१५ चैत, खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिन्डे र रावाबेसी गाउँपालिका–६ हौंचुर जोड्ने लोचा खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ ।
कोशी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयबाट विनियोजित बजेटबाट लोचा खोलामा १५ मिटरको सिंगल स्पान पुल निर्माण सुरु गरिएको हो ।
वर्षाको समयमा उर्लेर झर्ने लोचा खोलाको पुल चैत १४ गते कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका छन् ।
पूर्वाधार विकास कार्यालय, खोटाङमार्फत प्राप्त हुने २ करोड ८९ लाख ७५ हजारको लागतमा आरसीसी पुल निर्माणको काम सुरु गरिएको हो ।
आगामी २०८४ जेठ ३१ गतेसम्ममा सम्पन्न गर्नेगरि आरके–देन्धुप जेभी, सोलुखुम्बुले मोटरेबल पुल निर्माण गर्ने ठेक्का लिएको हो ।

पुल निर्माणका लागि आरके–देन्धुप जेभीले २०८२ माघ १३ गते ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय, खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए । निर्माण कम्पनीले पुल निर्माणको काम अघि बढाइसकेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले लोचा खोला मोटरेबल पुल निर्माणका लागि गत जेठ २ गते बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरेको थियो ।
पुल निर्माणका लागि चालु आर्थिक वर्ष एक करोड ५० लाख विनियोजन गरिएको छ । पुल नहुँदा वर्षाको समयमा लोचा खोलाले स्थानीयलाई घण्टौं छेक्ने गरेको थियो ।
यसअघि स्थानीयले श्रमदानबाट काठको पुल बनाएर प्रयोग गर्दै आएका थिए । पक्की पुल बनेपछि भलबाढी आएकाबेला पनि खोला वारपार गर्न सहज हुने हौंचुरका वडाध्यक्ष चिरन्जिबी कार्कीले बताए।र
प्रतिक्रिया 4