+
+
Shares

सीमाका समस्या जहिल्यै उपेक्षामा, बन्दैन चुनावी एजेण्डा

तराईका सीमावर्ती गाँउ र बजारका बासिन्दाहरुको दैनिकी भारतीय बजारसँग जोडिन्छ । त्यसक्रममा उनीहरुले खेप्नुपर्ने समस्या र सास्ती कहिल्यै चुनावी एजेण्डा बन्दैनन्

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ फागुन १४ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको जलेश्वर क्षेत्रमा खुला सीमाका कारण सस्तो उपभोग्य सामग्री पाइए पनि अपराधजन्य गतिविधि बढेको छ।
  • सर्लाही, धनुषा र सिरहामा भएका तीन हत्या घटनामा दोषी अझै पक्राउ परेका छैनन् र अपराधी सीमा पार गरेर भागेको अनुमान छ।
  • सीमा क्षेत्रमा लागूऔषध र मदिरा बिक्रीले युवाहरू कुलतमा फसिरहेका छन् भने सीमा सुरक्षा र विकासका विषय चुनावी एजेन्डामा छैनन्।

१२ फागुन, जलेश्वर(महोत्तरी) । सीमापारीको बजारबाट सस्तोमा उपभोग्य सामग्री ल्याउन पाउँदा जलेश्वरका सन्तोष कुमार शर्मा जति खुसी छन्, खुला सीमाका कारण हुने अपराधजन्य गतिविधीले उनी उतिसारो चिन्तित पनि देखिन्छन् ।

सहजै हुने घुसपैठ र भाडाका अपराधीहरू प्रयोग गरेर हुने अपराजजन्य क्रियाकलापले उनलाई त्रसित बनाउँछ । ‘खुला सीमा छ, कसैसँग रिसइबी वा दुस्मनी भए भारतबाट अपराधी आएर घटना घटाउँछन् र फेरि उतै भाग्छन्,’ भिठामोड बजारबाट फर्किरहेका उनले भने, ‘सीमा सुरक्षा कडा बनाउनु पर्छ ।’

बेला–बेला सीमा क्षेत्रमा अपराधजन्य घटना भइरहन्छन् । अपराधी सहजै सीमापार गरेपछि बल्ल प्रहरीले घटना बारे थाह पाउँछन् । अनि अपराधीहरूको हुलिया थाह पाएपछि पक्राउ गर्न कठिनाइ पर्छ ।

हालसालै मधेशमा भएका तीनवटा अपराधका घटना सीमा वारपार हुने घुसपैठका पछिल्ला उदाहरण हुन् ।

३ फागुनको साँझ सर्लाहीको पूर्वाधार कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मलंगवा नगरपालिका-१० स्थित आफ्नै डेरा अगाडि गोली प्रहार गरी हत्या भएको थियो । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार अहिलेसम्म यस घटनाका दोषी पत्ता लाग्न सकेका छैनन् ।

गत २४ माघमा औरही गाउँपालिका-१ पौडेसरमा सडकछेउ कनपटीमा गोली लागेर हत्या गरिएको अवस्थामा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको थियो ।

अहिलेसम्म न शवको पहिचान खुलेको छ, न दोषी पत्ता लागेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बम भारततर्फबाट नै व्यक्ति र सुटर आएर हत्या गरेको हुन सक्ने अनुमान गर्छन् ।

१६ माघको दिउँसो करिब ३ बजे सिरहा नगरपालिका-१ का ४० वर्षीय प्रेमनाथ यादवको हत्या भयो । त्यतिबेला उनले ट्याक्टरले खेत जोतिरहेका थिए । उक्त घटनामा पनि अहिलेसम्म शंकास्पद व्यक्ति पक्राउ परेका छैनन् । नजिकै सीमा रहेकाले उनीहरू पारी भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सर्लाही, धनुषा र सिरहामा भएका गोली प्रहारजस्ता जघन्य घटनाका अपराधी अझैसम्म पक्राउ पर्न सकेका छैनन् ।

खुला सीमाका कारण भारतबाट भित्रिने लागूऔषधले युवाहरू कुलतमा फस्दै गएका छन् ।

भारतको बिहारमा मदिरा बिक्री–वितरण निषेध भएकाले नेपाली भूमिको सीमा क्षेत्रमा मदिरा भट्टीहरू प्रशस्त छन् ।

मदिरा सेवन गर्न आउने र यतै विभिन्न घटनामा संलग्न हुने विषयले बेला–बेला चर्चा बटुल्छ र केही समयमा त्यो विषय हराउँछ । तर त्यसले सीमावासीलाई लामो समयसम्म सशंकित बनाउँछ र पिरोल्छ ।

अपराध बाहेक सीमावर्ती क्षेत्रका बासिन्दाहरुले अरु हैरानी पनि खेप्नुपर्छ । घरायसी प्रयोजनका सामग्री ल्याउँदा वा आवत–जावत गर्दा नागरिकले सशस्त्र प्रहरी बल र कहिलेकाहीँ भारतीय एसएसबीका जवानबाट ज्यादती र दुर्व्यवहार खेप्नुपर्छ ।

विकासको दृष्टिकोणले पनि सीमा क्षेत्रका गाउँहरू बेवास्तामा परेका छन् । ‘यहाँ सडक राम्रो छैन, खेतीपातीका लागि सिचाइँ सुविधा आवश्यक छ,’ जलेश्वरका नागेन्द्र साह भन्छन् ।

