+
+
Shares

तुलसी घिमिरे निर्देशित ‘पहाड’ १ बैशाखमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १२:३७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड' आउँदो १ बैशाख २०८३ देखि प्रदर्शनमा आउने भएको छ।
  • फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र सामाजिक आर्थिक समस्यालाई चित्रण गर्छ।
  • फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की लगायत कलाकारको अभिनय छ र कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री बनेकी छिन्।

काठमाडौं । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । यो फिल्म आउँदो १ बैशाख, २०८३ देखि प्रदर्शनमा आउने जनाइएको छ ।

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्‍याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

उनले हने, ‘वितरकसँग छलफल गरेर प्रदर्शन तय गरेका हौँ । नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर डेट तय गरेका हौँ । फिल्मको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स-परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौँ ।’

‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए ।

उनले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्म हेरिरहदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेणुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक छन् । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?