+
+
Shares

धनुषा-२ : उम्मेदवारलाई आश्वासन बाँड्दै ठिक्क, मतदाता दिक्क

निलगाई, बँदेल जस्ता जंगली जनावरले बालीनाली क्षति पुर्‍याउँदा धनुषा–२ का मतदाता दिक्क छन् । उम्मेदवारलाई भने आश्वासन बाँड्दै ठिक्क छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ माघ १६ गते २०:०६
बायाँबाट क्रमशः झपसी कापर, तिरपित मुखिया र रामकुमार पासवान ।

१६ माघ, जनकपुरधाम । धनुषा कमला नगरपालिका–२ का झपसी कापर शुक्रबार मध्याह्न गाउँ नजिकैको भट्टामा इँटा बनाउन व्यस्त थिए । बिहान–साँझको छाक टार्न हरेक दिन इँटा भट्टामा पुग्नु उनको दैनिकी हो ।

कापरले प्रतिगोटा इँटा बनाएको १ रुपैयाँ २५ पैसा पारिश्रमिक पाउँछन्, र त्यही पैसाले परिवार पाल्छन् । सधैं काममा व्यस्त हुने कापरलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले खासै छोएको छैन । उम्मेदवारबारे पनि उनी अनभिज्ञ छन् ।

‘दिनभर इँटा बनाउनमै व्यस्त हुन्छु । एक दिनमा ५–६ सयसम्म इँटा बनाउँछु । रोजीरोटी यही हो,’ धनुषा–२ का मतदाता कापरले भने, ‘क्षेत्रमा को–को उम्मेदवार छन्, मलाई थाहा छैन । जितेर गएपछि कोही फर्केर हेर्दैनन् । काम नगरी गरिबको पेट चल्दैन ।’

झपसी कापर

यस क्षेत्रमा नेपाली कांग्रेसबाट दिनेशप्रसाद प्रसैला, नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रामचन्द्र झा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामविनोद यादव, जनता समाजवादी पार्टीबाट पशुपति यादव र जनमत पार्टीबाट सुरेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महेश्वर यादव र विभिन्न दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

२०७९ सालको निर्वाचनमा धनुषा–२ बाट काग्रेसका रामकृष्ण यादव विजयी भएका थिए ।

यहाँका मतदाता विगतमा जनप्रतिनिधिप्रति खासै सन्तुष्ट छैनन् । जितेर गएपछि मतदाताका सुखदु:खमा फर्केर नहेर्ने गरेको उनीहरूको गुनासो छ ।

‘जितेर गएका नेता फेरि फर्केर आएनन् । गाउँलाई हेरेनन् । हेर्नुस् सडकको अवस्था,’ शुक्रबार दिउँसो धनुषाको शहीद नगरपालिका–४ ननुपट्टीमा सडकछेउ आगो तापिरहेका एक स्थानीयले भने ।

जनकपुर–यदुकोहा सडक कालोपत्रे भए पनि सो स्थानमा करिब डेढ सय मिटर सडक वर्षौंदेखि कच्ची छ । सुक्खामा धुलो र वर्षामा हिलोका कारण सास्ती भोग्नु स्थानीयको नियति बनेको छ । कहिलेकाहीँ दुई–चार टिपर ग्राभेल हाल्ने र धेरै बिल भुक्तानी गरी अनियमितता गर्ने गरिएकोले यसपटक नयाँलाई मत दिने उनीहरूको भनाइ छ ।

यस क्षेत्रका धेरैजसो बासिन्दाको जीवनयापनको स्रोत कृषि हो । तर पछिल्ला वर्षमा बालीनालीमा जंगली जनावरको आतंक छ । खेतीपातीमा मिहिनेत र लगानी गर्दा जंगली जनावर निलगाई र बँदेलले पुर्‍याएको क्षतिले किसानहरू दिक्क छन् ।

‘जंगली सुँगुरले धेरै दु:ख दिएको छ । आलु, कोबी जस्ता बाली खाइदिन्छ । किसानलाई अत्यधिक क्षति पुर्‍याइरहेको छ,’ विदेह नगरपालिका–७, तिनकौरियाका श्याम पण्डितले गुनासो गरे । तर जितेर जाने नेता यस बारे गम्भीर नभएको उनको गुनासो छ । ‘जंगली जनावरले बालीनालीमा पुर्‍याइरहेको क्षतिबारे कुनै पनि नेताले वास्ता गर्दैनन् ।’

अब कसलाई मत दिने भन्नेबारे सोच्नुपर्ने समय आएको उनले बताए ।

यस्तै गुनासो कमला नगरपालिका–२, माचीका सोनेलाल यादवको छ । उनी भन्छन्, ‘आज किसान कसरी बाँच्ने भन्ने नै संकट आएको छ । निलगाई र जंगली सुँगुरको आतंक छ । यसको समाधान किन नेताहरूले खोज्न चाहँदैनन् ? जितेर गएपछि सबै आफ्नै लागि गर्छन् । जनतालाई हेर्ने कोही छैनन् ।’

