News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'वन ब्याटल अफ्टर एनदर'ले व्यक्ति, विचार, सत्ता र समयबीचको अन्तहीन टकरावलाई केन्द्रमा राख्दै मानसिक द्वन्द्व र नैतिक संकटको गहिरो अध्ययन गरेको छ।
- निर्देशक पौल थोमस एन्डर्सनले संयमित निर्देशन र नवीन छायांकनमार्फत समकालीन राजनीति र समाजको विरोधाभासलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको छ।
- फिल्मले संघर्षको निरन्तरता र शक्ति संरचनाको अपरिवर्तित खेलमाथि प्रश्न उठाउँदै सामाजिक जिम्मेवारी र कलात्मक साहसको सन्देश दिन्छ।
अहिले विश्व फिल्ममा दुईथरी दर्शक देखिन्छन्– एकथरी ‘वन ब्याटल आफ्टर एनदर’ हेर्ने, अर्काथरी नहेर्ने । बीचको ठाउँ प्रायः खाली छ ।
यस वर्ष अस्कर जित्ने बलियो दाबेदार मानिएको यो फिल्ममा त्यस्तो के छ भन्ने बुझ्न हेर्नैपर्छ । नहेर्दा जीवन रोकिन्न, तर ‘हेर्न पाइएन’ भन्ने सानो खट्को जस्तै बाँकी रहन्छ ।
नेपाली हलमा प्रदर्शन हुँदा छुटेको फिल्मलाई मैले ल्यापटपमै हेरेर केलाउने प्रयास गरेको छु । तर हेर्नुपर्ने त ठूलै पर्दामा हो, किनकि फिल्म कथा मात्र होइन– ध्वनि र दृश्यभाषा पनि हो ।
शीर्षकले नै संकेत गर्छ– जीवन र समाज निरन्तर संघर्षको मैदान हो, जहाँ एउटा लडाइँ सकिन नपाउँदै अर्को सुरु भइसकेको हुन्छ । यो फिल्म युद्ध वा द्वन्द्वको कथा मात्र होइन, व्यक्ति, विचार, सत्ता र समयबीचको अन्तहीन टकरावको गहिरो अध्ययन हो । फिल्मले बाहिरीभन्दा मान्छेभित्रको युद्धलाई बढी महत्व दिएको छ– मानसिक द्वन्द्व, नैतिक संकट, राजनीतिक दबाब र अस्तित्वका प्रश्नलाई केन्द्रमा राख्दै।
कथा मुख्य पात्र (लियोनार्दो डिक्याप्रियो)सँगै अघि बढ्छ । उसले समाज, राज्य र व्यक्तिगत जीवनका विभिन्न चरणमा संघर्षको सामना गर्छ । निजी समस्याबाट सुरु भएको उसको कथा राजनीतिक र सामाजिक आयामतर्फ विस्तार हुन्छ । पात्रले आफूलाई विशाल व्यवस्थाभित्रको सानो हिस्साजस्तो महसुस गर्छ– जहाँ निर्णय माथिबाट लिइन्छन्, तर असर तलसम्म पर्छ ।
निर्देशक पौल थोमस एन्डर्सनले यस फिल्ममार्फत व्यवस्था, समाज र राजनीतिप्रति तिखो टिप्पणी गरेका छन् । कथावाचन ‘लिनियर’ शैलीमा छ । फ्ल्यासब्याक र प्रतीकात्मक दृश्य घटनाक्रम बुझाउन मात्र होइन, पात्रको मानसिक अवस्थालाई अनुभूत गराउन प्रयोग गरिएका छन् । कथा अगाडि बढ्दै जाँदा दर्शकले महसुस गर्छ– लडाइँ केवल बन्दुक र बारुदको हुँदैन, विचार, पहिचान र न्यायका लागि पनि लडाइँ हुन्छ ।
संयमित तर तीक्ष्ण निर्देशन
