
५ कात्तिक, काठमाडौं । यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव परेको छ ।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक-दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।
मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
तिहारको टीकाको दिन बिहीबार पनि आजको जस्तो मौसम रहने पूर्वानुमान गरिएको छ । बिहीबार टीकाको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने पूर्वानुमान छ । जसका कारणले पहाडी क्षेत्रका एक-दुई ठाउँमा वर्षा हुनेछ ।
टीकाको दिन बिहीबार कोशी र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको तिहार विशेष बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया 4