News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चुमनुब्री गाउँपालिकाको सिर्दिवास फिलिम क्षेत्रमा पहिलो पटक मोटर पुगेको छ।
- स्थानीय व्यवसायीहरूले बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाएर मोटर आउजाउ सहज बनाएका छन्।
- गाउँपालिकाले ४.५ किलोमिटर सडक ट्रयाक खोल्न एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
१२ चैत्र, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा पहिलो पटक मोटर पुगेको छ । बुधबार पर्यटक बोकेको जिप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै सो क्षेत्र पुगेको हो । यो प्रतिनिधिसभा सदस्य सुधन गुरुङको गृह पालिकासमेत हो ।
आरुघाट लार्के सडक अन्तर्गत नाग्चेतहुँदै पाङसिङसम्म मोटर चल्छ । तर मोटरेबल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन ।
स्थानीय व्यवसायीहरूले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरेर फिलिमसम्मको गोरेटो बाटो चौडा पारेपछि मोटर पुगेको हो । चार पाङ्ग्रे सवारी सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण भएको स्थानीय कुमारी गुरुङले जानकारी दिइन् ।
गुरुङले भनिन्, ‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुँदै पैदल आउनुपर्थ्याे । अहिले मोटर आउने गरी अस्थायी पुल बन्यो ।’
ह्युम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिइन् । मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्बुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनले बताइन् ।
अस्थायी पुल भएकाले समस्या समाधानको दीर्घकालीन उपाय भने नभएको उनको भनाइ छ । ‘यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ । पक्की पुल नै आवश्यक छ,’ उनले भनिन् ।

सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा संघको टोलि आएको थियो । तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आईई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज विभागमा पठाइसकेको छ । निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढे पनि कुनै निर्णय आएको छैन । सोही कारण काम अघि बढाउन नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
‘नदी किनारदेखि फिलिमसम्मको ४.५ किलोमिटर सडक ट्रयाक खोल्नका लागि आईई गरेर गत २० कात्तिकमा निकुञ्ज विभागमा पठाइसकेका छौं,’ उनले भने, ‘स्वीकृतिका लागि वन मन्त्रालयमा फाइल फर्वाड भएको छ रे भन्ने सुनेका छौं, तर केही रेस्पोन्स आएको छैन ।’
सडक ट्र्याक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माणको काम अघि बढ्न नसकेको उनले जिकिर गरे । पालिकाले सडक ट्रयाक खोल्नका लागि एक करोड २५ लाख रुपैयाँ रकम विनियोजन समेत गरेको छ ।
तस्वीर/जोनिसा गुरुङ : गाडी सञ्चालनका लागि बुढीगण्डकी नदीमाथि बनाइएको अस्थायी पुल
प्रतिक्रिया 4