निर्देशक एन्डर्सनको शैलीले फिल्मलाई भावनात्मक र बौद्धिक दुवै स्तरमा प्रभावशाली बनाएको छ । दृश्यमा अनावश्यक नाटकीयता छैन, बरु शान्त, संयमित र गहिरो प्रस्तुति छ । छायांकनले युद्ध र शान्तिबीचको विरोधाभास उत्कृष्ट रूपमा देखाइएको छ । उज्यालो–अँध्यारोको खेल, भीड र एकान्तको द्वन्द्व, विशाल परिदृश्यभित्र सानो पात्रको उपस्थिति, यी अन्तरविरोधमार्फत निर्देशकले समाकालीन राजनीति र समाजलाई उघारेका छन् ।
छायांकन शैलीमा नवीन प्रयोग छ, जसले फिल्मलाई यथार्थपरक बनाएको छ । संगीतको प्रयोग न्यून छ, तर जहाँ छ, त्यहाँ प्रभावकारी छ । यहाँ मौनता पनि एक प्रकारको संगीत बनेको छ, जसले दृश्यलाई अझ गहिरो बनाउँछ ।

मुख्य भूमिकामा देखिएका डिक्याप्रियोको अभिनय सशक्त र विश्वसनीय छ । उनले भित्री द्वन्द्व, निराशा, आशा र विद्रोहलाई सूक्ष्म रूपमा व्यक्त गरेका छन् । पात्र नत आदर्शवादी छ, न पूर्णरूपमा खलनायक, ऊ कमजोरी र सीमासहितको मानवीय चरित्र हो । यही यथार्थपरक चित्रणले फिल्मलाई जीवन्त बनाएको छ ।
सहायक पात्रहरू पनि कथामा महत्वपूर्ण छन् । प्रत्येक पात्रले कुनै न कुनै विचारधाराको प्रतिनिधित्व गर्छ– कसैले सत्ता, कसैले प्रतिरोध, कसैले सम्झौता । यी अन्तरक्रियाले कथालाई बहुआयामिक बनाएका छन् । महिला पात्रको उपस्थिति उल्लेखनीय छ, जसले संघर्षलाई पुरुषप्रधान दृष्टिकोणमा सीमित नराखी व्यापक सामाजिक सन्दर्भमा व्याख्या गर्छ ।
विषय, सन्देश र समय
फिल्मको मुख्य सन्देश स्पष्ट छ– संघर्षको अन्त्य हुँदैन, त्यसको स्वरूप मात्र बदलिन्छ । एउटा युद्ध सकिएपछि अर्को सुरु हुन्छ– राजनीतिक, आर्थिक वा सांस्कृतिक रूपमा । सत्ताको संरचना समयसँगै फेरिए पनि शक्ति र नियन्त्रणको खेलउस्तै रहन्छ ।
फिल्मले व्यक्तिको नैतिक जिम्मेवारीमाथि पनि प्रश्न उठाउँछ– अन्याय देख्दा मौन बस्नु पनि त्यसमा सहमति जनाउनु हो ? व्यक्तिगत सुरक्षाका लागि सम्झौता गर्नु कति जायज छ ? निर्देशक एन्डर्सनले यी प्रश्नको उत्तर दर्शकमै छाडेका छन् ।
‘वन ब्याटल आफ्टर एनदर’ आजको जटिल विश्व राजनीतिसँग प्रत्यक्ष रूपमा जोडिन्छ । शक्ति राष्ट्रबीचको प्रतिस्पर्धा, क्षेत्रीय युद्ध, शरणार्थीसंकट, मानवअधिकारका मुद्दा र सूचनाको युद्धले संसारलाई अस्थिर बनाइरहेका छन् ।
विश्व कूटनीति र अमेरिकी राजनीतिमा रुचि भएकाहरूले यसलाई अझ गहिराइमा अनुभूत गर्न सक्छन् । यो अमेरिकाको कथा मात्र होइन, विश्व राजनीतिमा जेलिएको अन्तहीन कथाको रूपक हो । कताकता यसमा नेपाली राजनीतिको जटिलता र बिडम्बनाको झल्को पनि भेटिन्छ ।
फिल्मले ‘प्रोपोगान्डा’ र सत्यबीचको द्वन्द्वलाई पनि देखाउँछ । डिजिटल युगमा सूचना स्वयं हतियार बनेको छ । गलतसूचना, आधा सत्य र योजनाबद्ध प्रचारले समाजलाई विभाजित गर्छ । फिल्मले यस विषयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै समकालीन दर्शकलाई गहिरो रूपमा छुन्छ ।
