+
+
Shares

बलिउड फिल्म ‘लुटेरा’ अभिनेत्रीलाई लिएर अमेरिकामा नेपाली नाटक मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १२:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास 'साबिती' मा आधारित नाटक 'साबिती : नट गिल्टी' न्यूयोर्कस्थित 'द ट्याङ्क' थिएटरमा मञ्चन हुने भएको छ।
  • नाटकको निर्देशन विमल सुवेदीले गरेका छन् र स्वच्छता गुहाले शीर्ष भूमिका निर्वाह गर्नेछिन् भने नवल राई र जड मेयर्सले पनि अभिनय गर्नेछन्।
  • नाटक अप्रिल २६ देखि एक हप्तासम्म मञ्चन हुनेछ र मे महिनामा पुनः प्रदर्शन गरिनेछ, पछि अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना छ।

काठमाडौं । नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास ‘साबिती’ मा आधारित नाटक ‘साबिती : नट गिल्टी’ अमेरिकाको न्यूयोर्कस्थित ‘द ट्याङ्क’ थिएटरमा मञ्चन हुने भएको छ । विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बलिउड फिल्म ‘लुटेरा’ की अभिनेत्री स्वच्छता गुहाले शीर्ष भूमिका निर्वाह गर्नेछिन् ।

नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई एवं दर्जनभन्दा बढी हलिउड फिल्ममा काम गरिसकेका प्रसिद्ध अमेरिकी कलाकार जड मेयर्सले पनि अभिनय गर्दैछन् ।

सुवेदीलाई निर्देशनमा राज खत्रीले सहयोग गरिरहेका छन् भने कास्टिङ निर्देशन आयुषा क्षेत्री सञ्जेलले गरेकी छिन् । नेपाल र भारतमा बारम्बार मञ्चन भएको नाटकलाई न्यूयोर्कको सन्दर्भ र त्यहाँका दर्शकलाई लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको छ ।

मूल उपन्यासले एक विपन्न पुरुष पात्रमार्फत कथा प्रस्तुत गरे पनि, नाट्य रूपान्तरणले त्यसको मूल सारलाई ग्रहण गर्दै महिला पात्रमार्फत नयाँ दृष्टिकोण सिर्जना गरेको छ । नाटकले महिला आवाज र सशक्तिकरणलाई अघि बढाउँदै सामाजिक रूपमा निर्माण गरिएका संस्थालाई आलोचनात्मक रूपमा प्रश्न गर्छ ।

भारतको नेसनल स्कुल अफ ड्रामाबाट डिजाइन र निर्देशनमा स्नातक रंगकर्मी सुवेदीले नेपाली-अमेरिकी समुदायका अगुवा अमितप्रताप शाहको आपन फाउन्डेसन र ‘द ट्याङ्क’ थिएटरसँगको सहकार्यमा नाटक गर्न लागेका हुन् । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि यसलाई सांस्कृतिक कूटनीतिका रूपमा प्रवद्र्धन गर्दै आएको छ ।

सुवेदीका अनुसार यस नाटकलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी ‘द ट्याङ्क’ ले अन्य अमेरिकी नाटक जस्तै नियमित रूपमा मञ्चन गर्दैछ । न्यूयोर्क सहरको मुटुमा अवस्थित यो थिएटरमा मञ्चनको पालो पाउन करिब सात महिनासम्म कुर्नुपर्ने हुन्छ । तर, ‘द ट्याङ्क’ थिएटरकी निर्देशक मेगन फिनले ४६औँ ब्याट्री डान्स थिएटर फेस्टिभलमा विमलको काम देखेपछि चाँडै मञ्चनको चाँजो मिलाएकी हुन् ।

यो सम्भव गराउनमा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथन होल्यान्डरको भूमिका रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकार तथा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथनले भने, ‘फेस्टिभलका क्रममा बिमलसँग काम गर्दा म निकै प्रभावित भएँ । अमेरिकी दर्शकले पनि उनको सिर्जना अनुभव गर्नुपर्छ भन्ने लाग्यो । आजको जटिल विश्व सन्दर्भमा यो नाटक नेपाल र अमेरिकाबीचको सांस्कृतिक कूटनीतिको नयाँ सुरुवात हो ।’

दुई वर्षदेखि अमेरिकामा सक्रिय सुवेदीले गत वर्ष अफ-ब्रडवे शैलीको म्युजिकल नाटक ‘हिटलर इज कमिङ’ मञ्चन गरेका थिए जसमा नेपाली अभिनेत्री वर्षा राउतले अभिनय गरेकी थिइन् । तर, यो पटक सुवेदीको प्रयासले नेपाली रंगमञ्चको इतिहासमा नयाँ र गौरवपूर्ण अध्याय थपेको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी बताउँछन् ।

उनका अनुसार, ‘जगदीश घिमिरेको कथामा आधारित नेपाली नाटकलाई मुख्यधारको थिएटरले स्थान दिनु ऐतिहासिक उपलब्धि हो । यसले हाम्रो सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाईअझ सुदृढ बनाउनेछ ।’

सुवेदी स्वयं पनि यो ऐतिहासिक सुरुवातका लागि उत्साहित छन् । पहिला त अमेरिकामा नाटक गर्नु नै ठूलो उपलब्धि हो अझ नाटक न्युयोर्कको मुटुमा अवस्थित थिएटरमा हुनु नेपाली रङ्गमञ्चका लागि नै गौरवको क्षण हो । तर विमल नाटकको मञ्चन अमेरिकीसँगै नेपाली दर्शकसँग जोड्ने कडीको रुपमा ठोस सुरुवात हुने विश्वासमा छन् ।

उनी भन्छन्, ‘न्यूयोर्कमा धेरै नेपाली विद्यार्थी छन्, तर यहाँको रंगमञ्चले अहिलेसम्म नेपाली नाटकलाई पूर्ण रूपमा अंगालेको छैन । यदि यो नाटक सफल भयो भने त्यो अवस्था परिवर्तन हुन सक्छ ।’ उनका अनुसार नाटक दुई चरणमा गरी मञ्चन हुनेछ । पहिलो चरणअन्तर्गत नाटक अप्रिल २६ देखि सुरु भएर एक हप्तासम्म चल्नेछ भने त्यसपछि मे महिनामा पुनः प्रदर्शन गरिनेछ ।

यसपछि, नाटक अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना छ । यसैबीच, सुबेदीको निर्देशनमा अमेरिकामा निर्माण भएको कथानक फिल्म ‘हिउँको गीत’ पनि यस वर्षको अन्त्यसम्म नेपाली दर्शकमाझ तथा विश्व बजारमा प्रदर्शन हुने तयारीमा छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?