किसान मात्र होइन, दलित, विपन्न र अशक्त समुदायका पनि विगतमा निर्वाचित उम्मेदवारले खासै केही नगरेको गुनासो छ । यसै क्षेत्रमा पर्ने जनकनन्दनी गाउँपालिका खजुरीका अशक्त रामकुमार पासवानले खानेपानीका लागि एउटा हातेकल समेत नदिएको दुखेसो पोखे ।

‘विगतमा पटक–पटक मत दिएर जितायौँ । धनीमानीलाई कल दिए । तर हामीलाई खानेपानीका लागि एउटा कल पनि दिएनन्,’ उनले गुनासो गरे, ‘सबै नेता आफ्ना लागि मात्र लागेका छन् । सबैलाई देखिसकें ।’

ह्विलचेयरमा मात्र हिँड्न सक्ने पासवानले गरिब, विपन्न र आफूजस्ता अशक्तलाई पनि राज्यले हेर्नुपर्ने अपेक्षा राख्दै मत परिवर्तनको संकेत गरे ।

यसै क्षेत्रमा पर्ने औरही गाउँपालिका–२ देउरीका तिरपित मुखिया विगतमा मत दिए पनि सडक बाहेकको काम नगरेको गुनासो गर्छन् । माछा छान्ने जाल सिउँदै गरेका उनले अब कसलाई मत हाल्ने भन्ने सोचेका छैनन् ।

तिरपित मुखिया

संघीयता आएपछि यस क्षेत्रमा सडकको अवस्था केही सुधार भएको छ । कृषि क्षेत्रमा सिंचाइका लागि बोरिङ तथा स्यालो ट्युबवेलको व्यवस्था गरिएको छ । तर शिक्षा र स्वास्थ्य क्षेत्रमा भौतिक संरचना फेरिए पनि गुणस्तर र सेवामा खासै सुधार नभएको स्थानीयको भनाइ छ ।

विगतका उम्मेदवारले जितेर गएपछि अपेक्षित काम नगर्दा मतदातामा आगामी चुनावप्रति खासै उत्साह देखिँदैन । उम्मेदवार भने घरदैलो तथा चुनावी कार्यक्रम गरेर मतदाता रिझाउन व्यस्त छन् ।

धनुषा–२ मा १ लाख ३४ हजार ८२६ मतदाता छन् ।

पुरानालाई नयाँको चुनौती

धनुषा–२ मा पुरानासहित नयाँ प्रतिस्पर्धी पनि चुनावी मैदानमा छन् । २०७९ को चुनावमा कांग्रेसका रामकृष्ण यादवले जितेका थिए भने २०७४ को चुनाव तत्कालीन संघीय समाजवादी फोरम नेपालका उमशंकर अरगरिया निर्वाचित भएका थिए ।

२०७९ मा कांग्रेसका यादवले १५७ मतको झिनो अन्तरले एमालेका उम्मेदवार अरगरियालाई पराजित गरेका थिए । यादव २० हजार ११२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी अरगरियाले १९ हजार ९५५ मत पाएका थिए ।

तेस्रोमा तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झा १३ हजार ६०५, जसपा नेपालका आनन्द यादव १२ हजार ९०१ र जनमतका जयनारायण साहले ९ हजार ९९२ मत ल्याएका थिए ।

२०७४ मा अरगरियाले संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मत ल्याएर जित निकालेका थिए । दोस्रोमा तत्कालीन नेकपा माओवादी केन्द्रका रामचन्द्र झाले १८ हजार ७१५ मत पाएका थिए भने तेस्रोमा कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

रामचन्द्र झा र अरगरिया पुराना प्रतिस्पर्धी हुन् । यद्यपि, यी दुई अनुहारले विगतमा दलबदल गर्ने गरेको देखिन्छ । २०७९ को चुनावको मुखमा अरगरिया जसपा छाडेर एमालेमा गई टिकट लिएर चुनाव लडेका थिए । कांग्रेसका उम्मेदवार प्रसैला दोस्रो संविधानसभामा तत्कालीन धनुषा–१ बाट प्रत्यक्ष जितेका थिए ।

रामकुमार पासवान

विगतको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा पुराना दलका प्रतिस्पर्धी बलिया देखिन्छन् । यद्यपि, पुराना अनुहारप्रति जनतामा देखिएको असन्तुष्टिले नयाँ अनुहार चुनौती बन्न सक्ने देखिन्छ ।

नयाँ दल रास्वपाको यस क्षेत्रमा भुईं तहमा संगठन छैन । यसै क्षेत्रमा समाजसेवीका रूपमा काम गरिरहेका जयनाथ अधिकारी रास्वपाबाट उम्मेदवार बन्न चाहेका थिए । तर रास्वपाले टिकट नदिएपछि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

धनुषा–२ मा ७ पालिकाका ४४ वडा पर्छन् । कमला नगरपालिकाका ९, शहीदनगर नगरपालिकाका ९, जनकनन्दनी गाउँपालिकाका ६ र औरही गाउँपालिकाका ६ वटा वडा यस क्षेत्रमा पर्छन् ।

त्यसैगरी विदेह नगरपालिकाका १ देखि ८, हंसपुर नगरपालिकाको वडा नम्बर १, ४, ६, ९ र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १७ र १८ गरी जम्मा ४४ वडा पर्छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?