समाजमा बढ्दो ध्रुवीकरण, पहिचानको राजनीति र असमानता आजका प्रमुख मुद्दा हुन् । फिल्मले यिनै समस्यालाई कथाको पृष्ठभूमिमा राख्छ । पात्रबीचको द्वन्द्व केवल व्यक्तिगत होइन, त्यो वर्ग, जातीयता, विचारधारा र अवसरको असमानतासँग पनि जोडिएको छ ।
सामाजिक जिम्मेवारी र कलात्मक साहस
‘वन ब्याटल आफ्टर एनदर’ आधुनिक फिल्म निर्माणको सशक्त उदाहरण हो । यसले भव्य सेट, चमकधमक वा चर्का संवादभन्दा गहिरो कथावाचनमा जोड दिएको छ । ‘ग्लसी’ दृश्य र कर्पोरेट सूत्रमा केन्द्रित भइरहेका फिल्मबीच यसले कथावस्तु र सन्देशलाई प्राथमिकता दिएको छ ।
यथार्थवाद र प्रतीकलाई सन्तुलित रूपमा प्रयोग गर्नु एन्डर्सनको विशेषता हो । यहाँ श्याम–श्वेत पात्र छैनन्, सबै खैरो रङका छन् । यही जटिलताले कथालाई विश्वसनीय बनाएको छ ।

यो फिल्मले मनोरञ्जन मात्र होइन, बौद्धिक संलग्नता पनि दिन्छ । यस अर्थमा, यो अनुकरणीय छ– विशेषगरी सामाजिक जिम्मेवारी र कलात्मक दृष्टिकोणलाई सँगै अघि बढाउन चाहने फिल्म निर्माताका लागि ।
अन्ततः, ‘वन ब्याटल आफ्टर एनदर’ मानव अस्तित्वको निरन्तर संघर्षको गहिरो रूपक हो । यसले व्यक्ति, समाज र राज्यबीचको सम्बन्धलाई संवेदनशील र विचारोत्तेजक ढंगले प्रस्तुत गर्छ । सशक्त अभिनय, संयमित निर्देशन, प्रभावकारी छायांकन र गहिरो सन्देशले दर्शकलाई झक्झक्याउँछ ।
फिल्मले अन्त्यमा एउटा प्रश्न छोड्छ– के हामी अर्को लडाइँको प्रतीक्षामा छौं, वा त्यस चक्रलाई तोड्ने साहस पनि राख्छौं ? यही प्रश्नले फिल्मलाई अर्थपूर्ण र प्रभावशाली बनाउँछ।
अस्कर सम्भावना किन बलियो ?
यसले लगातार प्रतिष्ठित अवार्ड जितिरहेको सन्दर्भमा अस्करमा पनि बलियो सम्भावना देखिन्छ । शीर्ष विधामा यसले प्रभाव जमाउने अपेक्षा गर्न सकिन्छ । यो सम्भावना लोकप्रियतामात्र होइन, कलात्मक परिपक्वता, विषयगत सान्दर्भिकता र अन्तर्राष्ट्रिय अपीलसँग पनि जोडिएको छ ।
समकालीन विश्व–राजनीतिसँग प्रत्यक्ष संवाद गर्ने क्षमता, निर्देशकीय दृष्टिकोण, सशक्त अभिनय र बौद्धिक गहिराइ यसका मुख्य बलिया पक्ष हुन् । अस्कर विजेता फिल्मले प्रायः सजिलो उत्तर दिँदैनन्, बरू जटिल प्रश्न उठाउँछन् । यसले पनि त्यही गर्छ ।
प्राविधिक उत्कृष्टतामा छायांकन, ध्वनि डिजाइन, सम्पादन र पटकथाको सन्तुलन, यसको अर्को बलियो पक्ष हो । अस्कर समग्र सिनेम्याटिक अनुभवका आधारमा मूल्याङ्कन गरिन्छ।
हरेक वर्ष अवार्ड घोषणा हुने समयको राजनीतिक र सांस्कृतिक ‘मूड’सँग पनि सम्बन्धित हुन्छ । यो फिल्मले यही बेचैनीलाई कलात्मक रूप दिएको छ । यस अर्थमा, यो समयसापेक्ष र ‘टाइम्ली’ फिल्म पनि हो ।
प्रतिक्रिया 4