News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराको अर्मलाकोट मन्दिरमा कथानक फिल्म ‘जिरो डिग्री’को छायाङ्कन शुभसाइत पूजा गर्दै सुरु भएको छ।
- ‘जिरो डिग्री’ फिल्मको छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँमा ३५ दिनसम्म हुनेछ।
- फिल्मको कथा दुर्गम गाउँमा शवलाई ‘डीप फ्रिज’मा राखेर उक्लिँदा आउने उथलपुथलमा आधारित छ।
पोखरा । यहाँको अर्मलाकोट मन्दिरमा शुभसाइत पूजा गर्दै कथानक फिल्म ‘जिरो डिग्री’को छायाङ्कन सुरु भएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण थालिएको यो फिल्मलाई डार्क कमेडी जनरामा राखिएको छ ।
पहिलो दिन आइतबार अभिनेता प्रकाश घिमिरे, विजय बराल, राजन भुसाल र शारदा सिलवालले अभिनय गरे । अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस फिल्मको सम्पूर्ण छायाङ्कन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीमा हुने निर्माण पक्षले जनाएको छ ।
छायाङ्कन तालिका ३५ दिनको राखिएको छ । यसको कथावस्तु नेपाली चलचित्र वृत्तमा निकै नौलो र रोचक छ । सडक सञ्जाल राम्रोसँग नपुगेको दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिमा यस चलचित्रको कथा घुम्नेछ ।
आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशन र पटकथा रहने यस फिल्मको छायांकन सुरु हुनु अघि नै व्यंग्यात्मक गीत ‘हरे हो नेताजी’ युट्युबमा सार्वजनिक गरिएको थियो ।
फिल्ममा विजय र सनिशा भट्टराईको साथमा कलाकार वसुन्धरा भुसाल र रमेश बुढाथोकी पर्दामा देखिनेछन् । लोकेन्द्र लेखक, राजन भुसाल, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनालको पनि अभिनय हुनेछ ।
कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको यस फिल्मलाई निशाल पौडेलले छायाङ्कन गर्दैछन् भने सम्पादन चानस पुन मगर र रङ्ग संयोजन राजेन्द्र मोक्तानले गर्नेछन् । चलचित्रमा अङ्कित बाबु अधिकारीको सङ्गीत र युवराज काफ्लेको शब्द रचना छ ।
प्रतिक्रिया 4