२९ कात्तिक, काठमाडौं । नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) सुरु भएको छ । अक्षरा स्कुलसहित उपत्यकाभित्रका विभिन्न नौवटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २०५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन सुरु भएको हो ।
व्यवसायी तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको प्रमुख आतिथ्यमा सो कार्यक्रमको औपचारिक उद्घाटन भएको विद्यालयले जनाएको छ ।
कक्षा कोठामा प्रदान गरिने किताबी ज्ञानका साथै अतिरिक्त ज्ञान तथा सिप विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष एएमयुएन सञ्चालन गर्दै आएको छ । जीवनोपयोगी सिप सिकेर विश्वस्तरीय जनशक्ति निर्माणका लागि एएमयुएन विद्यार्थीलाई सहयोग गर्ने खुट्किलो बनेको एएमयुएन सल्लाहकार अनमोल घिमिरे बताउँछन् ।
‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त एक विद्यालयस्तरीय शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न कमिटीमा विभिन्न देशका प्रतिनिधि बनेर ती देशका अन्तर्राष्ट्रिय नीति र दृष्टिकोणका साथै विश्वव्यापी मान्यताको अध्ययन, विश्वमा उत्पन्न समस्या र तिनको समाधान गर्ने प्रयास गर्दछन् ।
उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रत्येक दिन एएमयुएनका सत्रहरूको अवलोकन गर्ने विद्यालयले जनाएको छ ।
कात्तिक ३० गते आइतबारसम्म हुने सो कार्यक्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्, सामाजिक, मानवीय र सांस्कृतिक मुद्दा समिति, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, अपराध रोकथाम तथा फौजदारी न्याय आयोग र अन्तर्राष्ट्रिय प्रेस गरी नौवटा कमिटीमा विद्यार्थीहरूले छलफल गर्नेछन् । साथै सो कार्यक्रमको संयोजन विद्यार्थी आफैँले गर्नेछन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सौरभ ज्योति, युएन प्रतिनिधि तथा प्रवक्ता रेश्मी सुनार, फेका अध्यक्ष श्रीराम दाहाललगायतले आआफ्नो धारणा राखेका थिए । प्रमुख अतिथि ज्योतिले चुनौती आइरहने भएकाले ती चुनौतीसँग सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । युवा पुस्ताले ठुलो सपना देख्नुपर्ने र त्यसलाइ पूरा गर्नका लागि १० वर्षे योजना बनाएर हरेक घण्टा, हरेक दिन, महिना सचेत हुँदै अगाडि बढ्नुपर्ने बताए ।
आफूले लिएको लक्ष्यमा समुदायको हित पनि समाहित हुनुपर्ने उनको धारणा थियो । राजनीतिक परिवर्तन, आर्थिक असमानता, सामाजिक विभाजनजस्ता चुनौतीहरूले नयाँ पुस्ताको भविष्यलाई प्रत्यक्ष असर गरिरहेकाले अहिलेको विद्यार्थी पुस्ता सजगताका साथ अघि बढ्नुपर्ने बताए । उनका अनुसार यी चुनौतीबाट बच्न होइन, समाधान खोज्न युवावर्ग अगाडि उभिनुपर्ने आवश्यकता छ ।
एमयुएन भावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरू सिकाउने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको फेका अध्यक्ष दाहालले बताए । ‘वास्तविक विश्वका कूटनीतिक चुनौती, संस्कार र संस्कृति आदानप्रदान तथा सञ्जालका लागि एमयुएनले विद्यार्थीलाई एक अवसर प्रदान गरेको छ,’ उनले भने ।
शिक्षण सिकाइमा यस्ता कार्यक्रमले थप टेवा पुर्याउँदै नवीन सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने युएन प्रवक्ता तथा कार्यक्रमकी मुख्य वक्ता रेश्मी सुनारले बताइन् । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूप्रति नेपालको निरन्तर प्रतिबद्धतालाई एमयुएनले प्रतिबिम्बित गर्दै शिक्षा, समानता र वातावरणीय जागरूकता प्रवर्द्धन गर्ने उनको धारणा थियो ।
कार्यक्रममा फेका अध्यक्ष श्रीराम दाहाल, काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामुदायिक रेडियो प्रसारक संघ नेपालका कार्यक्रम व्यवस्थापक विशाल भट्टराई, गोठाटार इंग्लिस स्कुलका प्रधानाध्यापक रामेश्वर दाहाल, न्यू स्टारपोल स्कुलका प्रधानाध्यापक राजीव शर्मा, गोल्डेन वड स्कुलका प्रधानाध्यापक हरिश श्रेष्ठ, स्प्रिङ हिल स्कुलका प्रधानाध्यापक सुन्दर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयले विगत ८ वर्षदेखि एएमयुएन सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया 4