उदाहरण हुन्।
वैज्ञानिकहरूको आविस्कारले नयाँ पुस्ताको क्वान्टम प्रविधिको बाटो खोलेको र त्यसमा क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटरहरू र क्वान्टम सेन्सरहरू रहेका नोबेल पुरस्कार कमिटीले बताएको छ ।
क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गरेका हुन् भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गरेका थिए ।
‘सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो’, क्लार्कले आफ्नो जितबारे पत्रकारहरूसँग फोनमा प्रतिक्रिया व्यक्त गरे ।
नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूजस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्त्वपूर्ण आधार तयार गरेको छ ।
नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भने, ‘शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कारहरू प्रदान गर्दै आएको छ । यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ ।’
यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९औँ पटक हो । गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त गरेका थिए ।
नोबेल पुरस्कारको घोषणा बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ । अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिनेछ ।
पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्विडेनका उद्योगपति तथा पुरस्कारका संस्थापक, डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको (निधन सन् १८९६) को पुण्यतिथिमा आयोजना हुनेछ ।
प्रतिक्रिया 4