भिठामोडमै दशगजाको नेपाली भूमिमै दशक अगाडि बनाउन खोजेको गेट अलपत्र छ । सीमामै भेटिएको सशस्त्र प्रहरीका एक अधिकृतका अनुसार, अधुरो गेट निर्माण सुरु गर्दा भारतीय पक्षले अनौपचारिक रुपमा दवाव दिएर रोकेको थियो । त्यसयता गेटको काम अगाडि नै बढ्न सकेन ।

दशगजा पारी दशगजा जोडेरै भारतले भन्सार कार्यालयको पर्खाल खडा गरेका छन् ।

तर सीमासमस्या, नागरिकको सुरक्षा, विकास र सीमाको व्यवस्थापनजस्ता एजेन्डा निर्वाचनका बेला उम्मेदवारहरूको प्राथमिकतामा देखिँदैन । त्यसले सीमा क्षेत्रका नागरिकलाई खिन्न बनाएको छ ।

‘सीमामा सुरक्षा बढाउनुपर्छ, सीमा क्षेत्रका समस्याहरूलाई ध्यान दिनुपर्छ । तर नाकाबारे जनप्रतिनिधिलाई केही थाहा छैन, कुनै चासो पनि छैन,’ जलेश्वर मलिवाराका सन्तोष चौधरी दिक्दारी पोख्छन् ।

उनको भोगाइमा आउजाउ गर्दा कहिलेकाही एसएसबीहरुले असहज बनाउँछन् । त्यस विषयमा सीमावर्ती क्षेत्रका उम्मेदवार र जनप्रतिनिधिलाई वास्ता हुँदैन ।

खुल्ला सीमाका कारण अरु थुप्रै समस्याहरु छन् । स्थानीय बासिन्दाले त्यसलाई झेल्नु परेको छ । विकास निर्माणका लागि पनि सीमा क्षेत्र उपेक्षामा पर्छन् । तर सीमा व्यवस्थापन र सीमा क्षेत्रका नागरिकको सरोकारसँग सम्बन्धित मुद्दाहरु नत कुनै दल र उम्मेदवारको चुनावी एजेण्डा समेत बन्दैन ।

चुनाव र होलीका लागि भारतबाट घर फर्किरहेका महोत्तरीको बदिया बंचौरी घर भएका सन्तोष सदालाई त्यो कुराले पिरोल्छ । ‘भारत आउजाउ गर्दा सीममा धेरै समस्या भोग्नुपर्छ । भारतमा त छिनछोर नै हुन्छ’ रोजीरोटीका लागि भारतको चेन्नइ एकवर्षपछि भिठामोड नाका हुँदै घर फर्किरहेका सन्तोषले पीडा पोखे ।

‘चुनावी मुद्दा बन्नु पर्छ’

नेपाल–भारत सीमा व्यवस्थापन, नीतिगत असमानता र सीमा क्षेत्रका नागरिकको जीवनयापनका सवाल पनि चुनावमा उम्मेदबारको एजेण्डा बन्नुपर्ने राजनीतिक विश्लेषक तथा मधेश मामिलाका जानकार चन्द्र किशोरको छ ।

‘सीमा अन्तर्राष्ट्रिय मुद्दा हो भन्ने बुझाइका कारण त्यसबारे दल र उम्मेदवारहरूले चुनावी एजेण्डामै समेट्दैनन्’ उनले उदाहरण दिँदै भने, ‘बिहारमा मदिरा बन्दी छ, तर नेपालतिर सीमा क्षेत्रमा खुलेआम भट्टीहरू चलिरहेका छन् । दुई देश मित्र राष्ट्र हुन् भने उताबाट सराबबन्द गरेर यता किन चल्न दिइन्छ ? यहाँका युवाहरू कुलतमा फँसिरहेका छन्, उतापट्टी लागूऔषधहरु बेचिन्छ । यो विषय किन उठ्दैन ?’

उनको बुझाइमा दुबै देशका चुनावमा सीमावर्ती नागरिकको जीविकोपार्जन, सामाजिक–आर्थिक समस्या र सीमा क्षेत्रमा देखिने जटिलताबारे गम्भीर बहस नै हुँदैन । ‘न उताको चुनावमा बोर्डरका नागरिकको जीविकाबारे कुरा उठ्छ, न यताको चुनावमा । बोर्डरलाई कसरी एकअर्काको दृष्टिकोण साटासाट गर्ने भन्ने विषयमा न यता छलफल हुन्छ, न उता’ उनको भनाइ छ ।

सीमाको विषयलाई केवल सुरक्षाको दृष्टिले मात्र नभई नीति, शासन र व्यवस्थापनको दायरामा ल्याउनुपर्ने उनको जोड छ ।

उनी भन्छन्, ‘यो अन्तर्राष्ट्रिय मुद्दा हो भनेर क्षेत्रीय सांसदहरूले कुरै उठाउँदैनन् । अब ‘बोर्डर म्यानेजमेन्ट’ आवश्यक छ । सीमा व्यवस्थापनलाई ‘बोर्डर गभर्नेन्स’ को नीति र दृष्टिकोणले हेरिनुपर्छ ।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?