१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमाले विचित्रको विवादमा रहेको टिप्पणी गरेका छन् । बिहीबार कमल कोइरालाको स्मृतिग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले त्यो विवादमा शक्तिकेन्द्रको भूमिका रहेको आशंका व्यक्त गरेका हुन् ।
‘अहिले कांग्रेस र एमाले दुइटै पार्टीभित्र अहिले अचम्मको समस्या छ,’ नेता कोइरालाले भने, ‘हामी दुइटै पार्टी बडो विचित्रको विवादमा परिराख्या छौं । दुइटै पार्टीमा विवाद छ, स्वीकार्नुपर्छ ।’ पार्टीलाई मिलाएर अगाडि लैजान नसके अवस्था निकै खराब हुने उनले बताए ।
‘हामीहरूले सोच्नुपर्नेछ अब । एकढिक्का बनाएर जानसके हाम्रो अस्तित्व रहन्छ, होइन भने अप्ठेरो स्थितिमा हामी जान्छौं । यसमा कुनै द्विविधा छैन,’ कोइरालाले भने ।
कांग्रेसको विवाद मिलाउने प्रयासमा रहेको उनले बताए । आफूले कांग्रेस विवादमा मध्यमार्गी धारणा राख्दा निकै कठिनाइ भइरहेको पनि उनको गुनासो छ । ‘कुनैपनि व्यक्ति जो मध्यमार्गी हुन्छ, उसलाई काम गर्न कठिन नै हुन्छ । अप्ठेरो हुन्छ,’ उनले भने ।
अहिलेको परिस्थिति कांग्रेस एमालेका लागि मात्रै कठिन नभई सबै पुराना दलका लागि असहज रहेको पनि उनले बताए । उनले अगाडि भने, ‘अहिले राजनीतिक परिस्थिति वा देशको परिस्थिति नेपाली कांग्रेस, एमाले, माओवादी या अन्य पार्टीलाई अहिले प्रतिकूल छ भन्ने कुरा हामीले बुझौं ।’
प्रतिक्रिया 4